आज बस्ने संवैधानिक परिषदको बैठकले प्रधानन्यायधीश नियुक्त गर्ने सम्भावना प्रवल

आज बस्ने संवैधानिक परिषदको बैठकले प्रधानन्यायधीश नियुक्त गर्ने सम्भावना प्रवल


प्रधानन्यायाधीश नियुक्ति सम्बन्धमा छलफल तथा निर्णयका लागि आज (३१ भदौ) साँझ ५ बजे संवैधानिक परिषदको बैठक बस्दैछ । यसअघि शुक्रबार बसेको बैठकमा पनि नयाँ प्रधानन्यायाधीश शिफारिसबारे छलफल भएको थियो, तर बैठक कुनै निश्कर्षमा पुग्न सकेन ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता प्रचण्ड, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल र उपसभामुख इन्दिरा राना मगर सदस्य रहेका छन् ।

सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ देखि अवकाशमा जाँदैछन् । संविधानको धारा २८४ (३)बमोजिम अवकाशमा जानुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि परिषद्ले सिफारिस गर्नुपर्ने व्यवस्था छ । संवैधानिक व्यवस्थाअनुसार भदौ १९ मा नै सिफारिस हुनुपर्नेमा परिषद् बैठक बस्न सकिरहेको थिएन ।

नयाँ प्रधानन्यायाधीशका लागि न्यायपरिषदले ८ जना सम्भावित न्यायाधीशहरूको सूची संवैधानिक परिषदमा पठाइसकेको छ, जसमा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेका छन् । सिफारिस भएकामध्ये प्रकाशमान सिंह राउत सबैभन्दा वरिष्ठ भएकाले उनकै नाम सिफारिस हुने सम्भावना रहेको छ ।