वित्तीय अपराध नियन्त्रण ब्यूरो स्थापनाको प्रक्रिया सुरु

वित्तीय अपराध नियन्त्रण ब्यूरो स्थापनाको प्रक्रिया सुरु


नेपालमा आर्थिक अपराधका घटना वृद्धि भएसँगै सरकारले वित्तीय अपराध नियन्त्रण ब्यूरो स्थापनाको प्रक्रिया अघि बढाएको छ । त्यसका लागि अवधारणापत्रसमेत तयार पारिएको छ ।

गृह मन्त्रालयले जनाएअनुसार हाल नेपाल प्रहरीबाट तयार पारिएको वित्तीय अपराध नियन्त्रण ब्यूरोसम्बन्धी अवधारणापत्रमा छलफल भइरहेको छ ।

केही चरणमा छलफलसमेत भइसकेको र केन्द्रीय अनुसन्धान ब्यूरोको नियमावली परिवर्तन गरी वित्तीय अपराध नियन्त्रण ब्यूरोलाई अघि बढाउने प्रक्रिया थालिएको गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले जानकारी दिएका छन् ।

प्रविधिको विकाससँगै नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक अपराध बढिरहेको छ । यस्ता अपराधमा अन्तर्राष्ट्रिय सञ्जालकै सहभागिता देखिने गरेकाले चुनौती बढ्दो छ । त्यसैले आर्थिक अपराधलाई केन्द्रित गरी ब्यूरो गठन गर्न सकेमा त्यस्ता अपराध नियन्त्रण र दोषीलाई कारबाही गर्न सहज हुने भएकाले अवधारणापत्र तयार पारेर गृह मन्त्रालयमा पठाइएको प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिएका छन् ।

हाल साइबर ब्यूरो, लागुऔषध नियन्त्रण ब्यूरोले काम गरिरहेको जसरी नै निश्चित ब्यूरो स्थापना हुँदा त्यसले सोही प्रकृतिका अपराधमा अनुसन्धान गर्ने भएकोले थप प्रभावकारी हुने विश्वास नेपाल प्रहरीको छ ।

प्रहरी महानिरीक्षक कुँवरले अवधारणापत्र गृह मन्त्रालयबाट स्वीकृत भएमा थप काम अघि बढ्ने बताए । प्रहरीमा परेका उजुरीमा सबैभन्दा बढी ठगी र बैंकिङ कसुरका छन् । ‘चेक बाउन्स’का मुद्दा अत्यधिक छ, जसले प्रहरी कार्यालयका अन्य कामकाजमा असर गरिरहेको छ ।