मन्त्री डा. राणा र राष्ट्रसङ्घीय उपमहासचिव भेटवार्ता

मन्त्री डा. राणा र राष्ट्रसङ्घीय उपमहासचिव भेटवार्ता


परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र राष्ट्रसङ्घीय उपमहासचिव तथा ‘युएन वुमन’की कार्यकारी निर्देशक सीमा समी स्कन्दर बहुसबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुने क्रममा हाल न्युयोर्कमा रहनुभएकी परराष्ट्रमन्त्री डा. राणा र उपमहासचिव सीमाबीच बिहीबार भेटवार्ता भएको हो ।

सो भेटका क्रममा मन्त्री डा. राणाले महिला सशक्तीकरणका क्षेत्रमा युएन वुमनले विश्वमा पुऱ्याउँदै आएको योगदानको प्रशंसा गर्नुभएको थियो ।

साथै मन्त्री डा राणाले नेपाल पनि लैङ्गिक समानताका क्षेत्रमा युएन वुमनसँग मिलेर गर्दै आएको कार्यको स्मरण गर्दै आगामी दिनमा थप प्रवर्धन गर्न सदैव तत्पर रहेको बताउनुभएको थियो ।

त्यस अवसरमा मन्त्री डा राणाले नेपालले महिला सशक्तीकरण, लैङ्गिक समानता, शिक्षा, रोजगारी, उद्यमशीलता तथा अन्य आवश्यकताका क्षेत्रमा महिलाहरुलाई समान अधिकार प्रदान गरिरहेको जानकारी कार्यकारी निर्देशक बहुसलाई गराउनुभएको थियो ।

सो भेटका क्रममा लैङ्गिक समानता र महिला अधिकारका लागि नेपालमा भएको लामो सङ्घर्ष तथा आफ्नो सक्रिय सहभागिताका बारेमा पनि मन्त्री डा. राणाले उहाँलाई जानकारी गराउनुभएको थियो ।

आगामी दिनमा पनि लैङ्गिक समानता र महिला सशक्तीकरणका क्षेत्रमा युएन वुमनले नेपाललाई सहयोगका साथै यस विषयमा नेतृत्व प्रदान गर्ने अपेक्षा गरिएको सो भेटमा मन्त्री डा. राणाले बताउनुभएको थियो ।