प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध सार्वजनिक उजुरी आह्वान

प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध सार्वजनिक उजुरी आह्वान


प्रधानन्यायाधीशमा सिफारिश प्रकाशमान सिंह राउतविरुद्ध उजुरी दिन संसदीय सुनुवाइ समितिले आह्वान गरेको छ । आज (४ असोज, शुक्रबार) एक सूचना प्रकाशित गर्दै समितिले १० दिनभित्र कार्यालय समयमा उजुरी दिन आह्वान गरको हो ।

उजुरीकर्ताले आफ्नो नाम र ठेगाना स्पष्ट खुलाउनुपर्ने र निजले गोप्य राख्न चाहेमा समितिले गोप्य राखिदिने सुनुवाइ समितिले प्रष्ट्याएको छ ।

ज्ञातव्य छ, राउतलाई संवैधानिक परिषदको भदौ ३१ को बैठकले नेपालको प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

यसैगरी, संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरू चित्रलेखा यादव (अस्ट्रेलिया) र सेवा लम्साल (बेल्जियम)को पनि सुनुवाइ प्रक्रिया अघि बढाएको छ । प्रस्तावित राजदूत यादव एवं लम्सालका सम्बन्धमा पनि १० दिन निर्धारण गरी सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरिएको छ ।

मन्त्रिपरिषद्ले परराष्ट्रसचिव लम्साललाई गत साउन ३१ मा बेल्जियमका लागि र यादवलाई भदौ २४ मा अस्ट्रेलियाका लागि राजदूतमा सिफारिस गरेको थियो ।