बेल्जियममा बीपी जयन्ती सम्पन्न

बेल्जियममा बीपी जयन्ती सम्पन्न


  • विशेष प्रतिनिधि, युरोप

जनसम्पर्क समिति बेल्जियमको आयोजनामा बेल्जियमको पर्यटननगरी आन्त्वेर्पेनमा महामानव बीपी कोइरालाको जन्मजयन्ति मनाइएको छ । नेपाली जन सम्पर्क समिति बेल्जियमका संस्थापक नेता ध्रुवराज पौडेलको प्रमुख आतिथ्यतामा आइतबार (१५ सेप्टेम्बर) सम्पन्न जन्मजयन्ति समारोहको सभापतित्व सोही संगठनका उपसभापति विराट जोशीले गरेका थिए ।

विशिष्ट अतिथिको आशनबाट बोल्दै समितिका पूर्वअध्यक्ष सुवाश जोशीले बीपी कोइरालाको राजनैतिक, दार्शनिक तथा साहित्यिक योगदानबारे चर्चा गरेका थिए । त्यस्तै, एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटाले बिपी कोइरालाको समाजवादी चिन्तन विश्वकै भविष्य भएको जिकिर गर्दै बीपीको राजनैतिक, दार्शनिक, सामाजिक र साहित्यिक योगदानलाई सबैले आआफ्नो ठाउँबाट सम्मान गर्नुपर्ने धारणा राखिन् ।

कार्यक्रममा जन सम्पर्क समिति बेल्जियमका वरिष्ठ नेता उल्का घिमिरे, एनआरएनए पुर्वअध्यक्ष प्रेम गुरुङ, कांग्रेसकी वयोवृद्ध व्यक्तित्व तेजप्रभा खनाल, युरोप यात्रामा रहेका पत्रकार मणिराज गौतम, एफएनजे बेल्जियमका अध्यक्ष ओम शर्मा, अनेशासका केन्द्रिय उपाध्यक्ष डिल्ली अम्माई लगायतले मन्तब्य तथा साहित्यिक सृजना वाचन गरेर राजनेता तथा साहित्यकार बिपी कोइरालालाई श्रद्धा समर्पण गरेका थिए ।

स्मरण रहोस्, विश्वेश्वरप्रसाद कोइराला नेपाली राजनीति र साहित्यको क्षेत्रमा छुटाउनै नसकिने नामहरूमध्ये एक हो । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको जन्म विसं १९७१ भदौ २४ मा बुवा कृष्णप्रसाद कोइराला र आमा दिव्या कुमारीको कोखबाट भएको थियो (निधन वि.सं. २०३९ साउन ६) । विश्वेश्वरप्रसाद कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली र हिन्दी भाषाका प्रख्यात साहित्यकार थिए। उनले आफ्नो जीवनको लामो समयसम्म नेपाली काङ्ग्रेसको नेतृत्व गर्दै, सन् १९५९ देखि १९६० सम्म नेपालको इतिहासमा २२औँ प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापाना गर्नको लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए ।

कोइरालाले नेपाली साहित्यको क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुऱ्याएका छन् । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । प्रगतीवादी कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्नीमा’, ‘नरेन्द्र दाइ, र ‘बाबु, आमा र छोरा’ गरी ६ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी, दुई कथा संग्रह श्वेत भैरवी र दोषी चश्मा, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ प्रकाशित छन्।