विपदमा परी दुई सय १७ को मृत्यु, २८ जना बेपत्ता

विपदमा परी दुई सय १७ को मृत्यु, २८ जना बेपत्ता


यही असोज १० गतेदेखि १२ गतेसम्म देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या २१७ पुगेको छ भने २८ जना बेपत्ता छन् । प्राकृतिक विपदमा एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका छन् ।

खोज तथा उद्धारकार्य जारी रहँदा सोमबार (१४ असोज) नेपाली सेनाको हेलिकप्टरबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, ललितपुरलगायत स्थानबाट घाइते, बिरामी तथा अलपत्र परेका ४२५ जनाको उद्धार गरिएको गृहप्रवक्ता तिवारीको भनाइ छ ।

मन्त्रालयले अवरुद्ध सडक, विद्युत्, टेलिफोनलगायत अत्यावश्यक सेवाहरू शीघ्र सञ्चालन गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको तथा खोज र उद्धारकार्यलाई आवश्यकतानुसार सुरक्षा निकायबाट निरन्तरता दिइएको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय निकाय र लजिष्टिक क्लष्टरका साझेदार संस्थासँग बैठक गरी राहत सामग्रीको स्टक लिने र वितरणका लागि नक्साङ्कन गर्ने कार्य भइरहेको तथा सबैखाले राहत सामग्री एकद्वार प्रणालीमार्फत वितरण गरिने गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षा निकाय र सडक विभागसँगको समन्वयमा अवरुद्ध राजमार्ग सूचारु गर्ने, तत्काल सूचारु गर्न नसकिने सडकको हकमा वैकल्पिक मार्ग व्यवस्थापन गरी सवारी आवागमन सहज बनाउने कार्य भइरहेको छ । सङ्घ, प्रदेश र स्थानीय तहका सम्बद्ध निकायबाट विपद् प्रभावितलाई आपतकालीन राहत शीघ्र उपलब्ध गराउने व्यवस्थाका लागि समन्वय गरिएको छ ।’

photo: rss