रकम बुझेर ठेकेदार बेपत्ता, नगर सरकार तमासे !
- द्रोण अधिकारी, झापा (भद्रपुर)
काठका साँघुरा कोठा भए पनि घाम-पानीबाट ओत लागेर सहज पठनपाठन गरिरहेको अरनिको माध्यमिक विद्यालय भद्रपुर ३ ले विगत १४ वर्षयता सुविधासम्पन्न भवनको आशमा कष्टकर पठनपाठन गरिरहेको छ । भारतीय दुतावासको आर्थिक सहयोगमा सुविधा सम्पन्न भवन बन्ने आश देखाइएपछि २०६७ सालमा काठेभवन हटाएर पक्की भवन निर्माण थालिएको विद्यालय निर्माण कार्य अलपत्र पर्दा कष्टकर ढङ्गले पठनपाठन चलाउनुपर्ने बाध्यता आइपरेको हो ।
२०६७ सालबाट निर्माण थालिएको विद्यालय भवन १४ वर्ष पार गर्दासमेत निर्माण सम्पन्न हुन नसकेपछि अलपत्र भवनमै कष्टकर पठनपाठन भइरहेको दृष्यले बालमैत्री भद्रपुर नगरसरकारलाई गिज्याइरहेको आभाष गराउँछ ।
भारतीय दुतावासको सहयोगमा निर्माणाधीन भद्रपुर-३ स्थित सूर्यनगरमा रहेको अरनिको माध्यमिक विद्यालयको भवन वर्षौंदेखि अलपत्र अवस्थामा छाडेर निर्माण कम्पनीको ठेकेदार बेपत्ता भएका छन् भने अधुरो विद्यालय भवनमै पठनपाठन भइरहँदा भवन निर्माण पूरा गराउने दायित्व भद्रपुर नगरपालिकाले नलिँदा त्यहाँ पुग्ने जो–केही अलपत्र भवनले नगरसरकारलाई गिज्याइरहेको अनुभव गर्दछन् ।
अधुरो विद्यालय भवनमा अध्ययनरत विद्यार्थीलाई पठनपाठनका लागि अनुकूल वातावरण बन्न नसक्दा समस्या भइरहेको अध्ययनरत छात्रछात्रा दुखेसो पोख्छन् । भवन नबन्ने निश्चित भएपछि कष्ट सहेर पढिरहेका विद्यार्थी, अभिभावक तथा शिक्षक/कर्मचारीले जिल्ला समन्वय समिति, शिक्षा विकास तथा समन्वय इकाई लगायत जिम्मेवार निकायमा पटक-पटक धर्ना दिँदै समस्या समाधानका लागि दबाब समेत दिएका थिए ।
साविक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका-३ सूर्यनगरस्थित विद्यालयको अलपत्र अवस्थामा छाडिएकै भवनमा विद्यार्थी वर्षौंदेखि जोखिम मोल्दै पठनपाठन गर्न बाध्य छन् । ३२ कोठे दुईतले विद्यालय भवन अधुरो छाडेर निर्माण कम्पनीका ठेकेदार सम्पर्कविहीन बनेको पनि वर्षौं भयो । तत्कालिन जिल्ला विकास समितिको मातहतमा निर्माण थालनी भएको भवन निर्माणको स्वामित्व स्थानीय सरकारसित आए पनि स्वामित्व पाएको भद्रपुर सरकार नै बेखवर जस्तै बन्दा एक दशकयता सुविधायुक्त कक्षा कोठामा पठनपाठन गर्न पाउने अधिकारबाट सो विद्यालयमा अध्ययनरत विद्यार्थी बञ्चित भएको गुनासो पोख्ने गरेका छन् ।
भवन नबनेकाले कक्षा कोठामा बिजुली बत्ती, पंखा जडान हुन सकेको छैन । खानेपानी र शौचालयको समस्या पनि त्यस्तै छ । विद्यालयको गेटसँगै वरिपरि घेराबारा नहुँदा विद्यार्थी र शिक्षक दुवै असुरक्षित महसुस गर्न बाध्य छन् ।
२०२४ सालमा स्थापना भएको अरनिको माविको भवन स्तोरन्ततिका लागि भारत सरकार तथा भारतीय राजदूतावासले चार करोड २१ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियोृ । २०६७ सालमा ३ करोड ८६ लाखमा राजधानी कन्स्ट्रक्सन काठमाडौंका सुवास लामाले भवन निर्माणको लागि ठेक्का लिएर करिव चार वर्षपछि अर्थात् २०७१ साल चैतदेखि भवन निर्माणको काम सुरु गरेको विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम खरेलले जानकारी दिए ।
प्रधानाध्यापक खरेलले भने, ‘ठेकेदारले भवन निर्माण कार्यमा सुरुदेखि नै ढिलासुस्ती गरेकै हो, भवन निर्माण पूरा नभएपछि झ्याल, ढोका नभएकै कक्षा कोठामै सर्न बाध्य भयौँ ।’ भवन निर्माणको विषयमा पटकपटक तत्कालीन जिल्ला विकास समितिलाई जानकारी गराउँदा समेत कुनै सुनुवाइ नभएको उनको भनाइ छ । जिविस खारेज भएर स्थानीय तहमा अधिकार प्रत्यायोजन भएपछि पनि पटक-पटक स्थानीय सरकार गुहार्दा समेत सुनुवाइ नहुँदा अलपत्र भवनमा पठनपाठन गर्नु पर्ने बाध्यता रहेको गुनासो प्रअ खरेलको छ ।
ठेकेदारले विद्यालय भवन अलपत्र छाडेर भागेपछि पठनपाठनमा समस्या उत्पन्न भएको अध्ययनरत विद्यार्थीको गुनासो छ । उनीहरूका अनुसार विद्यालयभित्र पढ्न सारै समस्या छ, कक्षा कोठामा झ्याल ढोका छैनन्, बर्खामा पानी पस्छ, गर्मीमा बस्न सकिँदैन । सुरक्षित विद्यालय भवनबाट पठनपाठन गर्न पाउने अधिकारबाट वञ्चित हुनुपरेको विद्यार्थीहरूको दुखेसो छ ।
अघिल्लो नगर नेतृत्वले समस्या समाधानमा चासो नदिएपछि पछिल्लो पटक विजयी नेतृत्वसित विद्यालय बनाइदिने आशा पालेका विद्यार्थी, अभिभावक तथा शिक्षक कर्मचारी निराश भएका छन् । नयाँ भवन निर्माणको माग पनि गर्न नपाउने, निर्माणाधीन अधुरो भवनमा पठनपाठन गर्न पनि जोखिम बढेपछि विद्यालय प्रशासनले समस्या हल गर्न जिसस, शिक्षा विकास समन्वय इकाइ र नगर सरकारका कार्यालय परिसर घेराउ गर्न बाध्य भएको दुखेसो उनीहरूको छ ।
पूर्वाधार अभावले पठनपाठन प्रभावित हुने गरेको विद्यार्थी तथा अभिभावक बताउँछन् । जाडोमा चिसोले पढ्न कठिन, गर्मीमा घाम, पानी र हुण्डरीको सामना गर्दै डेढ दशक बित्यो तर सहज रूपमा पढ्ने विद्यालय बन्न सकेन भन्दै भुक्तभोगी विद्यार्थीले गुनासो गरेका छन् ।
प्रतिक्रिया