‘हितैषी’ सीताराम यचुरीलाई नेपालले बिर्सिएकै हाे ?

‘हितैषी’ सीताराम यचुरीलाई नेपालले बिर्सिएकै हाे ?


नेपालकाे राष्ट्रिय स्वाभिमान र सार्वभाैमिक स्वतन्त्रताका  अनन्य पक्षधर, नेपालका प्रति इण्डियाकाे अतिक्रमणकारी साेच/अवधारणाका नित्य विराेधी एवम्  समय-समयका घटनामा नेपाली मनाेभावकाे इण्डियन नीति-निर्माता निकायमै आवाज बुलन्द पार्ने साहसी राजनीतिक नेता सीताराम यचुरी  पार्थिव जीवनबाट अस्ताएका छन् । याे घटना इण्डियन कम्युनिस्टहरूका लागि जति ठूलाे क्षतिप्रद हाे,  इमान्दार कृतज्ञता अन्तर्गत  लिने हाे भने नेपाललाई  पनि आफ्नाे  उत्तिकै अविस्मरणीय बलदायी मित्र गुमेकाे  अनुभूत हुनपर्ने हाे । तर, इण्डियाकाे वर्तमान शासकीय शिविरवासीका लागि यचुरी , सम्भवतः, ‘ घाँडाे‘ थिए र त्यस्ताे इण्डियन राजनीतिक वंशानुगत अवधारणा ( hereditary political perception) ‘गाेडमेल गरिखान’ पल्केका खासगरी  नेपाली सत्तारुढ र प्रतिपक्षका कम्युनिस्टहरूले उनकाे मृत्युलाई कुनै महत्व दिएकाे नदेखिनु अर्थहीन पटक्कै  छैन !

इण्डियन शासककाे अनुवंशीय विस्तारवादी भावनाका प्रति ‘सकारात्मक देखिनु’ नै वर्तमानमा नेपालकाे शासकीय शिविरमा उक्लिने सजिलाे साेपान त जाे बनिरहेकै छर्लङ्ग छँदैछ क्यार  ! अतः गत जनै पूर्णिमाकाे साइतमा नेपाली परराष्ट्रमन्त्री आरजु राणा आफ्नाे धर्मभाइ (भाजपाका विदेश विभाग प्रमुख विजय चाैथारिया)लाई  ‘राखी’ बाँध्ने मूल उद्देश्य लिएर नयाँ दिल्ली पुग्दा ‘रेड कार्पेट’ टेकाइएकाे थियाे । त्यसाे त छिमेकी हिमाली देश सिक्किमलाई, विशालकाय गाेहीले झिंगेमाछा निले झैँ, निल्न लाग्दा सन् १९७४ काे प्रारम्भतिर, इण्डियाकाे लागि सिक्किमे झाेलेकाजी, लेण्डुप दाेर्जे खाङसार्पालाई पनि ‘रेड कार्पेट’ नै टेकाइएकाे थियाे ! तर, साे कुरालाई बेलुन झैँ फुलाएर ‘राष्ट्रप्रमुखलाई  सरह स्वागत गरेकाे’ भन्दै साे इण्डियन स्वार्थकाे पर्पराउने घटनालाई  ‘आकाश खसेकाे’ जस्ताे ‘ठूलाे’  रूपमा चर्चिने ‘शक्तिका पाउभक्तहरू’-लाई यचुरीकाे जीवन-लीला समाप्त भएकाे घटना सामान्य ठहर हुनुलाई अशाेभनीय नमान्ने वातावरण कहाँ छ र हाम्राे नेपालमा !  र, याे अशाेभनीय प्रकरणले नेपालका प्रति हितचिन्तक हैसियत राख्ने जीवित इण्डियन राजनीतिक व्यक्तित्वमा कस्ताे भाव उत्सर्जित हाेला ? याे प्रश्न , अहिलेकाे समय-सन्दर्भमा महत्वका साथ र सम्पूर्ण उच्चाताका साथ  उभिएकाे छ । यसाे किनभने, इण्डियाकाे विस्तारवादी नीतिद्वारा बारम्बारकाे चिथाेराइले नेपाल जस्ता छिमेकी साना र निर्बलिया राष्ट्रहरूले सदैव संत्रस्त रहिरहनु परेकाे अवस्था जाे ‘अदमनीय समस्या’-काे रूपमा विद्यमान छ ।

घटनापरक रूपमा यस्ताे समस्याकाे प्रतिकार गर्न साना राष्ट्रभित्र जत्रै आवाज उठे पनि त्याे इण्डियाका लागि ‘गैंडालाई काउकुती’ सरह बन्ने गर्दै आएकाे छ । तर,  नेपालका प्रति सदाशयी मैत्रीभाव राख्ने विशिष्ट हैसियतका इण्डियनले नै उनका शासकलाई सचेत गराउन सक्छन् । यस्ता अनेकानेक उल्लेख्य घटना सचेत कित्ताका नेपालीका  स्मरण विमुख हुनसकेका छैनन् ।

बृटिस दासताबाट मुक्त  इण्डियाका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले नेपालमा पञ्चायती व्यवस्था घाेषणा भएकै दिनकाे साँझ अल इण्डिया रेडियाबाट बाेल्दै – ‘नेपाल के प्रजातन्त्र कई वरष के लिए  महल मे कैद किये गए हैं !’ – जस्ता आवेग व्यक्त गरेका थिए । उनले जे भन्न चाहेका थिए त्याे तत्कालकाे परिस्थितिमा ठिकै थियाे हाेला । तर, नेपाल एउटा सार्वभाैम सत्तासम्पन्न स्वतन्त्र राष्ट्र थियाे, जसकाे आन्तरिक निर्णय थियाे त्याे र बृटिस अतिक्रमणपछिकाे लामाे दासताबाट संक्रमित राेगले नेहरु जस्ता प्रखर बुद्धि भएका मानिइने व्यक्तित्व पनि मुक्त रहेनछन भन्ने आलाेचनाले साे भनाइलाई इण्डियाभित्रै ल्याङफ्याङ पारेकाे थियाे – जसकाे दच्काेले फेरि इण्डियन शासकहरूले अर्काे हस्तक्षेपकारी बाेली वि.सं. २०४५ सालसम्म बाेल्न सकेका थिएनन् । धेरै पछिका इण्डियन प्रधानमन्त्री माेरारजी देसाईले इण्डियाका विभिन्न प्रान्तमा पुस्ताैपुस्तादेखि बसेका नेपालीलाई ‘इण्डियन हाेइनन् – विदेशी हुन् ‘ भनेर वेहद हेपेका थिए । त्याे विषालु भनाइले नेपाललाई डहेन ! बरू  अनेपाली इण्डियन बुद्धिजीवीहरूले धुँवादार विराेध गरेका थिए र इण्डियन नागरिक रहेका तत्काल लगभग ९० लाख नेपाली जातिकाे नागरिकताका साथै अधिकारमा खुनखाेट लाग्नबाट बचाएका थिए । त्यस घटनामा सीताराम यचुरीकाे अगुवाई वास्तवमै प्रशंस्य थियाे ।

अतः  इण्डियन जन-अतिक्रमणले क्रमशः विनाशकारी आँधीकाे रूपमा नेपाल भूमि  कुल्चिँदै लगिरहेकाे छ । चुनावहरूमा ‘भाेट’-सँग ‘नेपाली नागरिकता’ साट्ने नेता-अगुवाहरूका ठस्स गन्हाउने स्वार्थले ‘देशमा विदेशी (खासगरी इण्डियन)-काे रगरगी र चलखेल’-ले काेरलिरहेकाे  भविष्यघाती  जनसांखिक, सांस्कृतिक र प्कारान्तरले राजनीतिक अतिक्रमणकारी समस्या इण्डियाका लागि ‘केकाे पुच्छर काटे केलाई सजिलाे’ भने जस्ताे भई विस्तार भइरहेकाे  छ । यस्ताे समस्या झेलिरहेकाे देशकाे शासक-मण्डलमा पालाे फेरिरहेका नेता-नायक-मुखियाहरू किंवा तथाकथित राजनेताहरू (?)-ले, थप पराया शक्तिकेन्द्र रिझाउन  आफ्ना हितचिन्तकलाई समेत चिनेकाे भइदिनेसम्मकाे सामान्य नैतिक बल पनि गुमाएकाे देख्नु परिरहेकाे अवस्था  छ अहिले । यसकाे ताजा उदाहरण बनेकाे छ नेपाल राष्ट्रका असल मित्र सीताराम यचुरीकाे स्वर्गवास हुँदाकाे ‘ओैपचारिक माैनता’ ! अझ नेपाली कम्युनिस्टहरूबाट यचुरीकाे अवसानप्रतिकाे ‘माैनता’ त झन आश्चर्यलाग्दाे नै छ !

इण्डियन कम्युनिस्ट पार्टी (मार्स्कवादी)- का महासचिव सीताराम यचुरीकाे यही सेप्टेम्बर १२ तारिख (०८१/ भदाै/२७ गते) ७२ वर्षकाे उमेरमा निधन भएकाे थियाे । इण्डियन सञ्चार माध्यमहरूका अनुसार यचुरी परिवारले उनकाे पार्थिव शरीर एम्स अस्पताललाई नै दान गरेका छन् ।क इमान्दार राजनीतिज्ञर क्रान्तिकारी नेता उनी मुठ्ठीभरका लागि नभई सबैका हितमा काम गर्ने अतुल स्वतन्त्र र ‘समाजवादी इण्डिया’-का स्वप्नद्रष्टा थिए ।

सम्पन्न पारिवारिक पृष्ठभूमिबाट आएका विद्वान नेता यचुरीले विरासतकाे सुखसयल त्यागेर ‘जनता’-का लागि काम गर्ने संघर्षकाे जीवन राेजेका थिए , जाे ‘कम्युनिस्ट’-का लागि याे समय-सन्दर्भमा अनुशरणीय थियाे भनेर विश्वमै टिप्पणी उठेकाे छ ।

२०६२/०६३-काे जनआन्दाेलनपछि नेपालमा प्रकीर्ण अन्याेलले  द्रवीभूत  राजनीतिक संक्रमणकालका कतिपय अप्ठ्याराहरू सुल्झाउने कामयाव सल्ला-सहयाेग  र परिवर्तित राज्यव्यवस्थाकाे अनुकूल संविधान जारी भए लगत्तै इण्डियाले लगाएकाे नाकाबन्दीकाे विराेधमा इण्डियाकाे संसद (लाेकसभा)-मै बुलन्द आवाज आदि , जाे नेपालकाे हितमा परिणाममुखी बनेका थिए ।  यी दुई घटनाले परिवेष्टित कालखण्डका कथाहरूमा  ‘नेपाललाई सबभन्दा बढी राजनीतिक न्यायभावले निरपेक्षरूपमा सम्झिने’ र आफ्नाे आवाज इण्डियन नीति-निर्माणस्थलकै बलिवेदीमा घन्काउने इण्डियन पात्र थिए – सीताराम यचुरी । उनले इण्डियाकाे संसदमै विदेशमन्त्री सुष्मा स्वराज, विदेश सचिव एस. जयशंकरसहित  इण्डियाकाे सबभन्दा शक्तिशाली ‘साउथ ब्लक’-का पदाधिकारीहरू जुटाउने सामर्थ्य राखेका थिए । र, ‘एउटा सार्वभाैम छिमेकीकाे संविधानसहितकाे आन्तरिक मामलामा प्रश्न उठाउने हामी काे हाैं ? कुनै पनि स्वतन्त्र देशका बारेमा डेउढा  प्रश्नहरू  गरिरहने तरिका हाम्राे जस्ताे लाेकतान्त्रिक देशलाई सुहाउने कुरा हाे ? नेपालबारे निर्णय नेपाल आफैले लिन्छ । न हामीले हस्तक्षेप गर्न मिल्छ न नचाहिंदाे प्रभाव देखाएर तर्साउन मिल्छ । – आदि चर्काे  स्वरले थर्काएका थिए ।

इण्डियामा, सन् १९९६ मा एच.डी. देवगाैडा नेतृत्वकाे र साेही साल इन्द्रकुमार गुजराल नेतृत्वकाे तथा  सन् २००४ मा मनमाेहन सिंहकाे सरकारहरू बनाउँदा सीताराम यचुरीकाे पहललाई ती कालखण्डकाे इण्डिया सम्झिनेहरूले उपल्लाे महत्वका साथ उल्लेख गर्ने  गरेका त्यहाँका सूचना माध्यमहरूबाट बारम्बार पढ्न-सुन्न पाइन्छ । याे प्रसङ्ग यहाँ किन गाँसिएकाे हाे भने – ती तीन प्रधानमन्त्रीकालमा इण्डियाकाे नेपालका आन्तरिक निर्णयहरूमा , तुलनात्मक रूपमा, एकदमै कम हस्तक्षेप भएका थिए – जाे भए ती प्रान्तीय सरकारहरूका मातहत  सीमाक्षेत्रमा सीमित थिए । याे पनि नेपालले सीताराम यचुरीका ‘गुण’-मा जाेडेर आभार हुने विषय हुन पर्दथ्याे ।

अतः नेपालका निम्ति यस्ता गुणकारी इण्डियन राजनीतिक नेताकाे निधनमा ‘नेपालकाे याे वर्तमान’-ले ओैपचारिक रूपमा सम्झिनेसम्मकाे सदाशय देखाएन । ‘नेपालकाे याे दुर्भाग्यपूर्ण  वर्तमान’ हाँकिरहेका सारथिहरू,  गर्धनका नसा फुलाएर एकारकाकाे उछिताे काड्नमै व्यस्त छन् !  ‘आफ्नाहरू’-काे ‘भलाे’  नै प्रकारान्तरले ‘जगतकाे भलाे’ ठान्न र तदनुरूप भाष्य निर्माणमा अनुरक्त छन् !  देशवासीका राेदन-क्रन्दन ढाकछाेप गर्न खातिर हावादारी भाषणबाट  समय निकाल्नसम्म हम्मे-हम्मे भइरहेका बेला तिनलाई कहाँ सीताराम यचुरीकाे गुण सम्झिरहन फुर्सद हुनु  ! …..कुराे अरु नै केही  हुन सक्ला र यहाँमा ‘नेता’ टाँचावालहरूले जानाजान वा ‘निर्देशन’ तामेल गर्दै सम्झिन नचाहेका  हुनन्  !