‘गालीमा बज्छ ताली ! खोइ गालीको गन्तब्य ?’

‘गालीमा बज्छ ताली ! खोइ गालीको गन्तब्य ?’


कुनै योगी महाराजका यो बचन-
‘शब्द सम्हाले बोलिये शब्द खिँचते ध्यान,
शब्द मन घायल करे, शब्द बढाते मान’ !

नेपाली समाजमा शब्दको पालना गर्नु र गराउनुपर्ने समय आएको छ । नेतादेखि नागरिकसम्म कसैले पनि बोल्नको लागि शब्द चयन राम्रो गरेको देखिएको छैन भने अर्कातिर सामाजिक संजालहरूमा जताततै अशीष्ट, असभ्य र अश्लील गालीका वर्षात यथेष्ट भेटिन्छन् । यतिबेला देशमा गालीका वर्षातहरू धेरै नै भइरहेका छन् गन्तब्यको अवसान बनेर ।

एकातिर बौद्धिक जमातहरू निःशुल्क विचार बाँड्दै हिँडिरहेका छन् विभिन्न फोरम, सभा र सम्मेलनहरूमा । त्यहाँ सुन्नेहरू पनि छन् कान थुन्नेहरू पनि छन् । राज्य, राजनेता र राजनीति त्रिवेणी संयोग हुनुपर्नेमा त्रिकोणात्मक बेमेल भइरहेको छ । प्रधानमन्त्रीलाई भब्य गाली गर्नेहरू पनि छन् जुन कुरा प्रधानमन्त्री स्वयम्कै फेसबुक स्टाटसहरूमा देखिएका असरल्ल तथानाम कमेन्टहरूबाट देखिन्छन् ।

देशलाई गाली गर्नेहरू छन्, सरकारी संयन्त्रको भद्रगोल सिस्टमबाट बाक्क भएर गाली गर्नेहरू, मन्त्रीहरू, कार्यालयप्रमुखहरूको कार्यशैलीप्रति कटाक्ष गर्नेहरू पनि धेरै देखिन्छन् । नागरिकहरूको राज्यप्रतिको तिक्तता, वितृष्णा, बेथितिको विरुद्ध शब्दद्वारा आगो वमन गरिरहेका देखिन्छन् । कसरी सुधार गर्ने, के गर्ने, कसो गर्ने स्थिति भद्रगोल छ तर यो भद्रगोल समस्या समाधान गर्नै नसकिने निर्जिव वस्तु पनि त होइन !

विद्वानहरू विकृति मात्रै देखाउँछन्, वकीलहरू कमजोरीमा टेकेर रिट हालिरहन्छन्, ब्यापारीहरू कमिसनको खेल चलाइरहन्छन्, कर्मचारीहरू नागरिकहरूलाई दुःख मात्रै दिइरहन्छन् (सबै होइनन्) मन्त्री, नेताहरू उद्घाटनमा रिवन काट्न जान्छन्, सभा-सम्मेलनमा भाषण गर्छन्, देश-विदेश भ्रमणमा जान्छन् आउँछन्, नागरिकहरू भने सधैं रोइकराई गर्छन्, अभावमा बाँच्छन् । यहाँ नेताहरू नागरिकहरूलाई समस्या मात्रै बनाउँछन् विद्वान् र सचेतकहरू समस्याहरू मात्रै देखाउँछन् टेलिभिजनमा बोल्छन्, पत्रपत्रिकामा लेख्छन्, समाधानको बाटो दिँदैनन् ।

गालीको गन्तब्य हुँदैन, अराजकताले सही बाटो पुगिंदैन । गालीले छिट्टै भिडहरू जम्मा गरिदिन्छ, गालीले गड्गडाहट् ताली पाउँछ, तर गालीले विचार जन्माउँदैन, गालीले समाधान दिँदैन तर पनि गाली कहिल्यै रोकिँदैन । गाली विकल्पसहित जन्मनुपर्छ गाली सत्मार्गमा दौडिनुपर्छ, गालीमा भिडहरूको जलप मात्रै होइन विचार र समाधान पनि कुँदिनुपर्छ, गाली यूग सुहाउने नौलो आयाम बन्नुपर्छ । गाली समाधान लिएर आउनुपर्छ ।

सामाजिक सन्जालमा जसलाई पनि भद्रगोल तथानाम छाडा गाली दिनु, मनपरी लेख्नु लज्जित विषय हो तर नागरिकहरूले आफ्नो वितृष्णा, देश र त्यहाँको नेतृत्वप्रतिको असन्तुष्टिका आवाजहरू मनपरी संजालहरू छरिरहेको देख्दा हामी कहाँ छौँ एकपटक खोज्नुपर्ने स्थिति देखिन्छ, यो मानेमा नेतृत्वहरू चैँ नागरिकहरूप्रति सत् प्रतिशत इमान्दार छन् – यो पनि भन्न खोजिएको भने होइन । गालीमा धेरै तालीहरू बज्छन्, गालीको गन्तब्य खोइ ?

नेतृत्वहरूले सुधार्नुपर्ने कुराहरू पनि थुप्रै छन्, नेतृत्वको बोल्ने कलामा पनि धेरै नागरिकहरूको असन्तुष्टि छ, पदको घमण्डमा गरिने उदण्डताहरू नभएका पनि होईनन् । नागरिकको मत निर्णायक भइ चूनाव हारेका नेताहरू पनि पद र प्रतिष्ठाको खिल्ली उडाउँदै पद बहालि हुन्छन् खोई त तिनिहरूमा नैतिकता रु नागरिक मतपत्रको सम्मान खोइ त ? चूनावको के अर्थ रह्यो र त्यसबेला ? यस्ता अनगिन्ती असहमतिहरू नभएका भने होइनन् ।

यहाँका ठूलाहरूले पनि भाषणमा विपक्षीहरूलाई तथानाम गालीगलौज गर्छन् । बैठकहरूमा जथाभावी बोलिरहेका हुन्छन् । आखिर नागरिकहरूले सिक्ने भनेकै नेताहरूबाट त हो, नेताहरू देशका अभिभावक हुन्, नागरिकहरूले अभिभावकबाट सबै कुराहरू सिक्छन् । गालीमा धेरै तालीहरू बज्छन्, गालीको गन्तब्य खोइ ?

(हाल : टोकियो, जापान)