हेटौँडा सिमेन्ट उद्योगले तिहारपछि सिमेन्ट उत्पादन गर्ने

हेटौँडा सिमेन्ट उद्योगले तिहारपछि सिमेन्ट उत्पादन गर्ने


हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापन पक्षले आगामी तिहारपछि सिमेन्ट उत्पादन सुरु गर्ने भएको छ । उद्योगका विभिन्न उपकरण मर्मत गर्नुपर्ने भन्दै व्यवस्थापनल पक्षले गत असोज १५ गतेदेखि उत्पादन बन्द गरेको अवस्था छ ।

उद्योगको क्लिन्कर मेसिन लगायतका उपकरणहरुको मर्मत कार्य भइरहेको र तिहारसम्ममा मर्मत सकिएपछि पुनः सिमेन्ट उत्पादको कार्य सुरु गरिने उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिए । उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मतसम्भारमा समय लागेको उनको भनाइ थियो । अध्यक्ष भण्डारीले मर्मतसम्भारको काम तीव्र रुपमा भइरहेकाले छिट्टै सकिने र त्यस लगत्तैबाट उत्पादन सुरु गर्ने तयारी भएको बताए ।

‘हामीसँग कच्चापदार्थको अभाव छैन, उद्योगलाई चाहिने करिब चार सय मेट्रिक टन कोइला मौज्दात छ’, अध्यक्ष भण्डारीले भनेका छन् । थप कोइला खरिदको प्रक्रिया अघि बढिसकेकाले कोइलाको समस्या नहुने उनको भनाइ थियो । आर्थिक अभावका कारण यसअघि दुई महिना सो उद्योग बन्द भएको थियो ।

विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो ।