अनमिन : शान्ति, भ्रान्ति या क्रान्तिका लागि ?

अनमिन : शान्ति, भ्रान्ति या क्रान्तिका लागि ?


-हरदम कोइराला
अत्यन्त सुन्दर उद्देश्यसहित स्थापित संयुक्त राष्ट्र सङ्घले आफ्नो पूर्वस्थापित मूल्य, मान्यता र गन्तव्यमा हेराफेरी गरेको छैन, यो संस्था विश्वमा शान्ति, स्थिरता र समृद्धि प्राप्तिका लागि निरन्तर क्रियाशील छ । तर, त्यस संस्थामा आबद्ध भई कार्यरत कर्मचारीहरूमध्ये धेरैको भूमिका, नियत र व्यवहार संयुक्त राष्ट्र सङ्घको मान्यताविपरीत कुरूप, भद्दा र संस्थाकै छविमा फोहोर धब्बा लगाउने प्रकारको भएको महसुस जनस्तरमा गर्न थालिएको छ । स्थापना भएयता शान्ति स्थापनार्थ राष्ट्र सङ्घले पाँच दर्जनभन्दा बढी मुलुकमा आफ्नो उपस्थिति जनाएको छ र तीमध्ये कतिपय मुलुकमा संयुक्त राष्ट्र सङ्घ असफल हुन पुग्यो भने केहीमा दशकौंदेखि निरन्तर उपस्थित भएर पनि सुखद्, सकारात्मक र स्थायी परिणाम हासिल गर्ने सफलता पाएको छैन । साना समस्याहरूमा पनि लामो समय र अधिक आर्थिक भार व्यहोर्नुपर्ने स्थिति बनाइएको पनि देखिएको छ । संयुक्त राष्ट्र सङ्घको स्थापना भएपछि पहिलोपटक सन् १९४८ मा एउटा मिसन मध्यपूर्वमा शान्ति स्थापनार्थ खटाइएको थियो । इजरायल र अरबबीच उत्पन्न तनाव शिथिल तुल्याउँदै त्यस क्षेत्रमा शान्ति स्थापनाका निम्ति संयुक्त राष्ट्र सङ्घले उपस्थिति जनाउँदा त्यसले भूमण्डलमा एउटा बेग्लै सकारात्मक तरङ्ग पनि पैदा गरेको थियो । त्यस क्षेत्रमा राष्ट्र सङ्घले उपस्थिति जनाएको बैसठ्ठी वर्ष पूरा हुँदा पनि शान्नि स्थापना नहुँदा मानिसहरूमा संयुक्त राष्ट्र सङ्घको भूमिकाप्रति सन्देह पैदा भइरहेको यथार्थ सम्बद्ध पक्षले बुझन आवश्यक छ । एल साल्भाडोर र मोजम्बिकमा राष्ट्र सङ्घले प्राप्त गरेको सफलताका पछाडि स्थानीय जनता तथा राजनीतिकर्मी र राष्ट्रसङ्घीय कर्मचारीहरूको भूमिका के-कति हो त्यसको सूक्ष्म विश्लेषण गर्न बाँकी राखेर भन्ने हो भने सम्बद्ध कर्मचारीकै भूमिका रहेको कुरामा चाहिँ सन्देह प्रकट गर्न सकिन्छ । संयुक्त राष्ट्र सङ्घबाट खटाइने मिसन सम्बद्ध व्यक्तिहरू साना या ठूला जुनसुकै स्तरका हुन् उनीहरू निर्धारित क्षेत्र या मुलुकमा शान्ति स्थापना होस् भन्ने अवश्य चाहन्छन्, तर त्यसको साथसाथै उनीहरू आफ्नो सान, मान र उच्च जीवनशैलीको विघटन होस् भन्ने पनि चाहँदैनन् । राष्ट्र सङ्घको ‘मिसन’ र कर्मचारीहरूको निजी भावना-चाहनाबीचको यही अन्तरविरोधका कारण शीघ्र सफलता हासिल गर्न राष्ट्र सङ्घलाई मुस्किल परिरहेको अनुमान गर्न सकिन्छ ।
संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापनार्थ खटिने मिसनका तीन शक्तिकेन्द्र हुन्छन्, पहिलो महासचिवको विशेष प्रतिनिधि हुन्, महासचिवले आधिकारिक रूपमा चयन गरेको प्रतिनिधिको नेतृत्वमा एउटा विशेष टोली सम्बन्धित क्षेत्रमा खट्छ र उक्त टोली शान्ति स्थापनाका निम्ति राजनीतिक तथा कूटनीतिक क्रियाकलापमा संलग्न रहन्छ । सम्बन्धित देशमा भएका शान्ति सम्झौताको कार्यान्वयन र अनुगमन गर्नु त्यस्तो मिसनको मुख्य कमा हुन्छ । यस्तै प्रकारको मिसन अहिले नेपालमा पनि उपस्थित छ, तर यो मिसन द्वन्द्व जीवित राख्न सक्रिय हुँदै छ या द्वन्द्वको अन्त्यका निम्ति भन्ने प्रश्न उठ्न थालेको छ । भूमिका जे-जस्तो भए पनि नेपालमा यतिबेला संयुक्त राष्ट्र सङ्घका महासचिवको आधिकारिक प्रतिनिधिको नेतृत्वमा एउटा मिसन क्रियाशील रहिरहेको छ । दोस्रो शक्तिकेन्द्र फोर्स कमाण्डर हुन्छन्, जसको काम सेना परिचालन गर्नु हो र तेस्रो केन्द्रचाहिँ प्रशासनिक अधिकारी हुन्छन्, जसले मिसनलाई आवश्यक पर्ने सबै प्रकारका सामग्रीहरू (लजिस्टिक सप्लाई) उपलब्ध गराउने काम गर्छन् । सन् १९४८ देखि सन् २००९ सम्ममा संयुक्त राष्ट्र सङ्घले त्रिसठ्ठी मुलुकमा शान्ति स्थापनाको निम्ति आफ्नो प्रत्यक्ष सहभागिता जनाएको छ । उपस्थित भएर पनि कतिपय मुलुकमा शान्ति स्थापना गराउन संयुक्त राष्ट्र सङ्घ पूर्ण असफल रहेको देखिन्छ भने जहाँ सफल भएको मानिन्छ त्यहाँ पनि अपेक्षा गरिएभन्दा धेरै लामो समय लगाएर । सन् १९९४ मा रुवाण्डामा उपस्थित भएर पनि खासै योगदान पुर्‍याउन नसकेको संयुक्त राष्ट्र सङ्घ सोमालिया र बोस्निया हर्जगोभिनामा पनि पूर्ण असफल भएको मानिन्छ । इथियोपिया, इरिटि्रया, बोलिभिया, ग्वाटेमाला, कम्बोडिया, पूर्वीटिमोर, ताजिकिस्तान, जर्जिया, बुरुण्डी, अङ्गोला, नाइजेरिया, ट्युनिसिया, पेरू, लेवनान, सियरालियोन, आइभरिकोष्ट, लाइबेरिया, सुडान, कङ्गो, साइप्रस, हाइटी, टोगो, नाइजर, जाम्बिया, अफगानिस्तान, नेपाल आदि मुलुकमा संयुक्त राष्ट्र सङ्घले शान्तिका निम्ति उपस्थिति जनाउँदा सुरुमा सम्बन्धित मुलुकका बासिन्दाले जुन उत्साहका साथ स्वागत-सत्कार गरेका थिए समयाक्रममा मिसनमा सम्बद्ध यूएन प्रतिनिधि तथा अन्य कर्मचारीहरूको व्यवहारले मानिसलाई निराश र क्रूद्ध तुल्याएको देखिन्छ । शान्ति स्थापनामा खटिएका कर्मचारी तथा सेनाका मानिसहरूबाट यौन दुर्व्यवहारका घटनाको फेहरिस्त पनि त्यत्तिकै कहालीलाग्दो छ । कङ्गोमा १५०, सुडानमा ४००, आइभरिकोष्टमा ५०० र कोसोभोमा मात्र यौन दुर्व्यवहारका ८०० घटना यूएन सम्बद्ध कर्मचारी तथा सेनाका मानिसहरूबाट भएका थिए । नेपालमा यौन दुर्व्यवहारका घटना सार्वजनिक भएका त छैनन्, तर यूएनका कर्मचारीहरू मसाज केन्द्र, डान्स, रेस्टुरेन्ट तथा त्यस्तै अन्य मनोरञ्जनात्मक केन्द्रहरूमा भेटिने गरेका घटनाले उनीहरू शान्ति स्थापनाका नाममा मस्ती लिन पनि सक्रिय रहेको प्रस्ट्याउँछ ।
नेपालमा संयुक्त राष्ट्रसङ्घीय मिसन अनमिनको भूमिका अत्यन्त विवादास्पद, नकारात्मक र शान्ति स्थापनाको प्रतिकूल देखिएको छ । शान्ति स्थापनामा बाधक पक्षको पहिचान गर्न र त्यस्तो पक्षमाथि कुनै न कुनै प्रकारले दबाब सिर्जना गर्न अनमिन पूर्णत: अक्षम र असफल भएको छ । बृहत् शान्तिसम्झौताको कार्यान्वयन गराउने दिशामा अनमिनको भूमिका निराशाजनक एवम् उदासपूर्ण छ । लडाकु र हतियार माओवादीसँग छ, सम्झौता कार्यान्वयन गर्न आनाकानी गर्ने पनि माओवादी नै हो भन्ने संसारलाई थाहा छ, तर अनमिन दबाबचाहिँ अर्को पक्षमाथि सिर्जना गर्ने कोसिस गर्छ । अनमिनका हरेक क्रियाकलाप र अभिव्यक्तिले माओवादीलाई उत्साहित र प्रोत्साहित गर्ने काम गरेको छ । अनमिनले माओवादी लडाकुहरूको अनुगमन गर्ने कार्य प्रभावकारी रूपमा गर्न सकेको छैन । क्यान्टोनमेन्टमा रहेका लडाकुहरूको ठूलो सङ्ख्या -कम्तीमा सात-आठ हजार) त्यहाँबाट बाहिरिएका छन्, केही वैदेशिक रोजगारमा गएका छन् भने कोही आफ्नै घरमा र कतिपयचाहिँ खुलेआम अवाञ्छित काममा हिँडिरहेका तथ्यहरू पनि सार्वजनिक भइरहेका छन् । हातहतियारसहित क्यान्टोमेन्टका लडाकुहरू बाहिर पक्राउ पर्ने गरेका घटनाहरूले अनमिनको अनुगमन कति फितलो छ या छँदै छैन भन्ने प्रमाणित गरेको छ । क्यान्टोनमेन्टमा रहेका लडाकुहरूमध्ये कति बाहिर आएर अपराधकर्ममा सामेल भइरहेका तथ्यहरू भेटिएका छन् । क्यान्टोनमेन्टमा पुर्‍याएर त्यहीँभित्रै नागरिकको हत्या भएका घटना पनि छन् । हतियारसहित लडाकुहरू घुमफिर गरिरहेका हुन्छन् । शान्ति स्थापना निम्ति प्रतिकूल यसप्रकारका घटना बारम्बार भइरहँदा पनि एक हजारभन्दा बढी जनशक्ति भएको र वर्षमा करोडौं डलर खर्च गर्ने अनमिन चुपचाप तिनैलाई सघाउँदै छ । बृहत् शान्तिसम्झौता कार्यान्वयनमा माओवादीका कारण उत्पन्न अवरोध हटाउनेतर्फ पनि अनमिन उदासीन देखिएको छ । नेपालमा संयुक्त राष्ट्रसङ्घीय विशेष प्रतिनिधि (अनमिन) को भूमिकाको सूक्ष्म अध्ययन गरेपछि विश्वका अन्य मुलुकहरू जहाँ संयुक्त राष्ट्र सङ्घको उपस्थिति रह्यो त्यहाँ शान्ति स्थापना हुन नसक्नु या विलम्ब हुनुको रहस्य खुल्दछ । संयुक्त राष्ट्र सङ्घको उद्देश्य जतिसुकै महान् भए पनि सम्बद्ध प्रतिनिधि तथा कर्मचारीहरू विभिन्न स्वार्थहरूबाट प्रेरित रहन्छन् र तिनको मुख्य नियत आफ्नो सान, मान, सम्मान र सुविधापूर्ण जागिरलाई निरन्तरता दिनु नै हुँदोरहेछ । तिनको जागिरले निरन्तरता पाउन अशान्ति यथावत् रहनुपर्‍यो, अशान्तिलाई निरन्तरता दिन व्रि्रोही पक्षलाई आफ्नो कर्ममा प्रोत्साहित गरिरहनुपर्‍यो, जुन काम नेपालमा अनमिनले गरिरहेको छ । अनमिनको चारवर्षो क्रियाकलापलाई हेर्दा ‘यो निकाय’ नेपालमा शान्ति स्थापनाका निम्ति होइन भ्रान्ति या क्रान्तिका निमित्त क्रियाशील छ भन्ने निष्कर्ष सजिलै निकाल्न सकिन्छ । त्यसैले पछिल्लोपटक थप गरिएको चार महिनाको अवधि समाप्त भएपछि अनमिनलाई देशबाट बिदाइ गरेर मुलुकमा शीघ्रातिशीघ्र शान्ति स्थापना गर्न क्रियाशील रहनु नै नेपाल सरकार र सबै साधारण नागरिकको निम्ति उपयुक्त हुने देखिएको छ ।