रास्वपाका कार्यकर्ताको पोखरामा प्रदर्शन जारी, निषेधित क्षेत्र तोड्न खोज्दा अश्रुग्यास प्रहार

रास्वपाका कार्यकर्ताको पोखरामा प्रदर्शन जारी, निषेधित क्षेत्र तोड्न खोज्दा अश्रुग्यास प्रहार


सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई अनुसन्धान नगरी रिहाइ गर्नुपर्ने माग राखी सडक प्रदर्शनमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । पोखराको रत्न चोकमा प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि उनीहरुमाथि अश्रुग्यास प्रहार गर्न प्रहरी बाध्य भएको हो । सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी भएको थियो ।

लामिछानेलाई अनुसन्धानका लागि मंगलबार (२० कात्तिक) कास्की जिल्ला अदालतमा पेस गरिएको छ । यसअघि पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण उनी प्रहरी हिरासतमै छन् । उनलाई आज अदालतमा उपस्थित गराउन लागिएको छ ।

ज्ञातव्य छ, लामिछानेमाथि सहकारीको रकम अपचलनसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान भैरहेको छ । सम्पत्ति शुद्धीकरणमा प्रहरीले आवश्यकताअनुसार ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने प्रावधान छ । यसक्रममा लामिछानेलाई बयानका लागि रुपन्देही प्रहरीले पनि पत्राचार गरेको छ ।

file photo