ब्यापक अनियमितताको आशंकामा प्रादेशिक अस्पताल गौरमा अख्तियारको छापा

ब्यापक अनियमितताको आशंकामा प्रादेशिक अस्पताल गौरमा अख्तियारको छापा


  • प्रेमचन्द्र झा, रौतहट

रौतहटस्थित प्रादेशिक अस्पताल गौरमा सोमबार (३१ भदौ) अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । सो अस्पतालले खरिद गरेका औषधि तथा उपकरणहरूको परीक्षण गर्न अख्तियारले मुचुल्का तयार पारेर लगेको छ । अस्पतालमा रहेका सामाग्री तथा औषधिहरू खरिद विवरणसँग मेल खान नसकेपछि अख्तियारले अनुसन्धान अघि बढाएको हो ।

बीएडी ९०६४ नम्बरको स्कार्पियो गाडीमा आएको अख्तियारको टोलीसँग सञ्चारकर्मीहरूले जानकारी लिन खोज्दा टोलीले कुनै पनि जानकारी दिन अस्वीकार गरेको थियो । सम्बद्ध श्रोतका अनुसार आवश्यक परिमाणका औषधि र उपकरण फेला नपरेपछि सोहीअनुसार रिपोर्ट तयार गरी अख्तियारको टोली फर्किएको छ । यस क्रममा स्टोरकिपर राम अश्रेय मुखियासँग केहीबेर सोधपुछ गरिएको थियो ।

अस्पतालमा व्यापक भ्रष्टाचार र अनियमितताको आरोप स्थानीयस्तरबाट लागिरहेको छ । अस्पताल विकास समितिका अध्यक्ष अनवर हासमी र मेडिकल सुपरिटेन्डेन्ट मुरारी ठाकुरले गोप्य टेन्डरमार्फत औषधि∕उपकरण खरिद गरि व्यापक आर्थिक अनियमितता गरेका छन् । सो अस्पतालमा टाइल्स र मार्बल जडान, गाडी मर्मत, टिकट काउन्टरको रकम हिनामिना, भवन रङरोगन, इन्धन खर्च, न्यानो झोला खरिद, करार कर्मचारी भर्ना लगायतका प्रक्रियामा अनियमितता भएको आरोप छ।

स्रोतहरूका अनुसार, निजी क्लिनिक र ल्याबसँग साठगाँठ गरी लाखौं रुपैयाँको भ्रष्टाचार भएको छ । यस्ता क्रियाकलापका कारण अस्पतालका चिकित्सकहरू तनावमा काम गर्न बाध्य भएका छन् । उनीहरूलाई अध्यक्ष हासमीले सरुवा गर्ने धम्की दिँदै दबाबमा राख्ने गरेको डा. अमित चौधरीले बताए । स्थानीय बासिन्दाहरूले यस विषयमा बारम्बार सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए पनि ठोस कारबाही नभएको गुनासो गरेका छन् । यस विषयमा अध्यक्ष हासमीसंग कुरा गर्दा अनियमितता नभएको दाबी गरेका छन् ।

यस घटनाले अस्पतालको साखमा ठूलो धक्का दिएको छ, र अबको अनुसन्धानले भ्रष्टाचारमा संलग्न दोषीहरूलाई कारबाही गर्ने अपेक्षा गरिएको छ ।