‘नेपालका बारेमा नेपाली नै निर्णायक हुनु पर्दछ’ : राजा ज्ञानेन्द्र

‘नेपालका बारेमा नेपाली नै निर्णायक हुनु पर्दछ’ : राजा ज्ञानेन्द्र


पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तोसुकै त्याग गर्न पनि तत्पर रहने शाहवंशीय परम्पराको यथोचित पालना गर्दै आफूले नारायणहिटी दरबार छोडेको दुई दशक पूरा हुनलाग्दा पनि स्वदेशमै हर्षका साथ रहने नेपाली जनताको आकाङ्क्षा पुरा नहुँदा बेचैनी बढाएको बताउनुभएको छ ।

विजयादशमी २०८१ को अवसरमा शुभकामना सन्देश दिँदै पूर्व श्री ५ ले भन्नुभएको छ- ‘हामीले मुलुकमा शान्ति, स्थायित्व, अमनचैन, न्याय र समृद्धि बाहेक अर्को इच्छा कहिल्यै राखेनौँ । देशको सार्वभौमिक स्वतन्त्रता, अखण्डता र सामाजिक सद्भावको स्थिति अटुट राख्ने हाम्रो चाहना हो । बाह्य शक्तिराष्ट्रहरूको दबाब र दुस्प्रभाव हामीकहाँ नबढोस्, यो देशमा अरुको खेलमैदान नबनोस्, हाम्रो भूमि कुनै प्रकारको अशान्तिको चपेटामा नपरोस् भन्नेमा नै हाम्रो गहिरो ध्यानदृष्टि थियो र सधैं हुनु पर्दछ ।’

यस्तो छ राजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देश-

प्यारा नेपाली दिदी बहिनी तथा दाजु भाइहरु,
हाम्रा घर-आँगनमा हाम्रो सांस्कृतिक पर्व बडा दशैँ आइपुगेको छ । उल्लास र उमङ्गको यो सामाजिक पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहे/बसेका सबै नेपालीहरूमा हामी मंगलमय शुभकामना ब्यक्त गर्दछौँ ।

खुशी हुन र रमाउन दशैँ नै पर्खनुपर्ने नियतिबाट मुक्ति पाएर बाह्रै महिना सबै दिन नेपालीले खुशी र सुख प्राप्त गरेको हेर्ने हाम्रो चाहना पूरा हुन नसक्दा हामीलाई दुःख लाग्नु स्वभाविक हो । जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तोसुकै त्याग गर्न पनि तत्पर रहने शाहवंशीय परम्पराको यथोचित पालना गर्दै हामीले नारायणहिटी दरबार छोडेका थियौँ । तर, दुई दशक पूरा हुनैलाग्दा पनि स्वदेशमै हर्षका साथ रहने नेपाली जनताको आकाङ्क्षा पूरा नहुँदा हाम्रो बेचैनी बढाएको छ ।

नेपाल अहिले अत्यन्तै असहज अवस्थामा छ । निरन्तरको परनिर्भता र ऋणको भारले थिचिएको छ । हाम्रो गाउँबस्ती र शहरी क्षेत्र क्रमशः ‘युवाशक्ति विहीन’ बन्दै गइरहेको छ । आज मुलुकमा युवाशक्तिले कमाउने र रमाउने वातावरण बन्न सकेको छैन । युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न विकल्प प्रस्तुत गर्न नसक्नुको परिणाम आज मुलुकले कहालीलाग्दो अवस्था भोग्दैछ । रोजगारीको निमित्त विदेशिनुपर्ने बाध्यात्मक अवस्थाले हाम्रा खेतबारीमात्र बाँझो तुल्याएको नभइ हरेक बाबु-आमाको मन पनि बिझाएको छ । हामीले मुलुकमा शान्ति, स्थायित्व, अमनचैन, न्याय र समृद्धि बाहेक अर्को इच्छा कहिल्यै राखेनौँ । देशको सार्वभौमिक स्वतन्त्रता, अखण्डता र सामाजिक सद्भावको स्थिति अटुट राख्ने हाम्रो चाहना हो । बाह्य शक्तिराष्ट्रहरूको दबाब र दुस्प्रभाव हामीकहाँ नबढोस्, यो देशमा अरुको खेलमैदान नबनोस्, हाम्रो भूमि कुनै प्रकारको अशान्तिको चपेटामा नपरोस् भन्नेमा नै हाम्रो गहिरो ध्यानदृष्टि थियो र सधैं हुनु पर्दछ ।

एकाइसौँ शताब्दीको पहिलो दशकदेखि नै क्षेत्रिय एवम् अन्तर्राष्ट्रिय तनाव झन् गहिरो हुँदै गएको छ । यसको प्रभावबाट नेपाल पनि चोखिन पाएको छैन । राष्ट्र-राष्ट्रहरूको बीचमा विश्वासको संकट चुलिँदै गएको परिदृष्य प्रष्ट नै छ । भू-राजनीतिक अवस्थाको कारणले गर्दा हाम्रो देश अछुतो रहन सकेको छैन । महाशक्तिहरू बीचको तनाव र स्वयंघोषित नवशक्तिहरूको अहमता बढ्दै गएको छ । यस्तो अवस्थामा नेपाल ‘शान्त राष्ट्र’को रूपमा घोषित होस् र यसैबाट विश्वभर परिचित रहोस् भन्ने हाम्रो मान्यता र आग्रह छ । यस दिशातर्फ हामी सबैको राष्ट्रिय संकल्प हुनैपर्दछ । नेपालका बारेमा नेपालीहरू नै निर्णायक हुनु पर्दछ भन्ने हाम्रो सोचको अपरिहार्यता वर्तमानमा देखापरेको अन्यौल र अराजकताले झन् पुष्टि गरेको छ ।

श्री नवदुर्गा भवानीले हामी सबैलाई सत्कर्मका निम्ति प्रेरणा प्रदान गरुन् ।
जय नेपाल ।

२०८१ आश्विन २३ गते