लेबनानमा मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसङ्घको चेतावनी

लेबनानमा मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसङ्घको चेतावनी


मानवीय मामिला समन्वयका लागि राष्ट्र सङ्घीय कार्यालय (ओसिएचए) ले लेबनानको मनविय अवस्था बढ्दो वैमनस्यताको बीचमा बिग्रँदै गएको जनाएको छ ।

यस क्षेत्रको स्वास्थ्यसेवाले निरन्तर आक्रमणको सामना गरिरहेको र कर्मचारी तथा स्रोत अभावले लेबनानको नाजुक स्वास्थ्य पूर्वाधारमा थप तनाव आइरहेको संयुक्त राष्ट्रका प्रवक्ता स्टेफन डुजारिकले बताएका छन् ।

दक्षिणी लेबनानको बिन्ट जेबिल जिल्लाको टेबिन सरकारी अस्पतालनजिकै इजरायली हवाई आक्रमणले अस्पतालमा क्षति पुऱ्याउँदा, दर्जनौँ मानिस घाइते हुनुका साथै अस्पतालमा क्षति पुगेको उनले जनाएका छन् ।

सन् २०२३ अक्टोबरदेखि लेबनानमा भएका स्वास्थ्य केन्द्र लक्षित ६० वटा आक्रमणमा ११० जना स्वास्थ्य सेवाकर्मीको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

लेबनानमा संयुक्त राष्ट्रसङ्घका सैन्यलगायतका सुविधाहरू अझै पनि आक्रमणबाट प्रभावित रहेको पुष्टि गर्दै प्रवक्ता डुजारिकले राष्ट्रसङ्घको शान्ति सेनाहरूको रक्षा गर्न सबै पक्षहरूलाई आह्वान गरेका छन् ।

सन् २०२३ अक्टोबरदेखि लेबनान इजरायली आक्रमणको सिकार भएको छ, तर सेप्टेम्बर २०२४ को अन्त्य देखि, इजरायलले आक्रमणको गति बढाउँदा हजारौं लेबनानीहरूले मृत्युवरण गरेको स्रोत उद्धृत गर्दै एएफपीले जनाएको छ ।