भैरव अर्यालसँग भलाकुसारी

भैरव अर्यालसँग भलाकुसारी


एक हप्ताको छुट्टी लिएर पृथ्वी भ्रमणमा आएका थिए भैरव । मैले मौका छोपी हालेँ उनीसँग वार्ता गर्न । शुरुमा त आनाकानी नगरेका हैनन् उनले, तर पछि मेरो हठको अगाडि उनको केही सिप लागेन । कस्तो ‘बालहठ’ भन्दै वार्ता गर्न तयार भएपछि मलाई ओलम्पिकमा स्वर्णपदक जितेको भन्दा बढि खुशी मिल्यो ।

भादगाउँले टोपी, मैलो दौरा शुरुवालमा कालोकोट भिरेका अर्यालको झुसझुसे दाह्री अनि चुरोटले पहेँलो बनाएको दाँतमा व्यक्तित्व बयान गर्नलायक केहि देखिनँ मैले । सोध्न त मन लागेको थियो ‘किन यस्तो झ्याउरे भएर बसेको, स्वर्गमा स्याहार पाइएन ?’ तर दुःखेको मनलाई फेरि किन नुन छर्किनु भन्ने सोचेर आफ्नो प्रश्न आफैभित्र थन्क्याए । भलाकुसारीपश्चात उनले भने, ‘मेरा थुप्रै कृतिहरु हराएछन् बाबु, त्यसका बारेमा चाहिँ नसोध्नु है !’ उनले त्यसो भनेपछि मलाई त्यहि बारेमा सोध्न बढी इच्छा लाग्यो अनि सोधी पनि हालेँ,’हराएको अर्थ के हो हजुर ?’ पहेलो दाँत देखाउँदै हाँसे मुसुक्क उनि अनि बोले, ‘मेरो कृतिहरुलाई आफ्नो भन्दै लगेछन् कतिले अनि कति लेखेका कागजका पन्नाहरु मुसालाई कोतर्ने खेलौना भएछ।’ केही बुझेझैँ मैले टाउको हल्लाएँ । आफ्नो कृतिहरुको स्मरणमा उनि अल्मलिन लागेको देखेर मैले कुरा अगाडि बढाउने शुर कसेँ ।

उनकै ‘महापुरुषको संगत’ले आकर्षित भएको म उनलाई नसोधिरहन सकिनँ, ‘हजुरलाइ थुप्रै महापुरुषहरुको संगत भयो, हामीलाई त यहाँ बागमती तटमा फालेको सिनो झैँ गन्हाउने नेताबाहेक कोही रहेनन् संगत गर्न पनि । जो हेरे पनि आफ्नै भुँडीको जय-जयकार गर्ने मात्रै छन् । कसरी यिनीहरुको मति ठिक गर्ने होला ?’

मन्द मुस्कानसहित उनि बोले, ‘यी मति बिग्रिसकेकाहरुको उद्धार गर्नतिर लागेर हुनेवाला केहि छैन बाबु । बरु मैले भने झैँ ‘नेता नं एक सय एक’लाई रोज । उसैलाई जिताउ चुनावमा । मेरो यकिन गर उसको पार्टी ‘अखिल नेपाल भस्याङ भुसुङ दल’ले देशको विकास गर्नेछ।’

पछि नेता नं एक सय एक उनि स्वयम् भएको खुलासा गरेका थिए मेरो एक प्रश्नको उत्तरमा । त्यो बेलाका नेता र त्यो बेलाको उनको दलले अहिलेको अवस्थामा के नै पो गर्ने हो र भन्ने मेरो प्रश्नको उत्तरमा उनले भनेका थिए, ‘म नभए पनि मेरो दल छ अनि त्यसले काम गर्छ । गल्ली गल्लीमा भेटिने नारावाजी मेरै दलको त हो नि । मूल सडकमा गर्ने नारावाजी भन्दा पृथक हाम्रो दलको लक्ष्य गल्लीहरुमा घुसेर जनचेतना लेराउने हो, त्यसो भए पो निस्कन्छ त लुकेर बसेको विकास । अहिलेका तिम्रा पार्टीहरु भन्दा धेरै राम्रो छ मेरो दल अनि त्यसको काम गराइ।’ कसैले तपाईं भनोस् वा नभनोस् आफैले आफुलाई मपाइँ अनि आफ्नो पार्टी सक्षम भनेको सुन्दा कतै मैले सुन्नमा गल्ती गरेँ कि वा मेरो भकुण्डो जस्तो टाउकोमा पम्पु लाएर फ़ुलाउन अझै बाँकी नै छ कि जस्तो लाग्न थालेको थियो मलाई । जे भएपनि उनको महापुरुषहरुको संगत अनि चन्द्रलोकसम्मको अनुभवले गर्दा म विश्वस्त नभइरहन सकिनँ । उनको ‘जयभोलि’को नाराले गर्दा पनि विकास कुरेर बसेका म जस्ता नेपालीलाई ‘भोलि’ देशले विकासको खुड्किलो चड्छ भन्ने कुरामा विश्वास गर्न त्यति गाह्रो भने थिएन ।

मेरो विश्वासले भोलि ‘आलु’ खाने हो कि भन्ने शंका निवारण गर्न एउटा प्रश्न तेर्स्याइहाले उनलाई, ‘हजुरको अखिल नेपाल भस्याङभुसुङ दलले ‘अन्तर्राष्ट्रिय भ्यागुता सम्मेलन’पश्चात हासिल गरेको अनुभवको सराहना गर्नैपर्छ तर त्यसबाट हामी कसरी लाभान्वित हुने त ? विकासको उचाइमा चढ्दा ती सबै आश्वासनहरु भुँडीपुजाको लागि जुगाड गरिएका सामग्री हुन के बेर ?’

मेरो कुरा सुनेर केहिबेर सोचमा डुबे भैरव, अनि मन्द मुस्कानसहित बोले, ‘तिम्रो कुरा सुन्दा तिमीलाई पनि ‘रे मेनिया’ले समाएजस्तो लाग्यो बाबु । तिलजत्रो कारणबाट पहाड जत्रो सम्भावना सोची हल्ला गर्नु ‘रे मेनिया’ हो भनेर मैले कति चोटी भनिसकेँ। ‘नेपालोप्याथी’ अनुसार भन्ने हो भने अब तिम्रो उपचार गर्नुपर्छ। तिम्रो त्यो टोपी अड्याउने स्ट्यान्ड भएको टाउकोमा अलि कति गिदी भर्नुपर्छ। आजभोलि त गिदी पनि किन्न पाइन्छ बजारमा । आफूलाई मिल्ने, सुहाउँदो खालको अनि उत्तम नस्लको गिदी किनेर लेराउ । बरु म च्याउ झैँ उम्रेका यी नर्सिङ्गहोममा लगेर तिम्रो गिदी हाल्न मद्दत गरौँला ।’

उनको कुरा सुन्दा मेरो टाउको हावा फुस्केको भकुण्डो झैँ सलातसुलुत्त पऱ्यो । कुनै सोचविचार बाँकी रहेन त्यो खालि टाउकोमा । प्रश्नहरुको भकारी नै थियो केहिबेर अगाडि त्यो पनि अचानक रित्तियो । म त टोलाउन थालेछु ।

मेरो अवस्थामा हाँसोको ठहाका मार्दै उनि बोले, ‘आखिर नेपाली नै त हौ, अलिकति कसैले केहि भनिदियो लल्याकलुलुक पर्ने । ‘कागले कान लग्यो भन्दा कान छाम्ने कि कागको पछि लाग्ने ? तिमीहरुको यही पनले गर्दा त हो हाम्रो जस्तो भस्याङभुसुङ दलले पनि तिमीहरुलाई फस्ल्याङफुस्लुङ गर्दै दशकौ राज गर्न सक्ने।’

उनको कुराबाट विस्मित म बोलेँ, ‘आखिर अरुलाई मति बिग्रेको संज्ञा दिँदै आफ्नै भुँडी भर्ने सुरसार त रहेछ हजुरको पनि । के नै फरक रहेछ र ? ‘जय भुँडी’को गीतसंगीत त हजुरलाई नै बढी सान्दर्भिक देखियो त ! विकास लेराउने हाम्रो अभिलाषा पूरा हुन अझै कति पर्खिन पर्ने हो ?’

मेरो कुरा उनलाई चित्त बुझेन । मलाई अलि बेग्लै स्वरमा बोलेको भान भयो त्यतिखेर, ‘तिमीहरुलाई त दुइचार वटा राम्रा कुरा गरिदिए भैहाल्यो नि । विकास नै त्यहि हो तिमीहरुलाई । राम्रो भाषण, राम्रो नारा, राम्रो चुनावी प्रचार अनि पार्टी को चुनावी घोषणापत्र राम्रो भए पुगिहाल्छ । मान्छे कस्ता छन्, पार्टीको नियत के हो, नेता को हुन् किन बुझ्नुपऱ्यो ? अरुको जस्तै हाम्रो दलको घोषणापत्रलाई मासुभात र रसवरी झैँ स्वाद लिइ लिइ खान पल्केका तिमीहरुलाई विकास पर्खने बानी परिसकेको छ नि । किन अहिले यस्तो गुनासो ?’

उनले आफ्ना कुरा थपे, ‘तिमीले हाम्रो घोषणापत्र पढेको छ जस्तो लागेन, नत्र यस्तो प्रतिक्रिया आउँदैन थियो । ल सुन म भन्छु, व्यापारीलाई दर, सुकुम्वासीलाई घर, जागिर खानेलाई पोस्ट, खाजा खानेलाई टोस्ट, जोगीलाई जन्क्सन, रोगीलाई इन्जेक्सन, पढ्नेलाई पास, खेल्नेलाई तास, गाइनेलाइ भ्वाइलिन, आइमाइलाई नाइलिन, पुलिसलाई डन्डा, नेतालाई झन्डा, पण्डालाइ भेटी, गुण्डालाइ केटी ! आहा कति राम्रो छ हाम्रो घोषणापत्र । यस्ता घोषणापत्र पाएपछि विकास त पर्खनु पऱ्यो नि ! हामीले हाम्रो पालामा कति पर्ख्यौं । अहिले तिमीहरुको पालो । तर अचम्म के भने त्यो विकास कति ल्होसे रहेछ, उहिले हामीले पर्खेको कुरो अहिलेसम्म आइपुगेको रहेनछ । कहाँ लुकेर बसेको छ कहाँ, पत्ता लाउन धौ-धौ भइसक्यो ।’

उनको कुराले मेरो धैर्यतामा प्रश्न गरेको झैँ भयो, रोक्न सकिनँ आफुलाई र सोधेँ, ‘यसको मतलब हाम्रो लागि विकास भन्ने कुरा स्कूलको परिक्षामा आलु खाएको जस्तै हुने हो कि क्या हो, अपेक्षा ठुलो तर हात लागे शुन्य ?’

उनि बोले, ‘आलु र देशको विकासलाई कसरी दाँज्न मिल्छ र.. आलु त्यस्तो मिठो हुन्छ ! विकासको कुरा गर्दा कति गाली र सराप सहनुपर्छ । फेरि आलु सबै चिजमा मिल्ने तरकारी, विकास कहाँ त्यस्तो छ र ? हरेक दिन पाक्ने आलुजस्तो भएको भए त सबैको भान्छा गज्जबले सजिइहाल्थ्यो नि । त्यहि आलु पनि जान्नेलाइ रक्सीसँग खाने स्वादिलो कवाव हुन्छ भने नजान्नेलाई सिर्फ उसिनेको डल्लो । नेता र पार्टीले विकास जताततै देखेका छन् तिमीहरुचाहिँ हातमा लाग्यो शुन्य भन्दै हिँड्छौ ।’

उनको कुराले म रनभुल्लमा परेँ । केही कुरा पनि सुझेन सोध्नलाई । मेरो अवस्था उनले तुरुन्तै चाल पाइहाले अनि भन्न थाले, ‘आखिर तिमी पनि त नेपाली नै हौ पकेटोक्र्यासिसको रोगी । तिमीहरुलाई दुई छाक टार्नेबाहेक अरु के मतलब । नेताहरुले मासुभात बाँडेको बेला विकास देख्ने अनि अरु बेला विकास खै भन्दै त्यही नेताहरुको टाउकोको हावा फुस्काउने । पकेटोक्र्यासिसले गर्दा अनुहार झ्याउरे, जिउ दाउरे अनि गाला चाउरे भएको तिमीहरुलाई जति विकासे मन्त्र सिकाए पनि व्यर्थ नै हो । के समय खेरफाल्नु तिमीहरु जस्तासँग कुरा गरेर । यत्रो समयपछि के के न भयो होला भनेर पृथ्वी आएको बेकार भयो । म त फर्कें।’

उनि हराए आफ्नै आँखा अगाडिबाट। म ठिङ्ग उभिइरहेँ धेरै बेरसम्म।