नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले कुम्भेश्वरमा स्थापना गरिएको कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको शालिकमा माल्यार्पण गरेर उहाँको जन्मशताब्दीका कार्यक्रमको शुभारम्भ गर्नुभएको छ ।
अध्यक्ष प्रचण्डले स्वर्गीय नेता कर्मचार्यको शालिकमा गरेसँगै जन्मशताब्दीका कार्यक्रम आरम्भ भएका नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका कार्यवाहक अध्यक्ष गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो ।
‘कर्माचार्यको जन्म भएको एक सय वर्ष भयो, यो वर्षभरि नै कार्यक्रम गरिँदैछ, आज (१४ कात्तिक) दिउँसो प्रज्ञा प्रतिष्ठानमा जन्मशताब्दी आरम्भका अवसरमा ‘नेपाली कम्युनिष्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार’ शीर्षकमा विचारगोष्ठी हुँदैछ, देशैभरि कार्यक्रम गर्न पार्टीपङ्क्तिलाई निर्देशन दिइएको छ’, कार्यवाहक अध्यक्ष पोखरेलले भन्नुभयो ।
गोष्ठीलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, कम्युनिष्ट नेता मोहन वैद्य, मोहनविक्रम सिंह, युवराज ज्ञवाली, अनिल शर्मालगायत नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
विसं १९८१ कात्तिक १४ गते भाइटीकाका दिन ललितपुरको झपाटोलमा बुबा चन्द्रबहादुर र आमा श्रीकुमारीको कोखबाट जन्मनुभएका कर्माचार्यको २०७० साल साउन ९ गते काठमाडौँमा निधन भएको थियो । विसं २००६ मा भारतको कोलकातास्थित वडाबजारमा पुष्पलालको संयोजकत्वमा स्थापना भएको नेकपाको कर्माचार्य, निरन्जन गोविन्द वैद्य र नारायणविलास जोशी सदस्य हुनुहुन्थ्यो । उहाँ २००५ सालदेखि प्रजातन्त्र सङ्घमा संलग्न भएर राणाविरोधी र मजदुर आन्दोलनमा सक्रिय सहभागी हुनुभएको थियो ।
पार्टी स्थापनापश्चात् कर्माचार्य मजदुर सङ्गठनको संस्थापक अध्यक्ष बन्नुभएको थियो भने २०१६ सालको निर्वाचनमा तत्कालीन ललितपुर नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुका साथै २०१९ सालमा सम्पन्न तेस्रो महाधिवेशनबाट नेकपाको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो ।
त्यस अवसरमा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, महासचिव देवबहादुर गुरुङ, नेता रामनारायण बिडारीलगायत नेताहरूको उपस्थिति थियो ।
- photo: rss
प्रतिक्रिया