हात्तीको आक्रमणबाट बारामा एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट बारामा एक जनाको मृत्यु


बारामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । कोल्हवी नगरपालिका-२ बस्ने ६३ वर्षीय हस्तबहादुर ठोकरको आज (२८ असोज) हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

बिहान घाँस काट्न गएका ठोकरलाई हात्तीले आक्रमण गरेको थियो । अबेरसम्म घाँस लिएर घर नफर्केपछि परिवारका सदस्य र गाउँले मिलेर जङ्गलमा खोज्न गएका थिए । खोज्ने क्रममा ठोकर मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतक ठोकरको शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीले जनाएको छ । केही दिनअगाडि कोल्हवी नगरपालिका–२ मै एउटा हात्ती मृत फेला परेको थियो ।