लक्ष्मीको आराधना गरिने उत्सवको मुखैमा नयाँदिल्लीमा पटाका पड्काउन प्रतिबन्ध !

लक्ष्मीको आराधना गरिने उत्सवको मुखैमा नयाँदिल्लीमा पटाका पड्काउन प्रतिबन्ध !


भारतको सङ्घीय राजधानी नयाँदिल्लीमा आतिशबाजी (पटाका) मा पूर्ण प्रतिबन्ध लगाउने त्यहाँको प्रशासनले जानकारी गराएको छ । यो प्रतिबन्ध दीपावलीका समय भारतीयहरूका लागि अत्यधिक लोकप्रिय रहेको पटाकाको प्रयोगमा यसअघि लगाइएका प्रतिबन्धहरूको श्रृङ्खलामध्ये कडा आदेश हो ।

भारतीय प्रशासनले सुरक्षा र प्रदूषणलाई ध्यानमा राख्दै यसअघि पनि आतिशबाजीको प्रयोगमा रोक लगाउने प्रयास गरेको भएपनि व्यापक रूपमा उल्लङ्घन हुने गरेको छ।

दिल्ली प्रदूषण नियन्त्रण समितिले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सबै प्रकारका पटाका पड्काउन, उत्पादन, भण्डारण र बिक्री गर्न पूर्ण प्रतिबन्ध लगाइनेछ ।’

यो निर्देशन ‘उच्च वायु प्रदूषण नियन्त्रण गर्न सार्वजनिक हितलाई ध्यानमा राख्दै गरिएको’ समितिले जनाएको छ ।

झिलीमिली बत्ती बाल्दै पटाका पड्काएर भारतवर्षमा मनाउने हिन्दूहरूको अति लोकप्रिय चाडमध्ये एक दिपावलीको दुई हप्ताअघि यो निर्णय आएको हो ।

धेरैले आतिशबाजीलाई उत्सवको अभिन्न अङ्गको रूपमा लिन्छन् । यो पर्व अन्धकारमाथि प्रकाशको विजयको प्रतीक हो र हिन्दूदेवी लक्ष्मीको आराधना गरिने उत्सव हो।

करिब तीन करोड जनसङ्ख्या रहेको दिल्ली महानगरमा यसअघि लगाइएको प्रतिबन्धलाई नियमित रुपमा बेवास्ता गरिएको थियो ।

हिन्दू धर्मावलम्बीको पटाकासँग जोडिएको धार्मिक भावनालाई ध्यानमा राख्दै प्रहरीले नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्न आनाकानी गर्ने गरेको छ ।

नयाँदिल्लीमा हरेक शरद ऋतुमा धुवाँ र धुलोका कारण बढी प्रदूषित हुनेगरेको छ ।

नयाँदिल्लीले शहरमा प्रदूषण बढ्नुको कारण मुख्यतया छिमेकी क्षेत्रका किसानहरूले छापो पोल्नु (पराली जलाउनु) पनि भएको बताउने गरेको छ । दीपावली (दिवाली)को आसपास आतिशबाजीमा वृद्धिले प्रदूषणको समस्यालाई जटिल बनाउँछ।

फोक्सोको माध्यमबाट रक्तप्रवाहमा प्रवेश गर्ने पीएम २.५ प्रदूषकको रूपमा चिनिने क्यान्सर पैदा गर्ने सूक्ष्म कणहरूको स्तर नयाँदिल्लीमा विश्व स्वास्थ्य सङ्गठनको खतरा सीमाभन्दा ३० गुणा बढीसम्म हुने गर्छ । सन् २०२० मा ल्यान्सेटको एक रिपोर्टअनुसार वायु प्रदूषणका कारण सन् २०१९ मा दिल्लीमा करिब १७ हजार ५०० जनाको मृत्यु भएको थियो ।

विगतमा, आतिशबाजी राज्यको सीमा पार गरेर तस्करी गरिन्थ्यो वा लुकीछिपी उपलब्ध हुन्थे । शहरमा प्रशासनले पटाकाको प्रयोगमा कडाई गरेपछि मध्यरात वा बिहान सबेरै सुरक्षाकर्मीको आँखा छलेर पड्काइन्थ्यो । तर, यस वर्ष, दिल्लीका शहरका अधिकारीहरूले राज्य प्रहरीलाई प्रतिबन्ध लागू गर्न आग्रह गर्दै उनीहरूलाई ‘दैनिक कार्यप्रगति रिपोर्ट’ पेश गर्न निर्देशन दिएका छन् ।

यो प्रतिबन्ध सन् २०२४ को अन्त्यसम्म जारी रहने जनाइएको छ ।