अपारदर्शिता र परम्परावादी शैली नै समस्याको जड

अपारदर्शिता र परम्परावादी शैली नै समस्याको जड


राखेप–एनओसीबीच दरार
हिजोसम्म सुमधुर सम्बन्ध कायम रहेको राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीको सम्बन्धमा अहिले दरार पैदा भएको छ । नेपाल ओलम्पिक कमिटीको अपारदर्शिता, पुरातनवादी सोच र आफ्नो मूल्य र मान्यतामा अडिग रहन नसक्नु प्रमुख कारण बनेको छ । खेलकुदको समग्र विकासका निम्ति सम्माननीय सर्वोच्च अदालतको फैसलालाईसमेत थाती राखेर राखेपले ओलम्पिक कमिटीसँग हातेमालो गरेको थियो । तर, त्यसको बदलामा ओलम्पिक कमिटीले राखेपलाई वाइपास गर्दै आफ्नो दुनो सोझ्याउने कार्य मात्रै गरेको छ । गुनको बदला गुनले दिनुको साटो पिठ्यँुमा छुरा घोप्ने कार्य गरेपछि अहिले राखेपे ओलम्पिक कमिटीको स्थायी समाधानको खोजीमा लागेको छ ।
नङ र मासुजस्तै भएर स्वदेश र विदेशमा आफ्ना क्रियाकलाप अगाडि बढाइरहेका राखेप र ओलम्पिक कमिटीका पदाधिकारीबीच के कारणले दरार उत्पन्न भयो र दूरी बढ्यो त्यो अहिले चर्चाको विषय बनेको छ । दुवै पक्षले आफ्नो दलिल प्रस्तुत गरे पनि वास्तविक रूपमा भन्ने हो भने ओलम्पिक कमिटीले राखेपको आँखामा धुलो हाल्ने प्रयास अवश्य गरेको हो । जसलाई राखेपको नियम–कानुनले कदापि वैधानिक मान्न सक्दैन । सर्वप्रथम नेपाल ओलम्पिक कमिटी नामक संस्था छँदाछँदै एनओसीका पदाधिकारीले सुटुक्क सुदूरपश्चिमको डोटी जिल्लामा गएर ‘राष्ट्रिय ओलम्पिक कमिटी’को दर्ता किन गरे ? षड्यन्त्रको विजारोपण यहीबाट शुभारम्भ छ । अझ एनओसीलाई कम्पनी ऐनअन्तर्गत दर्ता गरेर आफ्नो मात्र पेवा बनाउन खोज्नुले पनि दालमा कालो देखिएको छ । जुन भविष्यमा खेलकुदका लागि पीडादायक बन्ने छ भन्दा अतिसयोक्ति नहोला ।
विशेष र दूरदर्शी रणनीति बनाएर एनओसी कब्जा गर्ने अभिप्रायका साथ अगाडि बढेका एनओसीका पदाधिकारीहरूले भविष्यमा अरूलाई एनओसीमा घुस्न नदिन यस्तो चाल चलेको स्पष्ट रूपमा थाहा पाउन सकिन्छ । अन्यथा उनीहरूले एनओसीलाई कम्पनी ऐनअन्तर्गत दर्ता गर्ने दुस्साहस कदापि गर्ने थिएनन् । एनओसीमा आफ्नो मात्रै हिटलरी शासन कायम गर्न एनओसीका पदाधिकारीहरूले यस्तो कदम चाले पनि अहिले उनीहरूको सम्पूर्ण षड्यन्त्रको पर्दाफास भएको छ । ओलम्पिक चार्टरको दुहाई दिएर आमखेलाडी, प्रशिक्षक र राखेपसमेतलाई गुमराह गर्दै भ्रमको खेती गर्दै आएका एनओसीका पदाधिकारीहरूको नियतमाथि अहिले ठूलो प्रश्नचिह्न लागेको छ । आफ्नो निहित स्वार्थ पूरा गर्न खेलकुदका नियमकानुनलाई धोती लगाउँदै आएका यी पदाधिकारीको नियोजित षड्यन्त्र चुरो पत्ता लगाउन अहिले राखेपले कम्मर कसेको छ ।
एनओसीका पदाधिकारीहरूको यो घिनलाग्दो खेलले अहिले खेलकुदमा पुनः फोहोरी खेलको शुभारम्भ भएको छ । आफू सदस्यसचिव हुँदा खेलकुदका सङ्घहरूलाई सर्वोपरि ठान्ने जीवनराम श्रेष्ठले अहिले तिनै खेलकुदका सङ्घहरूलाई थाङ्नामा सुताउने प्रयास गर्नु विडम्बना भएको छ । सङ्घको भ¥याङ चढेर एनओसीको महासचिव बन्न पुगेका श्रेष्ठले अहिले ओलम्पिक चार्टरको कुरा गरेर सङ्घको अस्तित्वलाई नै समाप्त पार्न लागिपरेका छन् । यसर्थ अहिले प्रश्न उठेको छ ओलम्पिक चार्टरअनुसार एनओसीमा पुगेका सङ्घको हैसियत के त भन्ने ? अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी अर्थात् आईओसीले पनि अहिलेसम्म ती सङ्घहरू कसरी दर्ता भएका छन् यसबारेमा प्रस्ट रूपमा केही जानकारी गराएको छैन । तसर्थ सङ्घबिना कुनै अस्तित्व नरहने ओलम्पिक कमिटी र राखेपअन्तर्गत क्रियाशील रहेका सङ्घहरूको आधिकारिक संस्था कुन हो विवादको घेरा कोरिएको छ ।
नेपाल ओलम्पिक कमिटीका पदाधिकारीहरूले नयाँ बखेडा खडा गरेपछि क्रूद्ध बनेका राखेपका सदस्यसचिव युवराज लामाले यसलाई परम्परावादी सोचको उपजको हो भनेका छन् । मै खाऊँ, मै लाऊँ भन्ने दलदलको सोचमा एनओसीका पदाधिकारी फसेको आरोप लगाएका छन् । मुलुकमा गणतन्त्रको स्थापना भइसक्दा पनि यस्तो सोच पाल्नु आफैंमा अशोभनीय र खेलकुदको हितविपरीत भएको टिप्पणी गरेका छन् । लामाले यो व्यक्तिवादी चिन्तनको उपज भएको प्रस्ट पार्दै यसलाई सदाका लागि समाप्त पार्ने दाबी गरेका छन् । कुनै कुराको पनि सीमा हुन्छ, यदि कसैले नियम–कानुनको अपहेलना, बेवास्था र अपव्याख्या गर्दै सीमा नाघ्छ भने त्यो कारबाहीको भागिदार हुन्छ । अहिले एनओसीले पनि यस्तै छनक देखाएको छ, जुन आफैंमा खेलकुदको नियमविपरीत छ । तसर्थ एनओसीले चालेको कदमलाई कदापि वैधानिक मान्यता नदिने लामाले प्रतिबद्धता जाहेर गरेका छन् ।
लामाले अहिले ओलम्पिक कमिटीमा निकै चलखेल भएको बताएका छन् । उनले एनओसीलाई खेलकुद संस्थाभन्दा पनि पार्टीको पेवा बनाउन खोजिएको आरोप लगाएका छन् । सुदूरपश्चिमको डोटीमा लगेर राष्ट्रिय ओलम्पिक कमिटीको दर्ता गर्नुको पछाडिको रहस्य के हो ? त्यसमा प्रतिप्रश्न गरेका छन् । कुनै पनि संस्था खोल्न राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयको सहमति र स्वीकृति चाहिन्छ । तर, यहाँ एनओसीका पदाधिकारीहरूले धमिलो पानीमा माछा मार्ने दुस्साहस गरेका छन् । के कारण र के प्रयोजनका लागि कम्पनी ऐनअन्तर्गत एनओसीलाई दर्ता गर्नुप¥यो त्यसको जानकारी एनओसीका पदाधिकारीसँग मागिनेछ । लामाले यो गैरकानुनी क्रियाकलाप भएकोले यसको मान्यताको कुरै छोडौँ यो संस्था दर्ता गर्ने डोटीका सीडीओलाई समेत कानुनी कठघरामा ल्याउने बताए ।
कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैं ओलम्पिक चार्टरको चर्को कुरा गर्ने एनओसीका पदाधिकारीले नै ओलम्पिक चार्टरबमोजिम कार्य नगरेको गम्भीर आरोप लामाले लगाएका छन् । लामाले एनओसीले सतप्रतिशत ओलम्पिक चार्टरको पालना गरेको छैन भन्दै यदि त्यसो भएको भए थुप्रै खेलकुद सङ्घका पदाधिकारी अहिले एनओसीमा बस्न नमिल्ने जिकिर गरेका छन् । एनओसी कुनै कुरामा पनि पारदर्शी नभएको र व्यक्तिगत साँठगाँठमा चलिरहेको छ । लामाले खेलाडी प्रशिक्षकको छनोटदेखि लिएर आर्थिक पारदर्शितामा एनओसीका पदाधिकारी चुकेको बताएका छन् । अन्यथा अन्तर्राष्ट्रियस्तरबाट कति रकम आउँछ, कति खर्च हुन्छ त्यसबारे कदापि अनविज्ञता प्रकट गर्ने थिएन । त्यस्तै, एनओसीले अहिलेसम्म निर्वाचित भएका खेलकुदका सङ्घहरूलाई समावेश गर्न नसकेको र खाली आफ्नो मात्रै डम्फु बजाएर अन्तर्राष्ट्रियस्तरमा झ्याली पिटाइरहेको आरोप लगाएका छन् ।
पारदर्शिताका नाममा सिन्कोसमेत नभाँचेको र एनओसीलाई राजनीतिक पार्टीको मागिखाने भाँडोमा रूपमा प्रस्तुत गरेकै कारणले आफू हालै एनओसीका पदाधिकारीहरूसँग मलेसिया भ्रमणमा नगएको लामाले बताएका छन् । आफूले पहिले एनओसीका सबै कुरा पारदर्शी हुनुपर्छ अन्यथा एनओसीका कुनै पनि कार्यक्रममा भाग नलिने भनेर नगएको बताए । मैले जहिले पनि सहमति र सहकार्य गरेर अगाडि बढ्नुपर्छ, सबै कुरा पारदर्शी हुनुपर्छ भन्दाभन्दै पनि उनीहरूको परम्परागत शैलीमा हिँड्ने सोच मलाई मन परेन । अझ वर्तमान अवस्थामा उनीहरूले चालेको बाटो नै अवैधानिक र निरङ्कुशवादी भएकोले आफुले त्यसमा हिँड्न नमिल्ने बताए । कानुनतः अपनाउनुपर्ने बाटो र व्यक्तिगत बाटोमा आकाश पातालको फरक भएकोमा त्यसमा आफ्नो कुनै किसिमको संलग्नता नरहने प्रस्ट पारेका थिए ।

नेकोसको अध्यक्षमा पुरुषोत्तम
नेपाल खेलकुद महासङ्घ (नेकोस)को प्रथम राष्ट्रिय महासम्मेलन हालै सम्पन्न भएको छ । उक्त महासम्मेलनले पुरुषोत्तम पौडेलको अध्यक्षतामा ८५ सदस्यीय केन्द्रीय कमिटीको चयन गरेको छ । त्यस्तै प्रथम उपाध्यक्ष लक्ष्मणकुमार श्रेष्ठ, उपाध्यक्ष विजय राई, केशवकुमार विष्ट, एम. समिउल्लाह, खड्ग रानाभाट, विनोद मैनाली, हर्कसिंह धामी, कुमार ओझा रहेका छन् । यसैगरी महासचिवमा लामा टेण्डी शेर्पा, उपमहासचिवमा राजेन्द्र श्रेष्ठ, सचिवमा रेवती पन्त, उपेन्द्र पौडेल, बद्री अधिकारी, वीरेन्द्र श्रेष्ठ, धर्मकुमार श्रेष्ठ र रत्नलक्ष्मी श्रेष्ठ (महिला) सहित ८५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । महासम्मेलनले आगामी दिनमा नेकोसलाई अझ गतिशील र सशक्त बनाउने विश्वास गरिएको छ । सो अवसरमा नेकोस नेपाली खेलकुदमा अब नयाँ पहिचान र प्रवाहको रूपमा अघि बढेको कुरा नवनिर्वाचित अध्यक्ष पुरुषोत्तम पौडेलले बताएका थिए ।

अन्तर्राष्ट्रिय कराते जेठमा
नेपाल कराते महासङ्घ एवम् सितोरियो कराते डो, हाइस्कुल केन्द्रीय कमिटीको आयोजनामा जेठ १२ देखि अन्तर्राष्ट्रिय कराते तथा किकबक्सिङ प्रतियोेगिता हुने भएको छ । कराते महासङ्घको विशेष कार्यक्रमअन्तर्गत हुने उक्त प्रतियोगितामा नेपाललगायत भारत, बंगलादेश, भुटान, श्रीलंकाका साथै आमन्त्रित राष्ट्रको रूपमा एक युरोपियन टोलीको समेत सहभागिता रहने हाइस्कुल केन्द्रीय कमिटीका अध्यक्ष एवम् प्रतियोगिता संयोजक ईश्वर थापाले जानकारी गराएका छन् । करिब १४ सय खेलाडीको सहभागिता हुने अनुमान गरिएको प्रतियोगितामा ४० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । चार दिनसम्म चल्ने प्रतियोगिता लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्रमा सञ्चालन हुनेछ ।

खेल संसार डटकमको सुरुवात
नेपाली खेलकुदको सूचना तथा तथ्याङ्क प्राप्त गर्न कठिनाइलाई सहज पार्ने उद्देश्यका साथ खेलसंसार डटकमको हालै शुभारम्भ भएको छ । उक्त वेबसाइटको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाले उद्घाटन गरेका थिए । जुम विजिनेस प्रालिले निर्माण गरेको उक्त वेबसाइटले नेपाली खेलकुदका साथै खेलकुदप्रति ज्ञान हासिल गर्न इच्छुक खेलप्रेमी, खेलाडी तथा प्रशिक्षकलाई सहयोग पुग्ने विश्वास गरिएको छ । वेबसाइटको उद्घाटन गर्दै उपाध्यक्ष तिम्सिनाले जुम विजिनेस प्रालि राष्ट्रिय खेलकुद परिषद्को सहयात्रीको रूपमा लिएको भन्दै परिषद्मा दर्तागरी कुनै गतिविधि नगरी सुतेर बस्ने सङ्घहरूलाई ब्युँझाउने बताएका थिए । यसले खेल गतिविधिलाई क्रियाशील पार्नुका साथै परिषद्लाई समेत स्वच्छ रूपमा अगाडि बढ्न मद्दत पुग्ने बताएका थिए । राष्ट्रिय सङ्घलाई सही मार्गमा खेल गतिविधिलाई अगाडि बढाउन र सेलिब्रेटीको रूपमा रहेका खेलाडीलाई खेल कौशलतामा परिमार्जन गर्न र खेलप्रति एकाग्र हुन मद्दत पुग्नेमा विश्वास प्रकट गरेका थिए ।
राष्ट्रिय सङ्घको खेल गतिविधि आमजनसमुदायसम्म पहुँच नभएको अवस्थामा यस वेबसाइटले राष्ट्रिय खेलकुद परिषद्मा दर्ता रहेका राष्ट्रिय सङ्घको गतिविधि तथा तथ्याङ्कलाई जनमानसमा पु¥याउन सहज पार्ने, प्रत्येक दिन अपडेट हुने खेल गतिविधिले खेलसँग सम्बन्धित व्यक्तिहरूलाई छिटो सुचना प्रवाह गर्ने र लुकेको प्रतिभालाई राष्ट्रिय परिदृश्यमा ल्याउने उद्देश्य रहेको जुम विजिनेसका प्रबन्ध निर्देशक राजेन्द्र सुवेदीले बताएका छन । उनले यस परियोजनाको उद्देश्य नेपाली खेलकुदको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तथ्याङ्क र रेकर्ड बृहत् रूपमा राख्नु रहेको प्रस्ट पारेका थिए ।

सन्तोषलाई दोहारो उपाधि
बानेश्वर क्लबको आयोजनामा भएको खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि लक्ष्मीनारायण क्लबका सन्तोष मोक्तानले प्राप्त गरेका छन् । उनले उक्त प्रतियोगिताको एकल र जोडी दुवैतर्फको उपाधि प्राप्त गरेका थिए । एकलमा उनले बानेश्वरका रविन कन्दङवालाई र जोडीमा अनिल थाम्सुहाङसँग मिलेर हाँडीगाउँका राम प्रजापति र उमेश गुरुङको जोडीलाई पराजित गरेका थिए । बानेश्वरस्थित कम्प्लिट हेल्थ क्लबमा आयोजित प्रतियोगितामा भेट्रान डबल्सको खेलमा डल्फिन क्लबका लिलेन्दविक्रम शाह र गणेश सुब्बाको जोडीले नागबहालका वीरेन्द्रलाल श्रेष्ठ र रवीन्द्र शाक्यको जोडीलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेका थिए । विजेताहरूलाई नेपाली काङ्ग्रेसका महामन्त्री प्रकाशमान सिंह, नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रमेशकुमार श्रेष्ठ, एसियन ब्याडमिन्टन कन्फेरेडेसनका सदस्य एवम् रुल एन्ड रेगुलेसन कमिटीका अध्यक्ष प्रकाशबहादुर शाहीलगायतले पुरस्कार वितरण गरेका थिए ।