बेलायतमा सारङ्गी र टुंग्नाको धुनमा कविहरूले सुनाए कविता

बेलायतमा सारङ्गी र टुंग्नाको धुनमा कविहरूले सुनाए कविता


बेलायतको एल्डरसटमा आठ जना कविले सारङ्गी र टुंग्नाको मधुर धुनमा कविता वाचन गरेका छन् । गत साता आयोजित कार्यक्रममा आठ कविले एउटै मञ्चबाट २४ थान कविता सुनाएका हुन् ।

पहिलोपटक भएको ‘काव्य-सन्ध्या’ नामक कार्यक्रम नितान्त अनौपचारिक शैलीको थियो । अर्थात्, कोही पनि सभापति वा अतिथि थिएनन् । दुईघन्टा चलेको कार्यक्रममा मात्र कविता वाचन र संगीतको प्रस्तुति गरिएको थियो ।

कविहरू खुपेन सुनुवार, काङमाङ नरेश राई, जीवन तिवारी, डा. सङ्गीता स्वेच्छा, डा. रूपक श्रेष्ठ, निर्भीकजंग रायमाझी, शान्ति लिम्बू तथा मुकेश राईले कविता सुनाउँदा संगीतकार रोशन महर्जनले सारङ्गी र टुंग्ना बजाइरहेका थिए । उद्घोषण तथा कविहरूलाई मेन्टरिङको काम भने साहित्यकार केदार संकेतले गरे ।

साहित्य संगालो, बेलायतुको संयोजनमा भएको कार्यक्रमको अन्त्यमा डा. सङ्गीता स्वेच्छाको ‘रोजेज ओडिसि’, शान्ति लिम्बूको ‘कस्तुरी यात्रा’ र काङमाङ नरेश राईको ‘पानी पतिया’ कृतिहरूको बिक्रि तथा पुस्तक हस्ताक्षर गरिएको थियो ।