मोहम्मद जयन्ती : आज मुस्लिम धर्मावलम्बीका लागि बिदा

मोहम्मद जयन्ती : आज मुस्लिम धर्मावलम्बीका लागि बिदा


मोहम्मद जयन्ती (मोहम्मद दिवस)को दिन आज (३१ भदौ) सरकारले नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले आइतबार सूचना जारी गरी मोहम्मद जयन्तीमा सार्वजनिक बिदा दिइएको जनाएको हो ।

मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, ‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

नेपालगञ्जमा मोहम्मद जयन्तीको रौनक

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीको अवसरमा बाँकेका इस्लाम धर्मावलम्बीले जन्मोत्सव मनाउन सुरु गरेका छन् । जन्मोत्सवको रौनकले नेपालगञ्ज शहर रङ्गीन बनेको छ ।

बाँकेको सदरमुकाम नेपालगञ्जको त्रिभुवनचोकदेखि बिपी चोक, त्रिवेणी मोडदेखि फुल्टेक्रा चोक लगायतका स्थानमा स्वागतद्वार निर्माण गरिएका छन् । इस्लामिक पात्रोको तेस्रो महिना रवि उल्ल अवलको १२ तारिखको दिन नेपाली मुस्लिमसहित विश्वभरिका मुस्लिम धर्मावलम्बीले विभिन्न धार्मिक कार्यक्रम गरी मोहम्मद जयन्ती मनाउँदै आएको इस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले बताएका छन् ।

उनका अनुसार नेपालगञ्जसहित नेपालका विभिन्न स्थान तथा विश्वभरका मुस्लिम धर्मालम्वीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती मनाइरहेका छन् ।

‘हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वत्को रवि अव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको हो’, धर्मगुरु मञ्जरीले भनेका छन्, ‘उहाँको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उहाँका उपदेश र वाणी स्मरण गर्ने गरिन्छ ।’

मोहम्मद जयन्तीको अवसरमा आज (३१ भदौ) बिहानैदेखि ऱ्याली गरिने बाँकेका मुस्लिम अगुवा हलिम साहले जानकारी दिए । मुस्लिम समुदायको मोहम्मद जयन्ती उत्सव ऱ्यालीलाई व्यवस्थापन गर्न सहरमा सुरक्षा व्यवस्था सुदृढ पारिएको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताए ।

बाँकेमा मुस्लिम समुदायको बाहुल्यता रहेको नेपालगञ्ज उपमहानगरपालिका, नरैनापुर र जानकी गाउँपालिकाले मोहम्मद जयन्तीको अवसरमा आज सार्वजनिक बिदा दिएका छन् ।