उद्धारकर्ता चणिकलाललाई प्रचण्डले गरे सम्मान

उद्धारकर्ता चणिकलाललाई प्रचण्डले गरे सम्मान


शनिबार नख्खुखोलाको बाडीमा बगेका दुई जनाको उद्धार गर्ने साहसी युवा चणिकलाल तामाङलाई पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्मान गरेका छन् । आफ्नै निवास खुमलटारमा बोलाएर उनले तामाङलाई सम्मान गरेका हुन् ।

तामाङले ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाएका थिए । टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरु टहरासँगै बगेका थिए ।

खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुऱ्याएपछि तामाङले उर्लंदो भेलमा हाम फालेर दुई जनाको उद्धार गरेका थिए । उद्धार गरिएका दुवै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ ।

तामाङलाई सम्मान गर्दै अध्यक्ष प्रचण्डले सरकारले गर्न नसकेको काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा बधाई तथा धन्यवाद दिए । संकटको बेला नै बहादुरहरुको जन्म हुने भन्दै उनले तामाङलाई ‘साहसी युवा’को रुपमा सम्मान गरिएको उनको भनाइ छ । अहिले तामाङको देशबिदेशमा चर्चा भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तामाङ आफ्नो पार्टीकै युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा खुशी लागेको बताए ।

काभ्रेको तेमाल गाउँपालिका ९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट शहीद परिवारका सदस्य हुन् ।

सो क्रममा तामाङले आफू बिहान खोला हेर्न पुगेको बेलामा मान्छे बगेको देखेपछि तत्काल हाम फालेर उद्धारमा लागेको जानकारी दिँदै उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकोमा खुशी लागेको बताए ।