दुई अर्ब ५० करोड अपचलन गरेका नगरप्रमुख नेपालीलाई अदालत पेस

दुई अर्ब ५० करोड अपचलन गरेका नगरप्रमुख नेपालीलाई अदालत पेस


सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परेका बागलुङ ढोरपाटन नगरपालिकाका नगरप्रमुख इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई जिल्ला अदालत बागलुङमा पेस गरिएको छ ।

१६ महिनादेखि फरार नेपालीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले गत शनिबार भारतबाट पक्राउ गरी नेपाल ल्याएको थियो । काठमाडौंबाट आइतबार बागलुङ पुऱ्याइएका नेपालीलाई म्याद थप गरी बयान लिइने जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी सुनिल शर्मा चिलवालले जानकारी दिए ।

चिलवालका अनुसार उनलाई सोमबार (१४ असोज) जिल्ला अदालत बागलुङ पेस गरिएको छ ।

मेयर नेपालीलाई खोज्न गत माघमा ‘रेड कर्नर नोटिस’ जारी भएको थियो । नेपाल प्रहरीले भारतस्थित नेपाली दूतावासमार्फत समन्वय गरेर उनलाई नेपाल ल्याइएको हो ।

सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालक विरुद्ध कास्कीका पाँच सय २४ र बागलुङका एक हजार पाँच सय ४३ बचतकर्ताले गत वर्षको जेठमै उजुरी दिएका थिए ।

देवकुमारलाई पक्राउ गरी बागलुङ लगिएसँगै बचतकर्ताले आफ्नो रकम फिर्ता पाउने आशा गरेका छन् । नगरप्रमुख नेपालीले बागलुङ र पोखराका गरी दुई अर्ब ५० करोड बढी बचत रकम अपचलन गरेको आरोप छ ।