✍ दुर्गाकिरण तिवारी
सदियौंदेखि चलेको
बुढापाकाको उक्ति छ-
राति-राति फ्याउरा कराउनु
भयङ्कर अशुभको सङ्केत हो
फ्याउराहरू कराए
भने कुनै न कुनै अशुभ हुन्छ !
धेरै भयो राति-राति फ्याउराहरू कराउँदै
मानवबस्तीमा मस्तीमा रमाएका छन्
यिनले यता दरबारमा छिरेर
उँधो-उँभो गर्न थालेका छन्
सायद यिनीहरू तयारी गर्दैछन्
ठुलै उपद्रव मच्चाउन बस्तिहरूमा ।
बस्तीहरू मौन छन् आजकल
हिजोका अशान्त शहर
आज सुनसान बनेका छन्
एकान्तवासको ऋषिकालीन सभ्यताको
पुनरुत्थान भएको छ यतिबेला
र त स्यालहरू मौका छोपेर बस्तीहरूमा
बुर्कुसी मार्दै
दिउँसै हुइँयाँको एकतमास
नारा लगाइरहेछन् ।
उनीहरू मदमस्त भएको देखर
त्रसित छन् सिधासादा मानवहरू
अझ रातमा फ्याउराहरूको
अमङ्गलकारी चिच्याहटसंगै
बढिरहेको छ स्यालहरूको आतङ्क
सिंहका बस्तीहरूमा
गौरवशाली पुर्खाको
साख गिराइरहेको देखेर
उत्साहहीन भएका छन् अत्यन्तै
र त मौन छन् बस्तीहरू।
कुनै बेगिलो आँधी पर्खिने
समुद्री किनारका शहरहरू जस्तै ।
जङ्गगल छाडेर पनि
जङ्गगली पारा नत्याग्नु
यिनको पुपुर्ख्यौली स्वभाव गएको छैन
जातिविद्रोह स्यालहरू
मानवलाई सिकाइरहेछन्
त्यसैले त बस्तिहरूमा
कुपोषणले ग्रस्त लाचार र नादान
आत्माहरूलाई
अशुभ हुने अदृष्ट शङ्ककाले घेरेको छ
निकै डराउन थालेका छन् उनीहरू
कतै अस्तित्व नै धरापमा त पर्ने हैन !
नभन्दै,
साँच्चिकै भद्दा अशुभ भएको छ
प्रकृति विपरीत मार्गमा यसै लागेको छैन
आमा ! तिमी लुछिएकीछ्यौ गिद्धहरूबाट
तिम्रा सन्तानले तिमीलाई
पटक-पटक चुँडिरहेका छन् चोक्टाहरूमा
अनवरत आनन्द लिइरहेका छन्
स्यालहरू बाघको छालामा दाइँ हालेर
फ्याउराहरूतिनको हुइँयामा स्वर मिलाएर
अमङ्गल ध्वनि निकालिरहेछन् बस्तीहरूमा
हरेक साँझ भयानक भावी विनाशको
शङ्खघोष गरिरहेका छन् ।
त्यसैले प्रत्येक नयाँ उषामा हामी
अशुभ सङ्केतहरू सुन्न बाध्य छौँ
तर अचम्म लाग्छ मलाई आमा !
बस्तीहरू अबोला भएर
यो दुर्नियति भोगिरहेछन किन आमा ! किन ?
- पोखरा-३२, कास्की (हाल : काठमाडौ)
प्रतिक्रिया