झुठ म्याराथन !

झुठ म्याराथन !


आउनुहोस आज तपाईं-हामी सबै जना झुठ म्याराथनमा सम्मिलित बनौँ, यो खेल खेलौँ अनि अपूर्व आनन्दको अनुभूति गरौँ । अन्तरराष्ट्रिय स्तरको यो खेल तपाईं-हामीले जान्नु जरुरी छ, खेल्नु जरुरी छ, अनि जित्नु पनि जरुरी छ । आगामी ओलम्पिकमा समेत समावेश हुन लागेको यो झुठ म्याराथनमा प्रतिस्पर्धीको घुइँचो लाग्ने निश्चित भइसक्यो । त्यसैले यो खेलमा पदक पाउन, खेल बुझ्नेदेखि लिएर कुशलतापूर्वक खेल्न जान्ने कलामा निखारता ल्याउनु तपाईं-हाम्रो आजको अवश्यकता हो ।

यस खेलमा सहभागी हुन चाहनेहरूले बुझ्नैपर्ने केही कुराहरू यस प्रकारका छन् :

कसले प्रतिस्पर्धामा भाग लिने – ‘तपाईंलाई झुठो बोल्न आउँछ ? झुठो लेख्न आउँछ ? झुठो हेर्न आउँछ ? झुठो सुन्न आउँछ ?’ यी प्रश्नहरूमा कुनै एकको उत्तर तपाईं ‘आउँछ’ भनेर दिनुहुन्छ भने तपाईं झुठ म्याराथनमा भाग लिन सक्नुहुन्छ । सबैको उत्तर आउँछ भने तपाईं व्यवसायिकरूपमै अगाडि बढ्न सक्नुहुन्छ ।

खेलको प्रतिस्पर्धी – विरोधिलगायत आफ्नै खेमाका व्यक्ति÷समूह पनि प्रतिस्पर्धी हुन मिल्ने ।

खेलाडी संख्या – व्यक्तिगत अनि समुहगत (जति जना पनि खेल्न मिल्ने) ।

खेल खेल्ने स्थान – जहाँ पनि खेल्न मिल्ने ।

खेल खेल्ने उचित समय – जहिले पनि खेल्न मिल्ने (पार्टीगत खेलचाहिँ चुनावताका बढी खेलेको देख्न पाइने) ।

खेल खेल्ने तरिका – सकेसम्म छिटो अनि धेरै झुठ बोल्न सक्नु पर्ने ।

जिते पछि पाइने पुरस्कार – अवस्थाअनुसार विभिन्न (सडकको पेटीदेखि सदनको कुर्सीसम्म पुरस्कारमा पाइन सकिने) ।

माथि उल्लेखित झुठ म्याराथन खेलको संक्षिप्त जानकारीपश्चात अब आउनुहोस् यस खेलसँग सम्बन्धित अन्य कुराहरूमा एकै छिन चर्चा गरौँ ।

अन्तरराष्ट्रिय स्तरमा निकै लोकप्रिय बन्दै गइरहेको यो खेल नेपालमा पनि धेरै अगाडिदेखि खेलिँदै आएको कुरा इतिहास कोट्याएर हेर्दा प्रष्ट हुन्छ । पहिलेको तुलनामा अहिले यो खेल बढी खेलिने गरेको कुरा खेलमा सहभागी हुनेहरू सबै बताउँछन् । अन्य खेलमा झैँ यो खेलमा पनि शौखिन खेलाडी र व्यवसायिक खेलाडी दुवै भेटिन्छन् । नजान्दा नजान्दै पनि यो खेल खेलिरहेको भेटिनु यो खेलको अत्यन्तै रोचक पक्ष हो । यो खेल खेल्न झुठो बोल्ने र झुठो लेख्ने दुवै कला जानेको हुनुपर्ने यस खेलका हस्तीहरू बताउँछन् । यो खेल खेल्ने कुनै निश्चित नियम नभएकोले गर्दा आफुलाई आउने कुनै पनि माध्यम वा तरिका प्रयोग गरेर झुठो बोले÷लेखे हुने यस खेलमा संलग्न सबैको अनुभव हो ।

कोही झुठो बोल्छन्, कोहि झुठो लेख्छन्, कोही झुठो सुन्छन्, कोही झुठो पढ्छन् अनि आफ्नो ‘झुठ म्याराथन’को योग्यता बढाउँछन् । गलत, बेठिक, असत्य भन्दै झुठलाई अन्य शब्दहरूले परिभाषित गर्दै केही झुठका महारथीहरू आफूलाई म्याराथनको अग्रपंक्तिमा राख्न सफल भएको दाबी गर्छन् । यी तिनै महारथीहरू हुन् जो घरकी श्रीमतीलाई अफिसमा मिटिङको बहाना गरि बहिरिकीसँग समय खर्चिन्छन् । यिनीहरूको झुठ म्याराथन अलौकिक हुन्छ, त्यसैले गर्दा होला यिनीहरूले सडकदेखि सदनसम्मको झुठ यात्रा सजिलै तय गर्छन् । त्यो म्याराथनमा यिनीहरूलाई जित्न अन्यलाई हम्मे–हम्मे नै पर्छ ।

झुठ म्याराथनमा भाग लिने थालेदेखि नै हो मैले पनि विभिन्न झुठका बारेमा जानकारी बटुल्न थालेको । त्यो भन्दा पहिले झुठ पनि थरि–थरिका हुन्छन् भन्ने कुराको एक रत्ति ज्ञान थिएन । तिनै झुठहरू बीच म्याराथन हुने भएकोले यो खेलमा चासो राख्ने सबैले झुठको अनेक प्रकार अनि अनेक रुप थाहा पाउनु पर्छ भन्ने मेरो बुझाई हो । मेरो बुझाई नै झुठ बनिदिने हो कि भन्ने डर नभएको होइन यी पंक्तिहरू लेख्दा, तर आफूले देखेको र अनुभव गरेको कुरा यो म्याराथनलाई काम लाग्ने प्रवल सम्भावनाले गर्दा लेख्न पुगेको हो । भनिन्छ नि, ‘कसैको सानो झुठले अरुको भलो हुन्छ भने त्यो झुठ बोल्नुपर्छ ।’

माथिको कथनले झुठ सानो–ठुलो पनि हुने रहेछ भन्ने लाग्छ मलाई । सानो झुठले त फाइदा हुने देखियो, ठुलो झुठले चाहिँ के हुन्छ होला ? यो प्रश्नको उत्तर दिने जिम्मेवारी मैले पाठकलाई नै छाडिदिएँ ।

‘अलि पत्याउने गरेर बोल्नु नि झुठो नै भएपनि’ भन्दै कोही झुठलाई पनि साँचो कुराको दर्जा दिन खोज्छन् । यी झुठका व्यवशायिक खेलाडीहरूले गर्दा नै हो अधिकांशले झुठलाई नै साँचो सम्झेर गर्न नहुने गर्दै आफूलाई आफैले ठग्दै बस्छन् । पत्याउने झुठ र नपत्याउने झुठको गहिरो खाडलमा धसिएका यो वर्गको झुठ म्याराथनमा भाग लिने सपना सिर्फ सपनामा मात्र सीमित बनिदिन्छ ।

फस्ल्याङफुस्लुङ झुठहरूको कुनै महत्व नहुने भएकोले यस्ता झुठहरू मिनेट–मिनेटमा बोलिने, लेखिने र देखिने अनुभव प्रायः सबैको हुने गरेको म्याराथन खेलाडीहरू बताउँछन् ।

शीर्ष वरियता क्रममा रहेका झुठ म्याराथनका खेलाडीहरू अन्तरराष्ट्रिय झुठ म्याराथनमा पनि सम्मिलित हुने प्रावधान रहेकोले त्यसको लागि पहिले राष्ट्रिय तवरमा प्रतिष्पर्धा गरिरहेको भेटिनु अचम्मको विषय होइन ।

यस्ता महारथीहरू अवस्थाअनुसार सानो, ठुलो, सस्तो, महँगो, पत्याउने, अनि नपत्याउने सबै प्रकारका झुठ बोल्न सक्षम हुन्छन् यिनीहरूको यस्तै प्रतिभाले गर्दा यिनीहरूको जताततै राज देख्न पाइन्छ । विशेषगरी द्रुत गतिमा चल्ने झुठ म्याराथन सदनमा देख्न पाइने अनि त्यहाँ पनि यिनै महारथीहरूको घनत्व हुने भएकोले झुठ म्याराथनको गरिमा उच्च कोटीको हो भन्दा कुनै आपत्ति नहुने निष्कर्ष निकाल्न सकिन्छ ।

एकपटक सदनमा झुठ बोल्ने अभ्यास गरेपछि अन्तरराष्ट्रिय झुठ म्याराथनमा सम्मिलित हुन पाउने अचम्मको परम्पराले गर्दा फस्ल्यांग फुस्लुङ झुठ बोल्नेदेखि लिएर साना-ठुला सबै झुठवाजहरू सदनकै पछि परेको देखिनु यो झुठ म्याराथनको अर्को रोचक विशेषता हो ।

रेडियो, टिभीदेखि पत्रपत्रिकामा छापिएका समाचारहरूले झुठ म्याराथनको प्रचारप्रसार गरिरहेका हुन्छन् दैनिक रुपमा । झुठ म्याराथनको सफलतामा यिनीहरूको ठुलो योगदान छ । संचारका यिनै माध्यमहरूबाट आउने दैनिक झुठका समाचारहरूलाई पढेर, सुनेर, हेरेर झुठ म्याराथन सिक्न सकिने यसका प्रशिक्षकहरू बताउँछन् ।

आउनुहोस् अब हामी सबै यस झुठ म्याराथन खेलमा सहभागी बनी यस खेलको गरिमा बढाऔँ, आफूलाई खेलप्रति समर्पित गरौँ, पदक जितौँ अनि झुठो विजेताको माला पहिरेर दङ्ग परौँ ।