कृति चर्चा
✍ भरत कोइराला
‘खगेन्द्र विष्णु फाउण्डेसन’द्वारा हालै प्रकाशित ‘खगेन्द्र सर’ नामक पुस्तक (स्मृति ग्रन्थ) लोकार्पण समारोहमा मित्र नवराज ढकालको निमन्त्रणा पाएर सहभागी हुन पुगेँ । पुस्तकबारे जानकारी दिँदै पत्रकार मित्र तीर्थ कोइराला, साहित्यकार एवम् विश्लेषक केशव दाहाल, न्यायविद् रामप्रसाद श्रेष्ठ तथा अन्य व्यक्तित्वहरूद्वारा समारोहमा व्यक्त भावना सुनेर, अनि कर्मका सहयात्री मित्र नवराजजीको अनुहार नै मिल्ने उहाँका स्वर्गवासी पिताजीको फोटो कभर पेजमा सजाइएको पुस्तक प्राप्तिपछि दिल लगाएर पढेँ ।
नवराजजीकै अग्रसरतामा प्रकाशित ‘खगेन्द्र सर’ किताबभित्र समेटिएका लेखकहरूमध्ये केही मसँग पनि परिचित हुनुहुन्थ्यो । सो पुस्तकबाट सर्वप्रथम मैले खगेन्द्र सरकी श्रीमती विष्णुदेवी ढकाल अनि नवराजजीका माताको ‘के भन्नु मैले अब…?’ बाट शुरु गरेँ । ढकाल परिवारको निकटजन भएकोले होला- जतिपटक र जति पृष्ठ पढ्दै जान्छु, त्यति-त्यति नै भावविह्वल हुन पुगेँ ।
आमाले लेख्नुभएको रहेछ- ‘दुःख-सुख भोगिँदैन झट्टै मरि गए…, एक्लै हुँदा, कुनै गम्भीर कुरामा सँगै हिँड्दा बुझिने गरी गुन्गुनाउने मेरा श्रीमानले साँच्चै नै दुःख-सुखको संसारमा रुमल्लिनुभएन ।’ उहाँले यी कुरा पनि अगाडि भन्नुभएकोरहेछ- ‘बारम्बार गुन्गुनाउने यो गीत मैले म नितान्त एक्लै हुँदा वा धेरै जनाको बीचमा पनि एक्लै हुँदा उहाँको सम्झनामा गुन्गुनाउँछु ।’
भोजपुर याकु (हाल अरुण गाउँपालिका)का मुक्तिनाथ ढकाल तथा श्रीमती लक्ष्मीदेवीका ठाइँला सुपुत्र खगेन्द्रराज ढकालको २००४ साल असोज ४ गते शनिबारका दिन जन्म भइ जन्मथलोमै प्रारम्भिक शिक्षा अध्ययनपश्चात धरानबाट बीए अनि काठमाडौंबाट अङ्ग्रेजी र राजनीतिशास्त्रमा स्नातकोत्तरका साथै कानुनमा बीएल गरी अध्ययनकालदेखि नै शिक्षण पेशामा संलग्न रहनुभएका स्व. ढकाल संयोग र साथीभाइहरूसँगको सम्पर्कले काभ्रेको डेडिथुम्का मावि पुगेर सोही पेशा अँगाल्न पुग्नुभएको रहेछ । तर होनहार प्रतिभाशाली उहाँ २५ वर्ष पनि नपुग्दै दैवको काखमा पुग्नुभएछ ।
खगेन्द्र सरको ज्ञान आर्जनप्रतिको लगाव, शैक्षिक क्षेत्रमा उहाँले छोटै अवधिमा पुऱ्याउनुभएको योगदानले भावी पिँढीलाई अवश्य नै मार्गदर्शकको भूमिका निर्वाह गर्दैछ । स्मृति ग्रन्थमा खगेन्द्र सरका कान्छाभाइ मेरा पुराना मित्र एवम् कुशल राजनीतिज्ञ टंक ढकालले व्यक्त गर्नुभएका भावनाले मेरो पनि मन पग्लियो । राजनीतिमा संलग्न हुन प्रोत्साहित गर्ने खगेन्द्र सर आफूचाहिँ राजनीतिभन्दा ज्ञान आर्जनतर्फ नै ज्यादा झुकाव राख्ने कुरा पूर्वमन्त्री समेत हुनुभएका टंक ढकालले लेख्नुभएको रहेछ । त्यो जमानामा त्यति कम उमेरमै त्यत्रो शैक्षिक योग्यता हासिल गरेर पनि उहाँले न्या वा निजामति क्षेत्रभित्र प्रवेश गरेर ठूलो मान्छे हुने चाहना राख्नुको सट्टा शैक्षिक क्षेत्रकै सेवा गर्ने लक्ष्य राखेर काभ्रेको त्यो स्थानमा अध्ययन गर्न पुग्नु भनेको साँच्ची नै आदर्शवान व्यक्तिका रूपमा हामीले लिनुपर्दछ ।
प्रस्तुत स्मृति ग्रन्थमा ‘खगेन्द्र विष्णु फाउण्डेशन’ परिवारका सदस्यहरू, आफन्तजनहरू, समकालिन साथीहरू काभ्रे विद्यालयका शिक्षक तथा संगत गरेका मित्रहरू लगायत साठी जनाले खगेन्द्र सरका बारेमा आफ्ना विचार, आफूले पाएको माया, ममता, उपदेश, निर्देशन, सुझाव आदि कुराको मन्तव्य राख्नुभएको रहेछ । यसै सन्दर्भमा आफ्ना ठाइँला दाजु खगेन्द्र सरप्रति टंक ढकालले यसरी पनि सम्झनुभएको रहेछ- ‘म संसारका जुनसुकै कुनामा र जस्तोसुकै परिस्थितिमा रहेपनि प्रत्येक दिन ठाँल्दाजुलाई सम्झन्छु । मिलेसम्म दिनको दुई पटक नत्र एक पटक पितृहरूलाई जलार्पण गर्ने बेलामा बुबापछि उहाँकै याद आउँछ । पितृ हुनुभएका अरु दाजुहरू धेरै पछिसम्म यो धर्तीमा हुनुहुन्थ्यो । तर, ठाँल्दाजु भने बुबाभन्दा ३३ महिनापछि नै स्वर्गबास हुनुभएकाले पनि होला उहाँको स्थान मेरो मनमा अलग्गै छ । मैले सपनामा बारम्बार दर्शन पाउने पितृमा उहाँ नै एक्लो हो ।’
खगेन्द्र सरकी श्रीमती अर्थात् आफ्नी भाउजुका बारेमा पनि उहाँ भन्नुहुन्छ- ‘आफ्ना श्रीमान र छोरा दुवैलाई पढ्न प्रेरणा दिने र पढाउने मेरी भाउजु महान् हुनुहुन्छ । दाजुको आशीर्वादको प्रभावको सामर्थ्यले होला एउटा असरल आमा र बुबाको भूमिकामा अब्बल दायित्व निर्वाह गर्नुभएकी भाउजु अरु महिलाका निम्ति पनि प्रेरणाकी श्रोत हुनुहुन्छ ।’
आफ्ना बुबा परलोक हुनुभन्दा केवल पाँच महिनाअघि जन्मनुभएका एकमात्र सन्तान नवराज एक कुशल र असल नागरिकको रूपमा स्थापित भएको मैले पाएँ । उहाँ लेख्नुहुन्छ- ‘मेरो जीवनकै अत्यन्त महँगो शब्द बाबा हो ।’ सानैमा भएपनि एकअर्कालाई देख्न/भेट्न नपाएका नवराजजी भन्नुहुन्छ- ‘हाम्रो अनुनय, रोदन र प्रार्थनाले प्रभावित बनेर पिताजी फर्केर आब यो धर्तीमा त आउनुहुन्न । मानव मन न हो- कहिलेकाहीँ मलाई उहाँको काख, न्यानो स्नेह र छहारी मिलेको भए… भन्ने लागिरहन्छ । बैकुण्ठपुरीमा आनन्दमय निवास गर्नुभएका पिताजीको दिब्य कृपादृष्टि सदैव रहिरहनेछ भन्ने लागिरहन्छ ।’
‘बुबाका चरणमा मेरा भावनाका पुष्प गुच्छाहरू’ उपशीर्षक दिँदै नवराजले लेख्नुभएको छ– ‘प्रत्यक्षरूपमा नदेखे पनि बुबाले मलाई फोटोमा हेरेर के भन्नुभयो होला ? के नाम राख्ने सोच थियो होला ? भन्ने लागि रहन्छ । दशैंको टीकाको शुभ मुहुर्तमा बुबाको फोटोमा टीका जमरा अर्पण गर्दा मेरो मुटु सधैं टुक्रिन्छ । यस्तो कुरा कसलाई भनौँ ? आमा, श्रीमती, छोराछोरीलाई सुनाएर उनीहरूलाई नै दुःखी पार्न म चाहन्नथेँ । तर, आज यहाँ पोख्न पाएर मन हलुका गर्न खोजेको छु । बुबाको यस कीर्ति फैलिएको हेर्न, सुन्न, साथैमा रहन, हात समाउन, ज्ञानगुणका कुरा सुन्न, आशीर्वाद लिन कसलाई मन लाग्दैन र ? तर, सबैको भाग्यमा यस्तो सौभाग्य नलेख्ने रहेछ । जोसँग जे छ, त्यसमा सन्तोष गर्नु बाध्यता हुँदोरहेछ । मलाई बुबाको छहारी प्राप्त गर्न जुरेको रहेनछ । उहाँको बारेमा अरु विशिष्ट महानुभावहरुबाट सुन्न र जान्न सक्ने धेर्यता पाएको रहेछु । जति-जति मेरो उमेर बढ्दै गएको छ उति-उति बुबाको यादले भावनात्मक रिक्तता बढिरहेको छ ।’
खगेन्द्र सरका अर्का एक जना भाइ रुद्रप्रसाद ढकाल दाजुका बारे यसरी स्मरण गर्नु हुन्छ- ‘ठाँल्दाजुको पढाइप्रतिको लगनशीलता साँच्चिकै अनुपम थियो । राम्रा बान्की परेका सुन्दर अक्षरमा लेख्ने शैली अति उत्कृष्ट थियो । कक्षा ७ सम्म याकु स्कुलमा पढुञ्जेल सबै कक्षामा प्रथम हुनुहुन्थ्यो । उहाँको सफलता नै हामी भाइहरुको अजस्र श्रोत हो । बुबा दाजुहरुबाट हामीहरुलाई पनि दाजुजस्तै बन्नुपर्छ भन्ने एक किसिमको अघोषित दबाब नै थियो ।’
संयोगले एक जना Tim Clark नामक अमेरिकन खगेन्द्र सरसँगै नेपालमा केही समय सँगै बस्ने, संगत गर्ने मौका पाएका रहेछन् । नवराजजीलाई एक पत्र पठाउँदै उनले लेखेका रहेछन् : ‘I had very recently arrived in nepal and spoke nepali poorly, so it was hard to get to know you now your father and mother. I lived in the same house as they did. I was upstaris and they were downstaris, as I recall’
ढकाल परिवारका सातै भाइमध्ये सक्षम, ज्ञानी र विद्वानका रुपमा खगेन्द्र सर हुनुहुँदोरहेछ । धेरै जनाका लेख रचनाबाट मैले त्यस कुराको मनन् गरेँ । समग्रमा खगेन्द्र सर नामक स्मृति ग्रन्थ पढ्नलायक कृतिको रुपमा मैले पाएँ । पङ्क्तिकार पनि यस्ता व्यक्तित्वप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।
प्रतिक्रिया