सुन्यता, सृष्टि र संयोग

सुन्यता, सृष्टि र संयोग


शरीरको पीडा किन शरीरले झेल्दैन ?
शरीरको पीडा मनले झेल्छ र आवाज बनेर निस्कन्छ
हो शरीरको पीडालाई मनले छुन्छ, देख्छ र रुन्छ
उसकै सुन्यताले सृजनामा आहत भर्छ ।

मन त शरीरको यात्रा यन्त्र हो
संयोगले बनेको तन्द्रा
सुन्य फोरेर चुहिएको भाव तरङ्ग
त्यहि तरङ्गलाई मनले चलाउँछ
र एक इश्वरको सृष्टि गर्छ।

ब्रह्माण्ड पूर्ण छैन
पूर्णताको लयमा हुन सक्ला
अनन्त संयोगहरु जुटाउन सक्ला
तर ब्रह्माण्डले सुन्य त्याग्ने छैन।

संसारको घोषित लक्ष्य नभएपनि
यो लक्ष्यविहीनतामा भौंतारिएको लक्ष्य हो
सृष्टि पनि भौँतारिएको छ
लक्ष्यविहीनतामा कुँदेको छ।
सृष्टि जस्तै म अपूर्ण मानव
पूर्णताको खोजि गर्ने स्वाङ पार्छु
भौतारिँदै जाँदा डर पलाउँछ
अनि सुरक्षाको लागि ईश्वरको सृजना गर्छु ।
डर, घमण्ड र घृणा मेरो शरीरका सृजना
मेरो ब्रह्माण्ड जत्रो मन यही शरीर हो
शरीर भन्नु सृजना, एक संयोगको सृजना।

म पूर्ण नहुनु नै ईश्वर हो
अपूर्ण हुन्नुको कारण इश्वर
म अपूर्ण हुनुको कारण ईश्वर !
संयोगले पृथ्वी बन्नुको कारण ब्रमाण्ड
ब्रह्माण्ड बन्नुको कारण सुन्य।

न चेतना, न शक्ति, न पदार्थ
केवल सून्यताको संयोग म
अलक्ष्यको भागदौडको पसिना सृजना
सृजनाको संयोग म।

न त ब्रह्माण्डको कुनै लक्ष्य छ
न पृथ्वीको कुनै लक्ष्य छ
लक्ष्यविहीनताको बतासे तनाव
म र मेरो मन, समग्र अस्तित्व र पृथ्वी ।

भौँतारिनु नै वास्तवमा सृजना हो
भन्नेले जेसुकै भनुन्
संयोग नै सृष्टिको गुरु हो
अस्तित्वको कर्ता सुन्य हो।
पागलपन ब्रह्माण्डको लक्ष्यविहीनता
मेरो आनन्द र पीडाको श्रोत मन
मनको भाव शरीरको अदृश्य प्रवाह
प्रवाहको उत्पत्ति कारक संयोग।

सून्यताको विरोधाभाषमा मन जन्मनु
मनको विरोधाभाषमा आवाज निस्कनु
त्यही अस्तित्वको पहिचान हो
बिनाअस्तित्व भाव हुनै सक्दैन
त्यसैले भाव शरीरको सुन्य अंग हो।
घमण्ड नगरे हुन्छ कसैले
पृथ्वी नभए पनि ब्रह्माण्डलाई केही हुँदैन
सृष्टि र सृजनाका लयहरु जन्मिरहन्छन्
संयोगमा सृष्टि भौँतारिदै अघि बढ्छ
र सून्यताको असमििततामा अर्को संयोगले जन्म लिन्छ।
मेरो विकल्प म
मान्छेको विकल्प मान्छे
मान्छे हैन सृष्टिको विकल्प
सून्यतालाई लक्ष्यको प्रेरणा भन्नेहरु पनि छन्
सुन्यता विकल्प हैन संयोगको कारण हो ।

सून्यताको पनि कुनै लक्ष्य हुन्छ र ?
त्यो त आकस्मिक संयोग हो
म मेरै लक्ष्य अधीनमा छैन
म सृष्टिको कुनै लक्ष्य बनिनँ
म कसैको लक्ष्यअनुसार आएको हैन।

सुर्यले सृष्टिको लागि किरण छोड्दैन
न त लक्ष्य बनाएर घुम्छ नै
यो सब सुन्यताभित्रको संयोग हो
मेरो इश्वर जस्तै कल्पना हो लक्ष्य ।
मेरो डरको कारण
मेरो सान्त्वना
शरीरको भित्र रहेको अंग बिकार
शरीरको सृजना मन
डर मनोबिकार,
सुरक्षा भावको उत्तर ईश्वर।

म नै मेरो ईश्वर हुँ
मेरा संयोगका सृजना
मनले शरीरलाई दिने सान्त्वना
इश्वरको सृजना मैले गरेको हुँ
मानव बाहेक ब्रमाण्डमा इश्वर छैन।

मैले कविता कोर्नु संयोग
मैले हात खुट्टा सार्नु संयोग
जिउनु मर्नु सबै संयोग
सृजना र संहार सुन्यताका संयोग हुन् ।

मनको भ्रम सपना जस्तो संयोग
अरुलाई आफूजस्तै देख्नु
कसैलाई प्रेम गर्नु र भिज्नु
सबै सुन्यताको बिष्फोटपछिका संयोग
सुन्यतामा अकस्मात हलछलपछिको संयोग
सुन्यले सृष्टि गरेको संयोग
र सुन्यतामा रचिएको सृजनाको संयोग।