दुर्गामुर्तिका लागि भारत जानुपर्ने बाध्यताको अन्त्य भएपछि…

दुर्गामुर्तिका लागि भारत जानुपर्ने बाध्यताको अन्त्य भएपछि…


कपिलवस्तु लगायत तराई मधेशमा अस्थाई रुपमा दुर्गा भगवतीको माटोको मूर्ति पूजा गर्ने प्रचलन बढेको छ, जसका कारण कपिलवस्तुमा मुर्तिकारहरु दुर्गा भगवतीको मुर्ति बनाउने कार्यमा व्यस्त देखिन्छन् ।

विगत केही समयअघिसम्म पनि दशैंको समयमा दुर्गाको मुर्तिका लागि भारत जानुपर्ने बाध्यताको अन्त्यजस्तै भएपछि जिल्लाका मुर्तिकारहरुलाई दुर्गा भगवतीको मूर्ति बनाउन भ्याइनभ्याइ परेको छ । विगतका वर्षहरु जस्तै यसवर्ष पनि दशैँको समयमा माटाको मुर्ति बनाउने गरेका कपिलवस्तु नगरपालिका-१ नयाँटोलका मुर्तिकार अनिल गुप्ताले घटना र विचारलाई बताउनुभयो ।

उहाँले यस वर्ष ४० वटा दुर्गाको मुर्ति बनाएको र प्रति मुर्तिको मुल्य २० देखि ७० हजार रुपैयाँसम्म लिने गरेको बताउनुभयो । अन्य वर्षजस्तै यस वर्ष पनि उहाँले मुर्तिको व्यापारबाट राम्रो आम्दानी हुने अनुमान गरेका छन् ।

अर्का मुर्तिकार कपिलवस्तु नगरपालिका १ का सुनिल तिवारीले चाहिँ विगतका वर्षका तुलनामा यस वर्ष कम मुर्ति बनाएको बताउनुभएको छ । विगतका वर्षको तुलनामा यस वर्ष भारतिय मुर्तिकारहरुले नेपालको सिमा क्षेत्र आसपासमा सिंगारका सम्पुर्ण सामानहरु भारतबाटै ल्याएर मुर्ति बनाउने गरेको उहाँको भनाइ छ ।

आफुहरुले मुर्तिका लाग्ने माटो, पराल र बास बाहेक अन्य सिंगारका सामान भारतबाट ल्याउँदा भन्सार गराएर ल्याउँदा भारतिय मुर्तिकारभन्दा आफुहरुले बनाएको मुर्तिहरुको लागत महँगो पर्ने हुँदा बिक्री गर्ने कठिन हुने देखेर यस वर्ष कम मुर्ति बनाएको बताउनुभयो ।

यसैगरी अर्का मुर्तिकार अनन्त कुमार कुर्मी पनि केही समय पहिलासम्म दुर्गाका मुर्ति लिनका लागि भारत जानुपर्नेमा हाल जिल्लामा नै मुर्ति बन्ने गर्दा भारत जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो ।

हालका समयमा शहर मात्र नभई गाउँघरमा पनि दशैँको बेला माटो आदिबाट बनाइएका दुर्गा भगवतीको मूर्ति पण्डालमा सजाएर चोक चौराहामा राख्ने र पूजा गर्ने प्रचलन बढेको छ ।

माटो मुर्तिमा भगवती दुर्गाले महिषासुरको बध गर्दै गरेका ठूला मूर्तिसहित विभिन्न देवी देवताका स्वरूपहरु देख्न सकिन्छ । दुर्गा भगवतीको मूर्तिलाई कसैले दशैँको घटस्थापना त कसैले सप्तमीका दिन मूर्ति स्थापना गर्ने गर्दछन् र सप्तमीमा दिनमा दुर्गाको मुर्तिको आँखाबाट पट्टी खोल्ने गर्दछन् ।

महिषासुरलाई सप्तमीको दिन दुर्गा भवानीले बध गरेको हुनाले सो दिन मूर्तिको आँखा खोल्ने परम्परा रहेको छ । माटोले बनाएको दुर्गामाताको मुर्तिलाई दशैँको भोलि पल्ट एकादशिका दिन भव्यताका साथ नाजगान तथा बाजागाजासहित नजिकैको नदी तथा तलाउमा विधिपुर्वक विसर्जन गर्ने गरिन्छ ।