सेना परिचालन गरेर अवरुद्ध राजमार्ग खुलाउने तयारी

सेना परिचालन गरेर अवरुद्ध राजमार्ग खुलाउने तयारी


अवरुद्ध राजमार्ग खुलाउन सेना प्रयोग गर्ने तयारी भएको छ । बाढी-पहिरोले अवरुद्ध भएको सडक मर्मत गरी यातायात सहज बनाउने बारे सेनासमेत प्रयोग गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईबीच सिंहदरबारमा छलफल भएको छ ।

बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा क्षतीग्रस्त सडकको मर्मत र निर्माणका लागि कुराकानी भएको समाचार स्रोतले बतायो । छलफलमा चाडपर्वको समेत बेला भएकाले जति सक्दो चाँडो सडक मर्मत तथा निर्माण गरी यातायात सहज बनाउन रक्षा मन्त्रालय पनि सहयोग गर्ने रक्षामन्त्रीले बताएका छन् ।

वीपी राजमार्गका क्षतिग्रस्त विभिन्न खण्ड मर्मतका लागि आवश्यक परे रक्षा मन्त्रालयमार्फत नेपाली सेनाको समेत सहभागिता गराएर सवारी आवागमन सहज बनाउन दुवै मन्त्रीबीचमा छलफल भएको स्रोतको दाबी छ ।

छलफलमा मन्त्रालयका सचिव केशकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेललगायतका अधिकारीहरु सहभागी रहेका थिए । सडक विभागले क्षतिग्रस्त सवै स्थानहरुमा प्राविधिक तथा उपकरणहरु परिचालन गरि सवारी आवागमन सहज बनाउने काम गरि रहेको जनाएको छ ।