पाँच मुक्तक

पाँच मुक्तक


           एक 

बेच्न सकिनँ अस्तित्व सपनासँग अनि त म थाकेर आएँ ।
मलाई नै खुसी किन्न उडेका एक जोर परेवा भाकेर आएँ ।
तिमीले त बार्दलीबाट खुसी साथ हात हल्लाएर बिदा गरेथेउ,
तर म साटिएको स्वाभिमान आङको लपेटोले ढाकेर आएँ ।
        
            दुई

घाँटीभरि खादा माला आदत परिसक्यो ।
खोक्रो भाषण झुटो चाला आदत परिसक्यो ।
यत्रतत्र सर्वत्र जताततै सत्ता कै छ चलखेल,
कहिले गोरा, कहिले काला आदत परिसक्यो ।

            तीन 

अत्तर आफैं हराउँछ फुलले सुवास मागेपछि ।
फुर्किन्छ कि क्या हो ? कोकिल मनमा बसन्त लागेपछि । 
कसरी पोतौँ प्रेमको रङ मनको खाली भित्तामा ?
भावना पनि त्यसै मर्छन् खुसीका बाछिटा भागेपछि ।

            चार

होस् गर वर्षायाम हो भेलबाडी पस्न सक्छ ।
विषालु ती नजरहरूले अनायासै डस्न सक्छ ।
सम्हालेर राख्नु प्रेम जीवन्त होस् नाता हाम्रो,
नत्र तिम्रो तस्बिर आँखाबाट आँसु बनि खस्न सक्छ ।

            पाँच 

आँसु बग्छ गालामाथि रुने बहानामा
साबुन पनि भाग्यमानी धुने बहानामा
आकाश धर्र्ती मिलाउन क्षितिज काफी हुन्छ
धुलो झार्दै छेउमा नआउ छुने बहानामा ।