तीन प्रदेशमा वर्षाको सम्भावना

तीन प्रदेशमा वर्षाको सम्भावना


मनसुनी वायुका साथै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेकाले कोशी प्रदेशलगायत बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार आज (२६ असोज) तीन प्रदेशका पहाडी भू-भागका हल्का वर्षाको सम्भावना पूर्वानुमान गरिएको छ । वर्षा भएपनि खासै ठूलो भारी वर्षाको सम्भावना छैन ।

मौसमविद् झाले वर्षा भएपनि दशैँको टीका विथोल्ने किसिमको झरी पर्ने अवस्था नरहेको उल्लेख गर्दै भनेका छन्, ‘आज दिउँसो बदली र वर्षाको सम्भावना छ, तर, ठूलो भारी वर्षा भने हुनेछैन, त्यसैले आत्तिनुपर्ने अवस्था छैन, बदली रहेपनि झरी पर्नेछैन, क्षति पुऱ्याउने किसिमको पानी पर्दैन ।’

दिउँसो कोशी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र रातिको समयमा पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

कोशी प्रदेशलगायत मधेश प्रदेशको अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ । देशको बाँकी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले उल्लेख गरेको छ ।

न्यूनतम तापक्रम क्रमशः घट्दै गएकाले काठमाडौंमा सामान्य चिसो बढेको छ । अबको एकसाता न्यूनतम तापक्रम घट्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज काठमाडौंको अधिकतम तापक्र २७ देखि २९ सम्म र न्यूनतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियस रहनेछ ।