पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण

पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘म पानी हुँ’ गीतको लोकार्पण गर्नुभएको छ । गोरखा म्युजिक काठमाडौंद्वारा आयोजित कार्यक्रममा उहाँले सो गीतको लोकार्पण गर्नुभएको हो ।

गीतको लोकार्पण गर्दै पूर्वराष्ट्रपति भण्डारीले जलस्रोतको धनी देश नेपालले पानीको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पानीको राम्रोसँग व्यवस्थापन गर्नसके मुलुकलाई प्रगतितर्फ डोऱ्याउन सकिने उल्लेख गर्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले अहिले मुलुक बाढी, पहिरोबाट आक्रान्त रहेको उल्लेख गर्दै सबै मिलेर विपद्मा सहयोग गर्नुपर्ने बताउनुभयो । दुःख र सङ्कट परेका बेला सङ्गीतले व्यक्तिलाई आनन्द दिने उहाँको भनाइ थियो ।

कार्यक्रममा गीतका रचनाकार तथा गायक बमबहादुर कार्कीले पानीको महत्व उजागर गरेर गीत लेखेको बताउनुभयो । ‘हामी पानी बिना एकछिन पनि रहन सक्दैनौँ । त्यसैले पानीलाई सम्झेर मैले गीत रचना गरेको हुँ’, उहाँले भन्नुभयो ।

उक्त गीतमा कार्कीसहित अर्जुन सुनाम र लोचन भट्टराईको स्वर तथा सङ्गीत बीबी अनुरागीको रहेको छ । गीतको श्रव्यदृश्यमा नायक राजेश हमाल, नायिका करिश्मा मानन्धर र सगुन कार्कीको अभिनय रहेको छ ।