सरकारद्वारा तीन दिन राष्ट्रिय शोकको घोषणा

सरकारद्वारा तीन दिन राष्ट्रिय शोकको घोषणा


बाढी पहिरो र डुबानबाट दुई सयभन्दा धेरैको मृत्यु भएपछि सरकारले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।

सोमबार (१४ असोज) बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोकको घोषणा गर्दै तीन दिन राष्ट्रिय झन्डा झुकाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बैठकपछि जानकारी दिएअनुसार सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १ अर्ब जम्मा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब तथा सेवा सुविधा कोषमा जम्मा गर्ने निर्णय भएको पनि प्रवक्ता गुरुङले जानकारी दिएका छन् ।

त्यस्तै, बैठकले अवरुद्ध भएका सडक तत्काल सञ्चालन गर्नका लागि पहल गर्ने, महँगी तथा कालोबजारी नियन्त्रणमा कडाई गर्ने निर्णय गरेको उनले बताए ।

असोज १० गतेदेखि भएको वर्षका कारण आएको बाढी र पहिरोले अहिलेसम्म २१७ जनाको मृत्यु भएको छ ।