रेड नोटिस जारी भएका तीनजना दुबईबाट पक्राउ

रेड नोटिस जारी भएका तीनजना दुबईबाट पक्राउ


विभिन्न अपराध गरेर फरार रहेका तीन जनालाई रेड नोटिस जारी गरेर दुबईबाट पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा ठगी मुद्दाका प्रतिवादीहरू पाँचथर मिक्लाजुङ गाउँपालिका-४ ठेगाना भएका ४२ वर्षीया भुपेन्द्र बोहोरा र काठमाडौं नागार्जुन नगरपालिका-९ का २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकी तथा जबरजस्ती करणी कसूर मुद्दाका प्रतिवादी मकवानपुर इन्द्रसरोवर गाउँपालिका-५ घर भइ हाल काठमाडौं चन्द्रागिरी नगरपालिका-१० बस्ने २६ वर्षीय रोमन कार्की रहेका छन् ।

प्रहरीले उनीहरूलाई बुधबार नेपाल फिर्ता ल्याएको छ । पक्राउ परेकामध्ये भुपेन्द्र बोहोरालाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट अनुरोधपछि इन्टरपोल महासचिवालयबाट २०७९ जेठ १६ गते रेड नोटिस जारी भएको थियो ।

यस्तै काठमाडौं उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा रानीपोखरीबाट अनुरोध भएपछि इन्टरपोल महासचिवालयबाट २०७० साउन २४ गते कबिर बुढाथोकी र २०८१ असार १२ गते रोमन कार्की विरुद्द रेड नोटिस जारी भएको थियो ।

भुपेन्द्रलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोमा तथा कबिर र रोमनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।