डा. ‘स्वेच्छा’ इन्टरनेशनल एशोसियशन फर आर्टस् एण्ड कल्चर फर पिस की अध्यक्ष नियुक्त

डा. ‘स्वेच्छा’ इन्टरनेशनल एशोसियशन फर आर्टस् एण्ड कल्चर फर पिस की अध्यक्ष नियुक्त


साहित्यकार एवं सञ्चारकर्मी डा. सङ्गीता श्रेष्ठ ‘स्वेच्छा’ इन्टरनेशनल एशोसियशन फर आर्टस् एण्ड कल्चर फर पिस (IAACP) की अध्यक्ष नियुक्त भएकी छन् । युनिभर्सल पिस फेडरेशन (UPF) अन्तर्गत सञ्चालित IAACP एउटा विश्वव्यापी संजाल हो जो संगीत, नृत्य, चित्रकला, फिल्म र साहित्यजस्ता विभिन्न कलात्मक अभिव्यक्तिहरू मार्फत शान्ति र एकता प्रवर्द्धन गर्न प्रतिबद्धता रहँदै आएको छ ।

आफ्नो नयाँ जिम्मेवारी निर्वाह गर्दैगर्दा डा. श्रेष्ठले IAACP को मिशनलाई अघि बढाउनका लागि कलाकारहरू, सांस्कृतिक नेताहरू र दूरदर्शी व्यक्तित्वहरूको अन्तर्राष्ट्रिय समुदायको नेतृत्व गर्नेछिन् । साथै, सहकार्य र सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्दै विश्वव्यापी शान्ति प्रवर्द्धन गर्ने लक्ष्य उनले लिएकी छन् ।

नियुक्तिको बारेमा प्रतिक्रिया दिँदै युनिभर्सल पिस फेडरेशन – बेलायतका महासचिव रोबिन मार्शले भने, ‘डा. श्रेष्ठ जस्तो व्यक्तित्वको नेतृत्वमा यो महत्वपूर्ण पहललाई अघि बढाउन पाउँदा हामीलाई अत्यन्तै खुशी लागेको छ, र उहाँको नेतृत्वले आउने वर्षमा पुर्‍याउने सकारात्मक प्रभावलाई हामी उत्सुकताका साथ पर्खिरहेका छौँ।’

डा. श्रेष्ठलाई युनिभर्सल पिस फेडरेशनद्वारा सन् २०२३ डिसेम्बरमा ‘एम्बेसडर फर पिस’ अवार्डबाट लण्डनमा सम्मानित गरिएको थियो । यो पुरस्कारले शान्तिपूर्ण र दिगो विश्व निर्माणमा उनको समर्पणलाई प्रतिबिम्बित गर्दछ ।

‘यो भूमिका ग्रहण गर्न पाउँदा म अत्यन्त सम्मानित महसुस गर्दैछु र कला, साहित्य तथा संस्कृतिलाई शान्ति निर्माण र आपसी समझदारीको महत्त्व संगै अगाडि बढाउन निरन्तर प्रयासरत र प्रतिबद्ध छु’, डा. श्रेष्ठले भनिन्- ‘म युनिभर्सल पिस फेडरेशन – बेलायतप्रति यो अवसरका लागि आभारी छु । IAACP र UPF का प्रतिभाशाली सदस्यहरूसँग सहकार्य गर्दै हाम्रा साझा उद्देश्यहरू प्राप्त गर्न प्रतिक्षारत छु ।’