‘रास्वपाका सभापति लामिछाने दोषी ठहर !’
सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले आज (३१ भदौ) संसदमा प्रतिवेदन पेश गर्दैछ । एमालेका नेता एवम् सांसदसमेत रहेका समितिका सभापति सूर्य थापाले तीन महिना १५ लिन लामो अनुसन्धानपछि तयार पारिएको प्रतिवेदन सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाउन लागेका हुन् । थापाको नेतृत्वमा गत जेठ १५ गते संसदीय छानबिन समिति गठन भएको थियो ।
समितिका एक सदस्यका अनुसार सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने दोषी ठहर भएका छन् । गोरखा मिडिया नेटवर्कमा सहकारीको रकम ल्याएको विषयमा समितिले लामिछानेलाई दोषी ठहर गरेको हो । गोरखा मिडिया कम्पनीका अध्यक्ष जीबी राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्नेगरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको भेटिएको स्रोतको भनाइ छ ।
रवि लामिछाने प्रबन्ध निर्देशक रहेकै समयसम्म पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको सहारा सहकारीबाट ८१ करोड ३१ लाख रुपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा भित्रिएको समितिले ठहर गरेको छ । समितले रविसँगै ९ जनालाई कारबाही गर्नुपर्ने आधारसहितको प्रतिवेदनमा संसदमा पेश गर्न लागेको हो ।
समितले सहकारी सम्बद्ध सरोकारवाला, सरकारी निकाय, ठगी भएका भनिएका सहकारीका वर्तमान र पुर्व पदाधिकारी, सहकारी ठगीको आरोप लागेका विभिन्न व्यक्तिहरुसँग गरि ६३ वटा बैठक गरेको थियो । समितिले गत शनिबार (२९ भदौ) प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल पनि गरेको थियो ।
एमाले सांसद सूर्य थापा संयोजक रहेका समितिमा एमालेबाट सरिता भुसाल, नेपाली कांग्रेसबाट बद्री पाण्डे (पाण्डे मन्त्री बनेपछि दिलेन्द्रप्रसाद बडू) र ईश्वरीदेवी न्यौपाने, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।
प्रतिक्रिया