प्रेमको सीमसार

प्रेमको सीमसार


म पानी हुँ
तिमी त अंखोरा हौ
तिमी छ्यौ र त मेरो आकार छ !
म शब्द हुँ
तिमी त गीत हौ
तिमी छ्यौ र त मेरो धुन छ !
म पथिक हुँ
तिमी त जीवनपथ हौ
तिमी छ्यौ र त मेरो यात्रा छ !

■ ■ ■

हो, हिमचुरी !
तिमीले नै उमारेकी हौ
मनको मरूभूमिमा
यति ठूलो प्रेमको थुम्केली पहाड !
तिमीले नै भरेकी हौ
यो उजाड वनमा
झ्याउँकीरीको यति मीठो सङ्गीत !
तिमीले नै खनेकी हौ
यो पैह्रो झरेको जिन्दगीमा
जीवन दौडिने सपनाको राजमार्ग !
र तिमीले नै फुकेकी हौ
यो निभ्न लागेको अँगेनोभरि
आशाहरू भर्भराइरहने भरोसाको आगो !

■ ■ ■

जीवनको नटुङ्गिने गति दियौ
मनको विशाल आयतन दियौ
आँखाभित्रको अनन्त गहिराइ दियौ !
सहस्र खुसीहरू
मुस्कुराउने जून दियौ
र वैँसको नओईलाउने फूल दियौ !
जे जे दिनु थियो
आफैँलाई मेटाएर सबै-सबै दियौ !

■ ■ ■

भन न हिमचुरी !
म किन यति धेरै स्वार्थी बनेँ ?
र हरेक गाँसहरू
नुन नपुगेजस्ता लाग्छन्- मलाई यतिखेर !

■ ■ ■

मैले डुब्छु भनेँ
र तिमीले डुबाउँछु भन्यौ
यतिका वर्ष भैसक्यो
म त निरन्तर डुबिरहेछु !
तर भेटेको छैन
त्यो गहिराइको सिरानी
जहाँ म ढुक्कले निदाउन सकूँ !

■ ■ ■

तिमी त शालीन नदी थियौ
आफू बगर बनेर
मलाई प्रेमको सिमसार दियौ !
आफ्नै आयु चुँडाएर
मलाई समर्पणको अथाहा गहिराइ दियौ !
तर म अझै पनि
किन निदाउन सक्दिन, हिमचुरी ?
सायद,
म खोजिरहेछु- ममताको अर्को कुनै गहिराइ !

■ ■ ■

म त तिम्रो प्रेमी हुँ
र तिमी मेरी प्रेमीका हौ !
भन न हिमचुरी !
के म अब तिम्रो छोरा बन्न सक्छु ?