प्रधानन्यायाधीश सिफारिसबारे थप अध्ययन गर्दै परिषद्

प्रधानन्यायाधीश सिफारिसबारे थप अध्ययन गर्दै परिषद्


संवैधानिक परिषद्को शुक्रबार (२८ भदौ)को बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशलाई भावी प्रधानन्यायाधीशमा नियुक्तिका लागि गरिने सिफारिस विवादरहित तुल्याउन थप अध्ययन र छलफल गर्ने निश्कर्ष निकालेको छ ।

बैठकमा सहभागी सदस्यहरूले परिषद्का निर्णयलाई विवादरहित तुल्याउन निर्णयअघि जुनसुकै विषयमा पनि पर्याप्त अध्ययन र छलफल गर्नुपर्ने सुझाव राखेका थिए ।

सर्वोच्च अदालतका वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको आगामी असोज १९ गते पदावधि सकिँदैछ । रिक्त हुने उक्त पदमा वरिष्ठतम् न्यायाधीशमध्येबाट परिषद्ले नाम सिफारिस गरी सङ्घीय संसद्मा संसदीय सुनुवाई समितिमा पठाउनेछ ।

परिषद्को यही भदौ ३१ गते बस्ने बैठकले यस सम्बन्धमा आवश्यक निर्णय लिने जानकारी दिँदै उपसभामुख इन्दिरा रानाले भनेकी छन्, ‘प्रधानन्यायाधीशमा वरिष्ठतम न्यायाधीशकै सिफारिस हुने भए पनि त्यसमा त्रुटीरहित र विवाद नआओस् भन्नका लागि थप अध्ययन गर्ने सहमति बनेको हो ।’ परिषद्बाट हुने निर्णय परिपक्क तुल्याउन यस्ता अध्ययन र छलफल फलदायी हुने विश्वास व्यक्त गर्दै उनले यसले राम्रो अभ्यासको थालनी र परिपक्क निर्णय हुने धारणा राखिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता बसेको बैठकमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलको नेता र प्रतिनिधिसभाका उपसभामुख सहभागी थिए ।

तस्बिर : रासस