मिडियाकर्मीको ‘ट्याग’ लागेपछि जीवन धान्नै धौ !

मिडियाकर्मीको ‘ट्याग’ लागेपछि जीवन धान्नै धौ !


राज्यको चौथो अङ्गका रूपमा मिडियाकर्मीहरूलाई पछिल्लो समयमा समाजले हेर्ने दृष्टि सकारात्मक पाउन सकिँदैन । मिडियाकर्मी (पत्रकार)प्रति नागरिकको विश्वास टुट्दै जानुमा अनेकौँ कारण भएपनि राजनीतिक (दलीय) लगाव र पेशागत अनुशासनहीनता पनि एक हो । सार्वजनिक कार्यक्रममा प्रेस स्वतन्त्रताका कुरा गर्ने ठुला राजनैतिक दलहरूले मिडियाकर्मीहरूलाई आफ्नो अधीनमा राखेका छन् । नेपाली काङ्ग्रेसको प्रेस युनियन, नेकपा एमालेको प्रेस चौतारी, नेकपा माओवादीको प्रेस संगठन आदि साइनबोर्डमुनि बहुसङ्ख्यक मिडियाकर्मीहरू आवद्ध रहेका छन् ।

सामाजिक सन्जालको विकाससँगै सञ्चारकर्मीहरूले जति नै उफ्रिएर ‘हामी स्वतन्त्र छौँ’ भनेपनि कसैले पत्याउनेवाला छैन । एउटा राजनीतिक दलभित्र विभिन्न पेशाका मानिसहरूलाई समेट्नका लागि शुभेच्छुक एवम् भातृनिकायहरू रहेका हुन्छन् । उदाहरणको लागि नेपाली काङ्ग्रेसभित्र विद्यार्थीका लागि नेवि संघ, शिक्षकका लागि शिक्षक संघ, पत्रकारका लागि प्रेस युनियन इत्यादि । यसैप्रकार एमालेभित्र अनेरास्ववियू, शिक्षक संगठन, प्रेस चौतारी आदि !

उल्लेखित सङ्गठनहरूको कमान्ड गर्नका लागि सम्बन्धित मुल पार्टीमा योगदान पुऱ्याउने शर्तमा पार्टीका नेताहरूको मन जित्न सक्नु पर्दछ । राजनीतिक दलका शीर्ष नेताहरूको घनिभूत छलफल र केन्द्रको गठबन्धनअनुसार दलले तोकेर पठाएका सञ्चारकर्मीहरूको तर्फबाट जिल्ला पत्रकार महासंघ गठन गर्ने प्रचलन रही आएको छ । अहिलेको राजनैतिक समीकरण यथावत रह्यो भने अब बन्ने नेपालको पत्रकार महासंघ ७७ वटै जिल्लामा नेपाली कांग्रेस र नेकपा एमाले मातहतको प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यानलबाट बन्नेछ । यसअघि नेपाली कांग्रेस र नेकपा माओवादीको गठबन्धनमा मुलुकभर अपवादबाहेक पत्रकार महासंघ गठन भएको थियो ।

यहाँनेर एउटा महत्वपूर्ण कुरा भनेको प्रेस युनियन, प्रेस चौतारी, प्रेस संगठन आदिले आफ्नो सङ्ख्या बढाउन विगतमा महासंघको सदस्य वितरण गर्दा पार्टीभित्र रहेको सञ्चारकर्मीबाहेक अरुलाई पनि वितरण गरेका थिए । पछिल्लो समय केही सिधासाधा पार्टी कार्यकर्ताहरूको सदस्य कटौती गरिएको भएपनि अपवाद बाहेकका मिडियाकर्मीहरूले हामी राजनैतिकरुपमा स्वतन्त्र छौँ भन्न मिल्दैन । नेपाल पत्रकार महासंघ पत्रकारहरूको साझा संगठन भएपनि यसमा प्रवेश हुनका लागि राजनैतिक दलको आशीर्वाद विना कुनै हालतमा सम्भव छैन र, यो तितो यथार्थ हो । तुलनात्मक रुपमा कुन जिल्लामा कति जना पत्रकार छन् भन्ने विषय यकीन गरी बताउन नसकिएपनि पङ्क्तिकारको अनुभवका आधारमा भन्नुपर्दा अपवाद बाहेक अधिकांशको भविष्य अन्धकार नै छ ।

पहिलो कुरा राजनैतिक दलमा आबद्ध बनेपछि भाषण गर्न सकिएला तर उखान गर्नुपर्ने विषय चाहेजस्तो गरी उखान गर्न सकिँदैन । सार्वजनिक कार्यक्रममा हामी स्वतन्त्र छौँ भनेपनि व्यवहारमा आफूसम्बद्ध राजनैतिक दलका नेताहरूले भनेको मान्नुपर्ने हुन्छ, जसको कारण चाहेर पनि अनियमितताका समाचारहरू सार्वजनिक गर्न समस्या बन्दछ । सामाजिक सञ्जालमा स्टाटस लेखेर, जन्मदिनको शुभकामना दिएर, भाषण गरेर वा ‘सन्तुलित समाचार’ लेखेर त समाजमा इज्जत नपाइँदोरहेछ । उदेक लाग्ने कुरा त अझ के भने, पार्टीमै आबद्ध कर्मचारी तथा पार्टीको सदस्यता लिएका ‘समाजसेवी’हरूले कहिलेकाहीँ अन्य दलका सञ्चारकर्मीसँग भेट हुँदा पत्रकारले केही गरेनन् भनेको सुन्दा अचम्मै लाग्छ । हिम्मत भए आफ्नो पार्टीमा भएका सञ्चारकर्मीहरूलाई दुई/चार थान अनियमितता या भ्रष्टाचार मामलाका समचार लेख्न लगाए उत्तम हुने थियो !

पत्रकारको आम्दानी र क्षमताका बारेमा पनि बेलाबखत टिकाटिप्पणी हुने गर्दछ । पत्रकारहरूको मासिक तलब कति हुन्छ ? जिल्लामा हुने सबै क्रियाकलापहरू जस्तो शिक्षा, सडक, स्वास्थ्य, खेलकुद जतापनि एउटै पत्रकार पुगेको देखिन्छ । प्लस टु वा सामान्य विषयमा मास्टर गरेको एकजना व्यक्ति सबै निकायको विज्ञ कसरी हुन्छ ? के पत्रकारहरू भगवानको अवतार हो ? काङ्ग्रेसनिकट प्रेस युनियन, एमालेनिकट प्रेस चौतारी, माओवादीनिकट प्रेस सेन्टरलगायतमा आवद्ध मिडियाकर्मीहरूले सभा-समारोहमा हामी स्वतन्त्र छौँ किन भन्ने गर्छन् ? यी र यस्ता प्रश्नहरू पनि आफैमा महत्वपूर्ण रहेका छन् ।

नेपालका ठुला शहरमा रहेका सरकारी तथा केही ठुला मिडियाहरूले अति आवश्यक कर्मचारीहरूलाई मासिक तलब दिएका भएपनि अपवादबाहेक जिल्लामा रहने पत्रकारहरूलाई दिने भनेको मिडियाको लोगो र आईडी मात्रै हो । तथापि, चलाख सञ्चारकर्मीहरूले विकासे कार्यालयहरूका टेन्डर सूचना, अन्यत्रका विज्ञापन र स्थानीय तहबाट कुनै न कुनै शीर्षकका कार्यक्रमहरू हात पारे भने त्यस्तो सञ्चारकर्मीले आफ्नो पहुँचका आधारमा वार्षिक दश-पन्ध्र लाख जिल्लामा पनि कमाउन सक्दछ । जोसँग जागिर वा व्यवसाय छ र पत्रकारिता पनि गरेका छन् भने उनका लागि खासै समस्या नदेखिए पनि बाँकी लहलहैमा सञ्चारकर्मी बनेकाहरूले दैनिकी गुजाराका लागि सहज देखिँदैन ।

उदाहरणको लागि कुनै व्यवसायीको परिवारमा जन्म, मृत्यू, पुजा वा उसले दुई/चार हजार कतै सहयोग गरेको जानकारी पाउनासाथ त्यसलाई आफ्नो फेसबुकबाट प्रचार गरिदिने, कर्मचारी तथा जनप्रतिनिधिहरूले रिवन काटेको, यसो कहिलेकाहीँ सरसफाई भन्दै कुचो समातेर हिँडेको, जन्मदिन आदिमा उनीहरूलाई मिलाएर ‘तपाईं जस्तो त…’ भन्दै फुर्क्याउन जान्यो भनेपनि क्षणिक समयका लागि सानो परिवार पाल्न असम्भव नहोला । यदि पत्रकार महासंघतिरको जिम्मेवारी लिने हो भने दिनको एकपटक पार्टी कार्यालयमा गएर एकदुई घण्टा बस्ने, आफ्नै पार्टीका प्रतिष्पर्धी साथीहरूको खिल्ली उडाएर तिनको साख कमजोर तुल्याइदिने, जिल्लामा भएका नेताहरू मध्ये अलिक शक्तिशाली वा चल्तापुर्जा मानिएकासँग सामीप्यता बढाउने जस्ता काइते शीप जान्नुपर्ने देखिन्छ ।

सरकारी तथा ठुला मिडियाहरूमा नाम निकालेर मासिक तलब बुझ्नेगरी स्थायी जागिर खानु र लहलहैमा पत्रकार बन्नुमा धेरै फरक छ । एकपटक पत्रकार बनेको व्यक्तिलाई समाजले सदैव आशङ्काको दृष्टिले हेर्ने गर्दछ । मानौँ वा नमानौँ सञ्चारकर्ममा हात हालेर आफ्नो जीवनमा एक/दुई पटकमात्रै पनि चर्चामा आइएको छ भने यो पेशाबाट बाहिर निस्कीएर जीवन धान्न असम्भवप्रायः नै हुन्छ ।

उर्जावान उमेर लहलहैमा बितेपछि सरकारी स्थायी जागिरमा नाम निकाल्न सकिँदैन र अस्थायी जागिरका लागि हिजोका दिनमा हात मिलाउँदै सँगै खाना खाएका कर्मचारी, जनप्रतिनिधि र व्यवसायी लगायतका महानुभावहरूलाई भन्न पनि सकिँदैन । कतै गएर होटल व्यवसाय गरी मदिरा बेचौँ न त भन्ने सोच बनाइयो भनेपनि चिनेजानेका कर्मचारी तथा व्यवसायीहरू आफनो गोपनियता भंग हुन्छ कि भन्ने त्रासमा होटेलमा जान हिच्किचाउँछ ।

यसैप्रकार आफूमा कुनै विशेष किसिमको सिप वा क्षमता छ भनेपनि निजी क्षेत्रले मिडियाकर्मी हो भन्ने थाहा पाएमा हेर्ने दृष्टि नै नकारात्मक हुने हुँदा अवसर पाउने सम्भावना न्यून रहन्छ । यो लेखनीको आशय सञ्चारकर्मीहरूलाई निरुत्साहित गराउने नभइ लह-लहैमा क्षणिक चर्चाका लागि यस क्षेत्रमा हौसिने/होमिनेहरूले आफ्नो भविष्यका लागि सोचपूर्वक चलुन् भन्नेमात्रै हो । सदैव अर्काको आश गरेर दैनिकी चलाउन समस्या हुने र ‘मिडिया’को ट्याग लागिसकेपछि चाहेको समयमा मेटाउन नसकिने कारण अबका युवायुवतीहरूले गम्भीरताका साथ सोच्नु अपरिहार्य छ ।