गाईगोरुको तस्करी : दाउन्नेबजारबाट प्रहरीले नियन्त्रणमा लियो ट्रक

गाईगोरुको तस्करी : दाउन्नेबजारबाट प्रहरीले नियन्त्रणमा लियो ट्रक


  • आरपी उपाध्याय, नवलपरासी

पूर्वी नवलपरासीको दाउन्ने बजारबाट प्रहरीले ट्रकमा लोड गरि ल्याएको गाईगोरुलाई नियन्त्रणमा लिएको छ।

पूर्व पश्चिम राजमार्गको विनयी त्रिवेणी गाउँपालिका वडा नं. २ दाउन्नेमा १९ को सङ्ख्यामा जर्सी गाई र गोरु ट्रकमा लोड गरि पश्चिमबाट पुर्वतर्फ लग्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको नवलपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए ।

ग.प्र.०३००१ख२२७० नम्बरको ट्रकमा गाईगोरुलाई लोड गरि लैजाँदै गर्दा गोप्य सुचनाको आधारमा नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय त्रिवेणीमा ल्याइ घाइते पशुहरुलाई प्राथमिक उपचार पनि गरिएको उपरीक्षक रेग्मीले बताए ।

प्रहरीले नियन्त्रणमा लिएकामध्ये एक गाई र एक गोरुको ट्रकमै मृत्यु भएको र बाँकी १७ गाई स्वस्थ रहेको प्रहरीले जानकारी दिएको छ ।

गाईगोरु लोड गरि पुर्वतर्फ जाँदै गरेको अवस्थामा प्रहरीको नियन्त्रणमा परेका ट्रकचालक चितवन राप्ती नगरपालिका २ बस्ने डिलबहादुर उप्रेती रहेका छन् भने सहचालक चितवनकै कमल बास्तोला रहेको बताइएको छ।

पश्चिम नवलपरासीको ग्रामीण भेगबाट संकलन गरिएका वृद्धावस्थाका गाईगोरुहरुलाई गैरकानुनी रुपमा हेटौंडा हुँदै काँकडभिट्टा पुऱ्याउने तस्करको योजनालाई नवलपुर प्रहरीले विफल बनाउँदै थप कानुनी प्रक्रिया अगाडि बढाउने तयारी गरिएको बुझिएको छ ।

प्रहरीले नियन्त्रणमा लिएको गाईगोरु बोक्ने गाडी धनी र चालकलाई पशुपक्षीसम्बन्धी कसुरको दफा नं.२ अन्तर्गत २९० अनुसार पशुपक्षीप्रति निर्दयी कसुर व्यवहारअनुसार कारवाही गरिने पनि उपरीक्षक रेग्मीले जानकारी दिए ।

पश्चिम नवलपरासीको सुनवलबाट संकलन गरिएका गाईगोरुलाई लोड गरि ल्याउँदै गरेको सुचना मिलेपछि उपरीक्षक रेग्मी आफ्नै कमान्डमा खटी नियन्त्रणमा लिइएका गाईगोरुलाई इलाका प्रहरी कार्यालय त्रिवेणी पठाइ थप प्रक्रिया अगाडि बढाउने पनि बताइएको छ।

त्रिवेणीको गजेन्द्र मोक्ष धाममा गौशाला भए पनि जर्सी गाई गौशालामा नराख्न भनिए यता त्रिवेणी प्रहरीकै रेखदेखमा उक्त पशु केही दिनका लागि सोही स्थानमा राख्ने र अन्य प्रक्रिया अगाडि बढाउने पनि प्रहरी स्रोतले जनाएको छ ।