प्रधानमन्त्री ओलीसँग एमसिसीका कार्यकारी प्रमुखको भेटवार्ता

प्रधानमन्त्री ओलीसँग एमसिसीका कार्यकारी प्रमुखको भेटवार्ता


संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का कार्यकारी प्रमुख एलिस अल्ब्राइटले शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीसँगको भेटका अवसरमा परराष्ट्र सचिव सेवा लम्साल, संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी थिए ।

यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीले आज ‘वर्ल्ड ट्रेड सेन्टर’ क्षेत्रस्थित ‘सेप्टेम्बर ११ राष्ट्रिय स्मारक केन्द्र’मा पुगेर मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । उक्त स्मारकलाई ९∕११ स्मारकका रूपमा चिनिन्छ ।

सन् २००१ मा अल क्वाइदासम्बद्ध आतङ्ककारी समूहले अपहरण गरेको दुई वटा हवाइजहाज ट्वीन टावरमा ठोक्किँदा दुई हजार नौ सय ७७ जनाको दुःखद् निधन भएको थियो । उक्त स्थानमा हाल सङ्ग्रहालय र वाटर पार्क निर्माण गरिएको छ । स्मारकमा मारिकाहरू सबैको तस्बिर र विस्तृत विवरणसहित विद्युतीय अभिलेख राखिएको छ ।

प्रधानमन्त्री ओलीलाई सङ्ग्रहालयका अधिकारीहरूले उक्त आततायी घटना र त्यसका अवशेषहरू समेटेर बनाइएको अत्याधुनिक सङ्ग्रहालयबारे अवगत गराएका थिए ।

photo: rss