श्रीलङ्काका पूर्वराष्ट्रपति गोटावाया राजापाक्षलाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ । शुक्रबार लुम्बिनी पुग्नुभएका उहाँलाई कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले स्वागत गर्नुभयो ।
भेटमा उपाध्यक्ष डा. लामाले श्रीलङ्कासँग नेपालको सम्बन्ध निकै पुरानो रहेको स्मरण गर्दै बुद्धजन्मस्थल लुम्बिनीले उक्त सम्बन्ध थप प्रगाढ बनाएको बताउनुभयो । डा लामाले लुम्बिनी क्षेत्रमा शाक्यमुनि बुद्धसँगै कक्रुछन्द र कनकमणि गरी तीनवटा बुद्धको जन्म भएकाले निकै महत्वपूर्ण स्थल रहेको उल्लेख गर्नुभयो ।
उपाध्यक्ष डा. लामाले लुम्बिनीलाई लक्षित गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान हुनुपर्नेमा जोड दिनुभयो । त्यस अवसरमा पूर्वराष्ट्रपति राजापाक्षेसँगै नेपालका लागि श्रीलङ्काका राजदूत सुदर्शना पाथिराना पनि हुनुहुन्थ्यो । पूर्वराष्ट्रपति राजापाक्षेत्रलाई कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्यसचिव सानुराजा शाक्य, योजना प्रमुख स्मिता भट्ट, वरिष्ठ निर्देशक ज्ञानिन राईलगायतका कर्मचारीहरूले स्वागत गर्नुभयो ।
वरिष्ठ निर्देशक ज्ञानिन राईले श्रीलङ्कन मन्दिरको पुनःनिर्माणका लागि अनुरोध गर्नुभयो । स्वागत कार्यक्रमपछि पूर्वराष्ट्रपति राजापाक्षेले मायादेवी भ्रमण गर्नुभयो । पूर्वराष्ट्रपतिले महत्वका साथ मायादेवी भ्रमण गर्नुभएको सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले बताउनुभयो ।
परिवारसहित नेपाल आउनुभएका राजापाक्षेले लुम्बिनीमा शान्तिको कामना गर्दै दीप प्रज्वलन पनि गर्नुभयो । उहाँले बुद्धजन्मस्थल लुम्बिनीमा पाइला टेक्न पाउनु जीवनकै ठूलो उपलब्धि भएको बताउनुभयो । राजापाक्षेले मायादेवी मन्दिर, जन्मस्मारक शिला, मायादेवी मूर्ति, पुष्पकरणी पोखरी, अशोकस्तम्भबारे पनि जानकारी लिनुभएको थियो ।
photo: rss
प्रतिक्रिया