गुठी सुर्यपुरामा चौथो वडाध्यक्ष कप भलिबल प्रतियोगिता

गुठी सुर्यपुरामा चौथो वडाध्यक्ष कप भलिबल प्रतियोगिता


  • संजय कुशवाहा / नवलपरासी

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ७ गुठी सुर्यपुरामा चौथो वडाध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ । गुठी सुर्यपुरा युवा परिवारको आयोजना तथा वडा नं. ७ को संयोजनमा प्रतियोगिता गत असोज २७ गते देखि सञ्चालन भएको तेस्रो वडाध्यक्ष कप भलिबल प्रतियोगितासंगै क्रिकेट र कपर्दी खेल प्रतियोगिता टिमहरुको सहभागिता रहेको थियो ।

आयोजना गरिएको तीन खेलमध्ये क्रिकेट प्रतियोगिताको फाइनल प्रतिस्पर्धा सुस्ता वड नं. ५ पक्लिहवा र जगन्नाथपुर क्रीकेट टिमबीच भएकोमा पक्लिहवा क्रिकेट टिम ८ विकेटले विजयी भएको थियो । त्यसैगरी कपर्दी खेल सुस्ता वडा नं. ३ सखुवाना र प्रतापपुर ७ को गोबरहिया टिमबीच भएको फाइनल प्रतिस्पर्धामा सखुवाना टिमले पहिलो स्थान हासिल गरेको थियो भने गोबरहिया टिम दोस्रो र पिपरपाती टिम तेस्रो भएको आयोजकले बताएको छ।

खेलकुद प्रतियोगिताअन्तर्गत भलिबल प्रतियोगितामा बन्जरिया टिमले माकर टिमलाई २ को विरुद्ध ३ सेटले पराजित गरि ३० हजार नगद कप मेडल प्राप्त गरेको थियो भने उपविजेता माकर टिमले २० हजार नगद सहित कप मेडल प्राप्त गरेको छ । सोही वडाका वडाध्यक्ष हरेन्द्र यादवको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य देवकरण कलवारको प्रमुख आतिथ्यतामा तीन खेल प्रतियोगिताको समापन कार्यक्रम सम्पन्न भएको थियो ।

सो अवसरमा लुम्बिनी प्रदेशसभा सदस्य कलवारले खेल नियमको परिधिभित्र रहेर खेल्ने खेलाडीले नै उत्कृष्ट नतिजा प्राप्त गर्न सकिने बताउँदै विजेता र उपविजेतालाई सिल्ड कप र मेडल प्रदान गर्दै ग्रामीण भेगमा खेलाइने खेलहरुबाट पनि उत्कृष्ट खेलाडी उत्पादन गर्न सकिने धारणा राख्दै युवा जनशक्तिलाई खेलकुदको माध्यमबाट बहुआयामिक व्यक्तित्वको विकास गर्न सकिने र न्यायको नै जित हुने विचार व्यक्त गरे ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ आयोजना भएको भलिबल प्रतियोगिताको समापन समारोहमा प्रतापपुर गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष महेन्द्र चौधरी, वडा २ का वडाध्यक्ष रामनरेश यादव , वडा नं. ४ का वडाध्यक्ष जयन्त्री बरई ,वडा नं. ९ का पुर्व वडाध्यक्ष हेमेन्द्र पंजियार लगायत जनप्रतिनिधि ,खेलप्रेमी र ठूलो सङ्ख्यामा सर्वसाधारणको पनि उपस्थिति रहेको थियो ।

खेलकुद प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुलाई पनि सम्मान सहित मेडल प्रदान गरिएको छ भने कार्यक्रम सञ्चालन ब्यास मुनि कुशवाहाले गर्नुभएको थियो ।