झापा कारागारको ढल र ध्वनि प्रदुषणको मारमा आसपासका बासिन्दा

झापा कारागारको ढल र ध्वनि प्रदुषणको मारमा आसपासका बासिन्दा


✍ द्रोण अधिकारी, झापा

क्षमताभन्दा चार गुणा बढी कैदी/बन्दी रहेको झापा कारागारबाट उत्पादन हुने फोहोर तथा प्रदुषणका कारण आसपासका बासिन्दा दुई दशकयता प्रताडित हुँदै आएका छन् ।

दैनिक कार्य अन्तर्गत कैदी/बन्दीबाट उत्पन्न हुने फोहोजन्य पानी तथा दिसापिसाव व्यवस्थापनको निकास दिने ढल सहज नभएका कारण पूर्वपट्टि रहेका दुई दर्जन बढी घर-परिवारले प्रत्यक्ष असर भोगिरहेको दुई दशक बढी भइसकेको छ ।

पछिल्लो एक वर्षयता कारगारबाट ध्वनि प्रदुषणको प्रहार पनि आसपासका बासिन्दामा थपिएको गुनासो आएको हो ।

दिनभर मनोरञ्जनको बहाना तथा बिहान र बेलुका ध्यान, तप र योगाका नाममा विभिन्न धर्म मान्ने संघ-संस्थाका प्रतिनिधिहरूले गर्ने गरेका कार्यक्रमका आवाज बस्तीतिर फर्काएर माइक जडान गरिएका कारण आसपासका बासिन्दाले ध्वनि प्रदुषण सहनु परेको पीडित कविता नेपालले जानकारी दिइन् ।

उनका अनुसार हरेक दिन बिहान ४ बजेबाट बज्न सुरू हुने साउण्ड बक्सको झङ्कार बेलुका ७ बजेसम्म रहनेगरेको छ भने कैदी/बन्दीलाई सूचना दिने, मनोरञ्जन गराउने कार्यदेखि भजन-कीर्तन, तथा विभिन्न गीतको चर्को स्वर हरेक दिन सुन्नुपर्ने बाध्यता रहेको छ ।

कारागारको फोहोर पानी बग्ने ढलको उचित प्रवन्ध नभएका कारण त्यहाबाट दैनिक उत्पादित हजारौँ लिटर फोहोर पानी पूर्वपट्टि पसेर बस्तीलाई असर गरिरहेको स्थानीयको आरोप छ । विभिन्न बाहनामा ध्वनि प्रदुषण पनि गाँसिएपछि थप पीडामा परेको दुखेसो आसपास बसोबास गर्ने बासिन्दामा छ ।

दुई दशकयता कारागारको अस्तव्यस्त फोहोर उचित व्यवस्थापनको माग गर्दै आएका पीडित स्थानीयले न्यायोचित समाधानको बाटो नपाएको गुनासो गरिरहेका हुन् ।

२०६२ सालयता नेतृत्वमा पुगेका सवै सरकार प्रमुखसित स्थानीय बासिन्दाले कारागारको फोहोर पानीको व्यवस्थापनका लागि सहज निकासको माग राखेर पटक-पटक ध्यानाकर्षण तथा ज्ञापनपत्र बुझाएका भए पनि सहस्या हल हुन सकेको छैन ।

कारागारको फोहोरले झापाको सदरमुकाम आसपासका नागरिकमा स्वास्थ्यप्रति नकारात्मक असर गरिरहेको छ । कारागारबाट उत्पन्न हुने दिसाजन्य फोहोर पानीलाई व्यवस्थापन गर्न कारागार प्रशासनले केही वर्षअगाडि उत्तरपट्टि एउटा शोष ट्याङ्की निर्माण गरेको थियो । तर, सो ट्याङ्कीले मात्र फोहोर पानी रोक्न नसकेकोले पूर्वपट्टिको बस्तीमा पानी पसेर डुवानको समस्या घटेको छैन ।

स्थानीय बासिन्दा दुर्गाबहादुर खड्का सहजै बग्ने ढल निर्माण नभएसम्म फोहोर पानीका कारण उत्पन्न समस्या हल नहुने बताउँछन् । शौचालयको शौच मिसिएको पानी केही हदसम्म रोकिए पनि कारागारको फोहोरले स्थानीयलाई सताउन नछाडेको पीडित खड्काको भनाइ छ ।

यसरी समस्यै समस्याको भूमरीमा झापा कारागार जकडिएको छ । कतै स्थानीयको समस्या त कतै कैदी बन्दीको पीडा भएर झापा कारागार समस्याको भूमरीमा परिरहेको भए पनि सरकारी संयन्त्रले समस्या हल गरी सुधारको बाटोमा लैजान सकेको छैन । सदरमुकाम समेत रहेको नेपालकै पुरानो नगर भद्रपुर नगरपालिकाभित्र रहेको जिल्ला कारागार झापाबाट उत्पन्न हुने फोहोरको व्यवस्थापन गर्न पीडित स्थानीय बासिन्दाले स्थानीय सरकारदेखि संघीय सरकारसम्म दबाब दिँदै आएका छन् । जिम्मेवार निकायले सुनुवाइ नगर्दा फोहोरको उचित व्यवस्थापन हुन सकेको छैन ।

स्थानीयको जनजीवन दिसाजन्य बस्तुबाट उत्पन्न विभिन्न सरुवारोग र प्रदुषणले कष्टकर बन्दै गएको छ । कारागारबाट दैनिक पाँच हजार लिटर भन्दा बढी फोहोर पानी निस्कने गरेको छ । यसैगरी मलमूत्रको हिसाब नै नभएको स्वीकार गर्ने कारागार प्रशासनले उचित पहल नगरेको पीडित स्थानीय नागरिकको गुनासो छ । कुनै पनि किसिमको फोहोर व्यवस्थापन हुन उचित संरचना बन्नु पर्ने माग स्थानीय समुदायले गर्न थालेको २० वर्ष बितिसक्यो । यस अवधिमा कारागारको उत्तरतिर एउटा शोष ट्याङ्की त निर्माण भयो तर पनि बस्तीतिर बग्ने फोहोर पानी रोकिएको छैन ।

जिल्ला प्रशासन कार्यालय, भद्रपुर नगरपालिका, गृहमन्त्रालय र संघ तथा प्रदेश सभाका जनप्रतिनिधिलाई ज्ञापनपत्रदेखि गुनासोसम्मका पीडा सुनाउँदै सरोकारवाला निकायसंँग हारगुहार गर्दा पनि केही नलागेको पीडित स्थानीय भीष्मराज भट्टराईले गुनासो पोखे ।

कारागार आसपास क्षेत्रमा फोहोर पानी र दिसाजन्य फोहोर दुर्गन्ध भएर हिउँद-वर्षाभर निकै फैलिने गरेको छ । कारागार भित्रको फोहार पानी त्यहीँ वरिपरि बग्ने भएकोले संधै दुर्गन्ध र फोहोरसंँग लुकामारी गर्नुृपर्ने बाध्यता रहेकोले स्वास्थ्यमा समस्या आउने गरेको पीडितहरूको दुखेसो छ । उनीहरूका अनुसार सो क्षेत्रमा फोहोरका कारण खेती बाली लगाउन सक्ने अवस्था अझैसम्म नरहँदा बिघौं जमिन बाँझिएको वर्षौं भएको छ ।

स्वच्छ वातावरणमा जीवनयापन गर्ने हाम्रो अधिकारलाई जिल्ला कारागारबाट निस्कने तथा उत्पादन हुने फोहोरले अतिक्रमण गरेको भन्दै पीडितहरू यसलाई समयमै ध्यान दिएर जिम्मेवार निकायले रोक्न नसकेको आरोप लगाउँछन् । नागरिकको जीवन संकटमा पार्ने दिसाजन्य फोहोर व्यवस्थापन नगरी स्वच्छ वातावरणमा बाच्न पाउने अधिकार हनन् भइरहने पीडित स्थानीयको आरोप छ ।

देखिने गरी दुई दर्जन घर फोहोरको डुवानमा परेका भए पनि कारागारको फोहोरजन्य पानीको अस्तब्यस्तताले झापाको सदरमुकाम आसपासका हजारौं नागरिकमा स्वास्थ्यप्रति नकारात्मक असर परिरहेकोे छ ।