शनिबार यी ठाउँमा भयो भारी वर्षा

शनिबार यी ठाउँमा भयो भारी वर्षा


जल तथा मौसम विज्ञान विभागले तीन दिनअघि विशेष बुलेटिन जारी गरी पश्चिम नेपालमा भारी वर्षाको चेतावनी दिएको थियो । सोहीअनुसार पश्चिम नेपालका कैलालीलगायत जिल्लामा अत्यधिक वर्षपछि बाढी आउँदा जनजीवन प्रभावित भयो । यद्यपि आज (२९ भदौ)बाट पश्चिम नेपालमा ठूलो पानीबाट हुने जोखिम हट्दै गएको भन्दै विभागले अबको तीन दिन कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही क्षेत्रमा भारी वर्षाको चेतावनी दिइएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले शनिबार साँझ जारी गरेको बुलेटिनअनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली भई धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको र बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा हुने जानकारी दिइएको छ ।

कहाँ कहाँ पानी पऱ्यो ?

शनिबार धेरै स्थानमा सामान्य, मध्यम र केही क्षेत्रमा भारी वर्षा भएको विभागले जनाएको छ । विभागको बाढी पूर्वानुमान महाशाखाले पछिल्लो तीन घण्टामा कास्कीको लुम्लेमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्र भई बहने स–साना खोलामा आकस्मिक बाढी र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै, आज साँझ ७ बजेको सूचनाअनुसार मकवानपुरस्थित बागमती राइगाउँ जलमापन केन्द्रमा जलसतह साबिकभन्दा एक दशमलव सात मिटरमाथि रहेको र सो क्रम बढ्दो अवस्थामा रहेकाले नदी तटीय क्षेत्र तथा डुबान हुने क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

यस्तै नवलपरासीपूर्वस्थित दुम्कौली वर्षामापन केन्द्रमा भारी वर्षा भएको छ । सो क्षेत्र भई बहने नारायणी नदी, मुकुन्डे खोला, झरही खोला र अन्य स-साना नदीहरूमा बाढीको जोखिम हुनसक्ने भएकाले डुबान हुने होचा स्थानका नागरिकलाई सचेत हुन भनिएको छ ।

शनिबार सिन्धुपाल्चोकस्थित गुमथाङ वर्षामापन केन्द्रमा मध्यम वर्षामापन भएको थियो । साँझ चितवनस्थित शक्तिखोर, नारायणी फिल्ड अफिस, कल्याणपुर वर्षामापन केन्द्रमा सामान्यदेखि मध्यम वर्षामापन भएको थियो । यस्तै, मकवानपुरस्थित मकवानपुरगढी, हेटौँडा, हात्तीसुँडे, बारास्थित अमलेखगञ्ज तथा सर्लाही धनुषा र सिन्धुलीका केही क्षेत्रमा पनि वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।