रोइरहेको करुणा

रोइरहेको करुणा


साँहिलीको पसिनाको मूल निधारबाट झऱ्यो
नाकको फुली छोएर ओठमा एकछिन अडियो
केहीबेर अल्मलियो र भारीले थिचेको ओठसँगै काँप्यो
स्तनको कापमा पुगेर देहमा छिरलियो
अनि ‘सुइय’ गर्दै उनको सुस्केरासँगै हरायो !

साँहिलीको नित्य दैहिक गति त्यहि हो
साँहिलीको श्रमको अर्थ त्यहि हो
जन्मनुको अर्थभित्र बगेको
साँहिलीको देहमा फैलिएको पसिनाको सुगन्ध
कविका शब्दहरुले पोखेको करुणा चिराग ।

उति धेरै बोल्दिनन् उनी
बडेमाको इटाको भारीले थिचेको देह
नुहेको छ चरणतिर
त्यसैले बोलेको पनि हत्तपत्त सुनिँदैन
सुने पनि बुझिँदैन
उनले पसिना पोख्नुलाई भाग्य भन्दछिन्
त्यहि भाग्यलाई सराप्दै
भारी उठाएर गृह कंकालतिर लाग्छिन् !

उनी जब बोल्छिन्
घर जाने बाटोभरी एक्लै
भोलि र पर्सिको लागि बोल्छिन्
आफ्नो लागि बोल्दिनन्
सन्तानको भविष्यको लागि
उनीहरुको उज्यालोको लागि गुन्गुनाइरहन्छिन् !

अचेल कुरा बुझ्न थालेकी छन् साँहिलीले
उज्यालोको लागि झ्याल खोल्नुपर्छ भन्ने
नयाँ युगको लागि आवाज बोल्नुपर्छ भन्ने
त्यसैले पोखिएका पसिनाभन्दा महँगो
उनलाई युगको आवाज बोलुँ बोलुँ लाग्छ
चेतनाको प्रकाश देखुँ देखुँ लाग्छ
ज्ञानको क्षितिज चढुँ चढुँ लाग्छ
तर किन किन बोल्नै सक्दिनन् !

आवाज सुत्नको लागि हैन
उनी गम्दैछिन् आवाज उठ्नको लागि हो भन्ने कुरा
आवाज ब्युझनको लागि हो
बुझ्दैछिन् पसिना भन्दा ब्युँझाउने आवाज महँगो छ भन्ने कुरा !

निष्पट अँध्यारो रात
तर्साउने महाकाल झरी
आज निसास्सिने झरीको हैन अर्कै आवाजसंगै !
असौजे बाढीको घनघोर सप्को आयो
अन्धकार रातमा सपनाको उज्यालोले
बर्बराइरहेका साँहिलीका सन्तान
ब्युँझन नपाइ आमासंगै सबै बगायो
अर्को बिहान खोलाको झुपडी छेउ एकोहोरो शंख बज्यो।

विरक्त शंखध्वनिले चिहान जस्तै बन्यो घरको भग्नावशेष
घरै तलको बगर कैयौँ देहले छोप्यो
शंख फुकेको आवाज आइरह्यो
त्यो एकोहोरो आवाज
जीवनको अन्त्यपछि
प्रकृतिबाट उठ्नको लागि शंख फुकिन्छ !

स्वरभित्र दबिएको साहिलीको सुस्केरा
भारिभित्र अँठ्ठिएको उनको चेतन झिल्को
अँध्यारो रातभित्र फैलिएका सुकिला सपनाको उज्यालो
सब भष्म बन्यो
र हिलोमा लत्पतिएको साँहिलीको मुर्छित देह
अनि उनका तीन मृत सन्तानहरुको लस्कर
आकाशतर्फ चियाइरहेका उनीहरुका आँखाहरु !

मुर्छित शहरमा करुणा एक्कासी हाँस्यो
खै के भएर हो कविको आँशु
साँहिलीको पसिना झैँ गालामा झऱ्यो
ओठ पिट्यो र छातीमा टाँसियो
त्यतै कतै हरायो !!