संसारका प्राणीहरू सबैको जीवनकाल छ । आहार, निन्द्रा, भय र मैथुन सबै प्राणीमा छ । आफ्नो प्रकारको आवास, क्रिडा, समाज, स्नेह, माया, अहंकार प्राणीहरूमा छ । तर, मानिसको जीवन अरु प्राणीको जीवन भन्दा के-के कुरामा फरक छ ? मानव भएर हामीले यो फरक के हो र, केका लागि हो भनेर बुझ्नैपर्छ ।
✍ डा. रणबहादुर चन्द
प्रकृतिका तत्वको समिश्रणबाट अदृश्य शक्तिको संयोजनमा हाम्रो शरीरको रचना भएको छ । भगवानको अंश (आत्मा) हाम्रो शरीरमा छ । यो कर्मप्रधान संसार, जहाँ कर्म गरेर जे पनि पाइन्छ, त्यसैले भगवानले आफ्नो सर्वोत्कृष्ट कर्मयोगी अवतार मानवको श्रृष्टि गरेको होला ।
भनिन्छ, स्वर्गमा आफ्नो कर्मबाट आर्जित फलको भोग गर्नेमात्र सुविधा छ । कर्म गर्ने अवसर पृथ्वीलोकमा मात्रै छ त्यो पनि मानव जुनीमा मात्र सम्भव छ । ईश्वरको चाहना हो कि मानवले पृथ्वी लोकमा भगवानको चाहना बमोजिम कार्य गर्दै जाओस्, जसबाट ईश्वर आफ्नो कल्पनाअनुसारको परिक्षणमा सफल होस् ।
हाम्रो जीवन ईश्वरको योजनावद्ध कार्यको फल हो । मानिसको शरीर हुन्छ,शरीरमा आत्मा र हृदय हुन्छ । आत्मा, हृदय र मस्तिष्क एक प्रकारको यस्तो प्रणाली हो जुन आफ्नै शैलीअनुसार कार्य गरिरहेका हुन्छन् । मानिसको शरीर, आत्मा र हृदयको बारेमा परिकल्पना यस्तो हुन सक्छ ।
यो भौतिक शरीर हामीले मातृभूमि र प्रकृतिबाट ऋणलिएका तत्वहरूको संयोजनबाट बनेकोछ । ऋण लिएका वस्तुहरू यस लोकबाट आफूसँगै परलोकमा लिएर जान सकिँदैन, जुन तपाईं हाम्रै आँखाअगाडि सत्य छ । आफूले आफैंलाई सोध्दा पनि जवाफ पाइन्छ कि म भनेको यो शरीर होइन, म शरीर भन्दा पृथक हुँ । शरीर मेरो कार्य यन्त्र हो । यसबाट म कर्मभूमिमा कर्म गर्न चाहान्छु र सक्छु पनि । कुनै पनि कर्म गर्न जानकारी हाँसिल गर्नका लागि यो शरीरमा इन्द्रिय र कर्मेन्द्रियहरूको संरचना राखिएको हो ।
अतः शरीरको सहायताबाट जीवन कालमा केही कर्तब्यहरू पूरा गर्नुपर्छ । जीवनका अनेक कर्तव्यहरू छन् । ती कर्तव्यहरू (जिम्मेवारीहरू) हामीले जीवनकालमा नै पूरा गरेर जान सक्नु पर्दछ । कर्तव्यहरू पूरा गर्न नसकेको जीवन अधुरो हुन्छ । सबै कर्तव्यहरू सफलतापूर्वक सम्पादन गर्न सकेको खण्डमा मात्रै जीवन सफल रहेको मानिनेछ ।
हाम्रो जीवन ईश्वर, माता-पिता, प्रकृति, गुरु, समाज र मातृभूमिद्वारा निर्मित भएको छ । उहाँहरूले हाम्रो जीवनलाई योग्य बनाउन पनि पुरापूर सहयोग गरेकै हुन् । अन्यथा हाम्रो जीवन अहिलेको अवस्थामा सायद हुँदैनथ्यो होला । हाम्रो जीवनलाई योग्य बनाउने ईश्वर, माता-पिता, प्रकृति, गुरु, समाज र मातृभूमिका लागि हामीले केही गर्नु पर्छ कि पर्दैन ? यो विषय सबैका लागि सोचनीय विषय हुनु पर्दछ । पृथक-पृथक रूपमा हामीले आ-आफ्नो स्थानबाट केही गरेका पनि छौँ होला । त्यस पृथक प्रयासले हाम्रो मातृभूमिको सौन्दर्य झल्काउन सकेनौँ, प्रकृतिको सुन्दरता प्रष्ट्याउन सकेनौँ, समाजको उत्थान गर्न सकिएन ।
कसैबाट हामीले केही लिन्छौँ भने हामीमा त्यो ऋण रहन्छ । हाम्रो जीवनको ऋण हामीले जीवन कालमा नै चुक्ता गर्नु पर्दछ, यो पनि हाम्रो एक प्रमुख कर्तव्य हो । जीवनका कर्तव्यहरू निर्वाह गरेर जीवनको ऋण कसरी चुक्ता गर्ने सम्बन्धमा हामि सबै चिन्तनशील हुनु पनि हामी कर्तव्यपथमा अग्रसर हुनु हो । यसकारणले हामी सबैको यस वर्तमान समयमा सबै एकजुट भएर जीवनको कर्तव्य पथमा अगाडी बढी ईश्वर, माता-पिता, प्रकृति, गुरु, समाज र मातृभूमि प्रतिका दायित्वहरू पुरा गर्ने सोंचको परिकल्पना गरिएको छ ।
ईश्वर, माता-पिता, प्रकृति, गुरु, समाज र मातृभूमिबाट निर्मित हाम्रो यस जीवनबाट उहाँहरूको के अपेक्षा होला ? उहाँहरूले अपेक्षा गरे अनुरुपको मार्गमा हामीले जीवनका कर्महरू पनि गर्नु पर्दछ होला । सबैको जीवन काल सर्वोत्कृष्ठ कर्ममा मात्रै लागोस भन्ने अपेक्षा गरिएको हुन्छ । जीवनको उद्देश्य नै ‘सफल जीवनको उपलब्धि’ हो । संसारका प्राणीहरू सबैको जीवनकाल छ । आहार, निन्द्रा, भय र मैथुन सबै प्राणीमा छ । आफ्नो प्रकारको आवास, क्रिडा, समाज, स्नेह, माया, अहंकार प्राणीहरूमा छ । तर, मानिसको जीवन अरु प्राणीको जीवन भन्दा के-के कुरामा फरक छ, मानव भएर हामीले यो फरक के हो र, केका लागि हो भनेर बुझ्नैपर्छ । पहिलो फरक मानिसको मस्तिष्क अरु प्राणीको भन्दा बढी विष्लेशण गर्न सक्छ, बढी बिवेक छ, दोस्रो फरक उत्कृष्ठ संचार क्षमता छ, यो यथार्थ परक तर्क हामीले गर्न सक्छौं । तर के यस फरकबाट हामीले हाम्रो जीवन सफल बनाउन सकेका छौं ? वा हामी पनि अरु प्राणीले जस्तै खाने, डुल्ने, आराम गर्ने, बच्चा जन्माउने, घर बनाउने र अहंकार, काम, क्रोध, लोभ, मोहमा मात्रै सीमित राखी समय व्यतीत गरिरहेका छौं ? मानवजीवनका निर्देशित लक्ष्यहरू के होलान् ?
सृष्टि एउटा विधान, नियमअनुसार चलिरहेको छ । यो मानिसको क्षमताबाहिरको संयोजन हो । यसमा हामी न केही परिवर्तन गर्न सक्छौं, न यसलाई चलाउन नै सक्छौँ । यो सृष्टिमा मानिसको जीवन पनि ईश्वरको योजनावद्ध कार्यको फल हो । मनुष्य जीवन अति विशिष्ट बनाउन हामीलाई भगवानले मानिसको चोलामा जन्माएको हो तर जीवनको रचना मात्र अति विशिष्ट होइन, यसलाई कर्मद्वारा हामीले अति विशिष्ट बनाउनु पर्दछ । हामीमा कर्म गर्ने क्षमता निहित गरिएको छ । हामी कर्मयोगी प्राणी हौँ । हामीले ईश्वरको चाहनालाई साकार पार्न मानव जीवनका लागि निर्देशित कर्महरू गर्नु पर्दछ । ईश्वरको ईच्छा पनि यही हो, जुन हाम्रो कर्तव्य हो । यस लोकमा सत्य कामहरू भइरहेका छन । कर्म गरे सोअनुसारको फल पाइन्छ नगरे सो अनुसारको फल पाइन्छ ।
मानिसलाई विवेक र संचार क्षमतायुक्त बनाइ अरु प्राणीभन्दा फरक गरेको छ । हुन सक्नेसम्मको राम्रो काम गर्नु भनेर नै भगवानले हाम्रो आत्मालाई मानिसको चोलामा जन्माएको छ । यो माटोले हामीलाई पालेको छ । भगवानको चाहनाअनुरुप पनि यस धर्तीमा राम्रा कामहरू गर्न हामीले मानवीय क्षमताको सही सदुपयोग गर्नै पर्दछ । जीवनकालमा मानवीय जीवनका कर्तव्यहरू पुरा गर्नु पर्दछ ।
आजको विश्वमा नेपाल किन पिछडिएको होला ? हाम्रा पुर्खाहरूदेखि अहिलेसम्म कति पुस्ता भए होलान्, कल्पना भन्दा बाहिर छ । के हामीहरू पशुजस्तै जीवन यापन गर्ने प्राणीका सन्तान हौँ त ? अवश्य पनि होइनौँ । प्रकृतिले माया गरेको देश नेपाल हो । यस भन्दा अति धेरै विकट हावापानी र भू-भाग भएका देशहरू आज विकासको अग्र पङ्क्तिमा छन् ।
नेपालको हाम्रो मातृभूमि, प्रकृति, नेपाली समाज, सर्वोत्कृष्ट देखिउन् भन्ने चाहना हामी सबैको हुनु पर्दछ । त्यसका लागि हामीले आ-आफ्नो स्थानबाट के कार्यहरू गरेका छौँ । हामीले गरेका कर्महरूबाट समग्र चाहनाको परिपुर्ति हुने मुल कर्मधार बनेको छ त ? यदि छैन भने हाम्रो चाहना पूरा हुन कर्महरूको मुलधार बन्नुपर्छ बनाउनै पर्दछ ।
माथिको खण्डबाट हामिलाई जानकारी भयो कि मानिस अन्य जनावरहरू भन्दा दुईटा फरक क्षमताले भिन्न छ । ती के भने मानिसमा संचारक्षमता अन्य जनावरहरूको तुलनामा विशिष्ट श्रेणीको छ, अर्को क्षमता भनेको मानिसको विवेक अरु प्राणी भन्दा बढी र फरक छ । मानिस यिनै दुईटा क्षमताको कारण विशिष्ट प्राणी हुन पुगेको छ । मानिसले यी दुईटा औजारको जीवनमा सदुपयोग गरी रहनु पर्दछ । मानिसले यि औजारहरूको प्रयोग जीवनका कर्तब्यहरू पूरा गर्न, सत-कार्यहरू गर्न, हाम्रा जीवनका दायित्वहरूमा कृतिहरू छोड्नका लागि पुरापुर प्रयोगमा ल्याउनु पर्दछ ।
प्रतिक्रिया