लुम्बिनी प्रदेश सरकारमा थपिए तीन मन्त्री

लुम्बिनी प्रदेश सरकारमा थपिए तीन मन्त्री


लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त मन्त्रीको प्रदेश प्रमुखसमक्ष आज (८ कात्तिक) शपथ गराइएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गरेका तीन मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ लिएका हुन् । नवनियुक्त मन्त्रीहरु बर्दियाका जन्मजय तिमिल्सीना सामाजिक विकासमन्त्री, पश्चिम नवलपरासीका देवकरण कलवार वन तथा वातावरणमन्त्री र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुनमन्त्रीको शपथ लिएका छन् ।

नवनियुक्त मन्त्री तिमिल्सीना र कलवार नेपाली कांग्रेस तथा अग्रवाल जनता समाजवादी पार्टीबाट प्रदेशसभा सदस्य हुन् । लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री सहित नेकपा (एमाले)का पाँच, कांग्रेसका पाँच र जसपाका एक गरी मन्त्रीको सङ्ख्या ११ पुगेको छ ।

मुख्यमन्त्री आचार्यले बुधबार प्रदेश मन्त्रिपरिषद् पुनर्गठनका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए । सोही आधारमा नवनियुक्त मन्त्रीहरुको शपथ गरिएको हो । कांग्रेस र एमालेका ५६ प्रदेशसभा सदस्यको समर्थनमा लुम्बिनीमा सरकार बनेको थियो ।