ससुराले मप्रति देखाउने माया-ममताले बुबाको अनुहार झल्झली ससुरामा देख्न थालेँ । ससुराको नजिकै बसेर उहाँको अर्ति-उपदेश सुन्दा माइतीकै आँगनमा बसेको अनुभव हुँदै गयो । माया-ममता भन्ने कुरा पनि अचम्मको हुँदोरहेछ । मैले मेरो बुबाको हरेक सद्गुण ‘ससुरा बा’का ब्यवहारमा देख्न थालेँ ।
✍ सुन्दर शर्मा
मेरो जन्मघर अर्थात् माइती दाङ हो भने श्रीमानको स्याङ्जा बिर्घा हो । ससुरा बाले आफै केटी हेरी ‘ओके’ गरेपछि हाम्रो मागी विवाह भएको हो । हाम्रो विवाह आषाढ १८ मा भएको हो । बुटवलबाट जन्ती गएर बुटवलमै भित्र्याएका थिए मलाईं । त्यसैले आषाढमा बिहे भएपनि दशैको घटस्थापनाको दिन मात्र म स्याङ्जाको मुलघरमा भित्रिएकी थिएँ ।
भित्रिएको भोलिपल्टैबाट ‘भान्सा विभाग’ मेरो भागमा पऱ्यो । नयाँ बुहारीको नाताले मैले त्यो विभागलाईं खुशीका साथ सम्हाल्न कम्मर कसेर लागिपरेँ ।
तृतीयाको दिन घरमा खसी काटेका थिए । म बिहानैदेखि भान्सामा सर्याकसुरुक गर्दै थिएँ… खाना बनाउने मेसोमा । म आफू जन्मदेखि नै माछामासु नखाने भएता पनि मासु पकाउन तम्सेकी थिएँ ।
बाहिर आँगनमा सासू-ससुरा, श्रीमान्, देवर-जेठाजुका साथै टोलका काका, बुवा, दाजुहरू पनि हुनुहुन्थ्यो । यत्तिकैमा ससुराबाले आँगनबाट ठुलो स्वरमा ‘ए सुन्दर… ! बाख्राले न जिउँदोमा पानी खान्छ न मरेपछि, जानेकी छौ नि..’ भनेको सुनेँ । म आश्चर्यचकित भएँ । किनकि, माइतीमा बुबाले सौखको लागि एक जोर खसी जहिल्यै पाल्नुहुन्थ्यो । आमाले चामल धोएको चौलानी–पानी बाटामा जम्मा गरेर बाख्रालाई खुवाउन दिनुहुन्थ्यो । ती खसीले ल्याप-ल्याप गरेर त्यो चौलानी-पानी हाम्रैसामु सिनित्तै पार्थे । बाख्राले पानी खाएको आफ्नै आँखाले देखेकी म, ससुरा बाको कुरा सुनेर जिल्ल परेँ । के भन्न खोजेको हो केही मेसो पाइनँ र, सासुलाईं सोधेँ- ‘बाले के भन्नुभाको हो र आमा.. मैले त केही बुझिनँ नि.. !’
सासू हाँस्दै भन्नूभो– ‘मासु पकाउँदा पानी राखेर पकाउँछेउ कि भनेर त्यसो भनेको हो । बा जहिले पनि भुटेको (कवाफ) रुचाउनुहुन्छ । यहाँ घरका सबैले सुख्खा मासु मन पराउँछन् । त्यसैले तिमी नयाँ मानिस, मासु पकाउँदा पानी नराख्नु है.. भन्नको लागि यस्तो उदाहरण दिनुभाको हो ।’ यसो भन्दै उहाँ हाँस्नुभयो ।
म मनमनै गुन्न थालेँ- जति उदाहरण पस्के पनि बाख्राले पानी नखाइ त कसरी बाँच्न सक्छ र ! आफ्नै हातले माइतीमा कैयौंपटक खसीलाईं पानी खुवाएकी म कसरी ससुरा बाको कुरामा विश्वास गरुँ ?
ससुराको बानी पनि अचम्मलाग्दो थियो । उहाँको दाँत उमेरमै झरेको रे । त्यो समयमा दाँतको उपचारलाईं खासै महत्व नदिने भएरै होला नक्कली दाँत राख्ने झन्झट पनि गर्नुभाको थिएन । तर ती दाँत नभएका गिजाले पनि भुटेको मासुचाहिँ मज्जाले खान सक्ने !
यी बितेका कुराको प्रसङ्ग आज किन झिकेको हो भने आज आश्विन १६ गते ससुरा बा हिमलाल पाण्डेको बर्खी अर्थात् प्रथम पुन्यतिथि । उहाँसँग सम्बन्धित यस्तै रमाइला, ब्यवहारिक, धार्मिक तथा नैतिक ज्ञानयुक्त घटनासहितका प्रसङ्गहरूको सम्झनाद्वारा उहाँलाई श्रद्धाञ्जली चढाउँदै छु ।
मेरो विवाह भएको एक वर्ष नपुग्दै मेरो आफ्नो बुबा परलोक जानुभयो । सुरु-सुरुमा त ससुरा र बुबा एक समान कसरी पो होलान् र भन्ने सोच्ने गर्थें म । तर, केही समयमै ससुरा बाले मप्रति देखाएको सदासयता र स्नेहले मलाई आफ्नो बुबा नभएको अनुभव कम हुँदै गयो । माइतीको बुबाले गर्ने व्यबहार ससुराले गरेको महसूस गर्दै गएँ । घरमा जाँदा पनि ससुराले मप्रति देखाउने माया-ममताले बुबाको अनुहार झल्झली ससुरामा देख्न थालेँ । ससुराको नजिकै बसेर उहाँको अर्ति-उपदेश सुन्दा माइतीकै आँगनमा बसेको अनुभव हुँदै गयो । माया-ममता भन्ने कुरा पनि अचम्मको हुँदोरहेछ । मैले मेरो बुबाको हरेक सद्गुण ‘ससुरा बा’का ब्यवहारमा देख्न थालेँ । उहाँका सुनिरहुँ जस्ता ब्यवहारिक तथा धार्मिक ज्ञानका कुराले ससुराप्रति मेरो आकर्षण र सद्भाव बढ्दै गयो ।
‘आरोह-अवरोह सबैको जीवनमा देखापर्छ छोरी..! यही कठिन अवस्थामा सही बाटो समात्न सकेमात्र जीवनलाई सरल र सुविधायुक्त बनाउन सकिन्छ ।’
‘छोरा भन्दा बुहारीलाई बढी माया गर्नुपर्छ, किनकि उनीहरू बाबुआमाका साथै जन्मघर छोडेर आएका हुन्छन्’ भन्ने उहाँको महान् धारणाले नै मेरो मुटु छोएको थियो । उहाँले बुहारीलाई कहिल्यै पनि ‘बुहारी’को रूपमा हेर्नुभएन । सधैं छोरी समान मान्नुभयो ।
यसरी ससुराले हामीलाई उपदेश दिनुहुन्थ्यो- ‘गुण र आचरणको अद्भुत मिश्रण हो ब्यक्तित्व, जसले मानिसलाई परिभाषित गर्दछ । असल ब्यक्तित्वले सम्पुर्ण जीवनलाई पुर्ण बनाउँछ, चाहे त्यो अभावमा किन नहोस् । पारिवारिक शान्ति त्यहाँ मिल्छ जहाँ चरिलाई जीवनको महत्वपूर्ण अङ्ग मानिन्छ ।’
यस्तै–यस्तै जीवनोपयोगी धर्मशास्त्र तथा नीतिशास्त्रका यावत रमाइला कुरा सुन्न हाम्रो आँगन जहिले भरिभराउ हुन्थ्यो । ससुराकै उमेर समूह, दोस्रो उमेर समूह तथा युवा समूह पुस्ताले एकै थलोमा सँगै बसेर विविध घटनामा छलफल तथा ठट्टा-रमाइलो गरेको दृश्य सायद अन्यत्र कतै देख्न पाइँदैन होला । उहाँले युवाहरूलाई पनि बडो महत्व र सम्मान दिनुहुन्थ्यो ।
ससुरा बा जहिल्यै भन्ने गर्नुहुन्थ्यो- ‘मानिस कडा मेहनत, असल चरित्र, त्याग र समर्पणले असल र महान् बन्ने गर्छ । महान् बन्नलाई धनी हुनैपर्छ भन्नेछैन !’ यस्तै महान् विचारले उहाँलाई तात्कालिन समयमा पनि सरकारले जिल्ला सभासद बनाएको थियो ।
मलाई ब्यक्तिगत रूपमा पनि धेरै गुणकारी पाठ पढाउनुभएको छ ससुरा बाले । यसरी अर्थ्याउनुहुन्थ्यो मलाई- ‘आरोह-अवरोह सबैको जीवनमा देखापर्छ छोरी..! यही कठिन अवस्थामा सही बाटो समात्न सकेमात्र जीवनलाई सरल र सुविधायुक्त बनाउन सकिन्छ ।’ आफूले रोजेकाले होला म उहाँको लागि अलिक विशेष थिएँ । उहाँको विचारमा- ‘पुरुष सचेत भएमात्र महिलाले अधिकार र अवसर पाउँछन् !’ यस्तो महान् सोचका धनी हुनुहुन्थ्यो ससुरा बा !
खासै यातायातको सुविधा नभएको तात्कालिन परिवेश, आम्दानीको श्रोतको अभाव, एक्लो काँधमा सम्पुर्ण परिवारको अभिभारा, छोराछोरीको लालनपालनदेखि पठनपाठन लगायतका तमाम दैनिक समस्यासँग एक्लै जुधेर अविचलित भई हिमालसरी अटल रही खरो उत्रनु नै सही अर्थमा उहाँको महानता थियो ।
मृत्यु हुँदाको समयमा जनमानसको बाक्लो उपस्थितिले नै जनाउँछ- ससुरा बा एक असल ब्यक्ति हुनुहुन्थ्यो । यही खारिएको आदर्श जीवनीका कारण उहाँ उदाहरणीय बन्न सक्नुभयो ।
दुई वर्षपहिले बिर्घाका पोषकान्त बाले दशैँमा भनेको कुरा अहिले झल्झली सम्झँदैछु म…, ‘कागतीपाटे दाइ ! म मरे भने तिमी टुहुरो हुनेछौ र तिमी मरे म टुहुरो बन्नेछु ।’
२०८० सोह्रश्राद्धको औँशीको दिनको हाम्रो ससुराको (कागतीपाटे दाइ) आकस्मिक निधनले पोषकान्त बा मात्रै होइन हाम्रो सम्पुर्ण परिवारलाई टुहुरो बनाएको छ ।
सधैं चहलपहल हुने घरको आँगनले ती ठट्याउला पाराका हिमलाल पाण्डेलाई खोजिरहेछ । गाउँको एउटा बलियो खाँबो ढलेको छ । गाउँघरमा सुन्यता छाएको छ । दौँतरिले ‘आइपुग्छ कि त.., बोलाउँछ कि त..’ भन्दै बाटोतिरै आँखा गाढेका छन् ।
घर पुग्दा जहिल्यै बरण्डाको खाटमा बसेका ससुरालाई देख्ने बानी परेका यी आँखाले कसरी विश्वास गर्लान् अब उहाँलाई देख्न पाइँदैन भनेर ।
हाम्रो परिवारको मुल खाँबो ढलेको छ । सबैले खोजी गर्ने कागतीपाटे हिमलाल दाइ अब ‘स्व. हिमलाल पाण्डे’को रुपमा पाउने छौँ ।
आज उहाँको प्रथम पुण्यतिथिमा असीमित सम्झनाका साथै बैकुण्ठप्राप्तिको कामनाका साथ सम्पूर्ण परिवारको तर्फबाट हार्दिक श्रद्धासुमन !
प्रतिक्रिया